मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ६ सोमबार १७:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको दाबी– केही गलत प्रवृत्ति र पात्रका कारण एमाले–माओवादी एकता असफल (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ६ सोमबार १७:३४:००

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले केही गलत प्रवृत्ति र पात्रका कारण एमाले–माओवादी केन्द्रको एकता असफल भएको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बसेको एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा सही मनासायले एकता गरे पनि केही गलत प्रवृत्ति र पात्रका कारण एकीकरण असफल भएको निष्कर्ष निकालिएको छ । 
 
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘प्रतिवेदनमा नेकपाको तीनवर्षे अवधिको समीक्षा गरिएको छ र निष्कर्ष निकालिएको छ कि– एकीकरणको हाम्रो मनसाय सही थियो । तर, केही गलत प्रवृत्ति र पात्रका कारण एकीकरण असफल भयो । सर्वोच्च अदालतले त्यसलाई कानुनी हिसाबले टुंग्याइदिए पनि व्यवहारगत, राजनीतिक र संगठनात्मक पार्टी एकता पहिलेदेखि नै करिबकरिब भंगकै स्थितिमा थियो ।’

प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गरिएको ज्ञवालीले बताए । ‘प्रतिनिधिसभा पुनस्र्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएकोमा जोड दिइएको छ,’ उनले भने । 

सरकारको तीनवर्षे कामको पनि समीक्षा गरिएको छ । सरकारले राम्रो काम गरिरहेको दाबी ओलीले गरेका छन् । 

ओलीले आगामी कार्यभारका रूपमा तीन विषय उठाएका छन् । पार्टी निर्माण, समृद्धिको अभियानलाई सशक्त बनाउन तीनवटै तहको सरकारलाई थप सक्रिय बनाउने र निर्वाचनको तयारी गर्ने विषयलाई ओलीले मुख्य कार्यभारको रूपमा अघि सारेका छन् । 

विरोधी गतिविधिमा लागेका नेता तथा कार्यकर्तालाई पार्टी एकताको अभियानमा लाग्न पनि आह्वान गरेको ज्ञवालीले बताए । राजनीतिक प्रतिवेदन सुझाबसहित पारित भएको ज्ञवालीले जानकारी दिए ।

यस्तै, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवदेनमाथि पनि बैठकमा छलफल भएको छ । पोखरेलले पार्टीलाई व्यवस्थित बनाउन कार्ययोजना अघि सारेका छन् । जेठ मसान्तसम्म सबै कमिटीलाई पुनर्गठित गरिसक्ने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन र मंसिरमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिमा उल्लेख छ । विधान अधिवेशन साउनमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यसहित यसअघि स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएर निलम्बनमा परेका नेताहरूलाई थप दुई दिनको समय राखेर स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । अर्को बैठक १० वैशाखमा बस्ने ज्ञवालीले जानकारी दिए ।