१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जुमार्ट ओटोरबाएभ
२०७८ बैशाख ३ शुक्रबार १०:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मध्यएसियाको समृद्धिको ढोका खोल्ने अफगान मार्ग

Read Time : > 2 मिनेट
जुमार्ट ओटोरबाएभ
२०७८ बैशाख ३ शुक्रबार १०:१०:००

कैयौँ शताब्दीपछि पहिलोपटक मध्यएसिया र दक्षिण एसियालाई जोड्ने अवसर जुरेको छ । यी दुई भूभाग अफगानिस्तानबाट गुज्रिने आधुनिक यातायात र ऊर्जा करिडोरले जोडिनेछन् । निर्माण पूरा भएपछि यी परियोजनाले युरेसियाली सुरक्षालाई बदल्नेछ, क्षेत्रीय गतिविधि उल्लेख्य बढाउनेछ र सम्भवतः अफगानिस्तानमा दिगो शान्ति ल्याउनेछ । दुई परियोजनाले महान् रेशम मार्गलाई पुनः ब्युँत्याउन सक्छ ।

परियोजनाको प्रगतिका लागि यस क्षेत्रका प्रभावशाली छिमेकी रुस, चीन र भारतका साथै अमेरिकाको चाख हुनु आवश्यक छ । अधिकांश विश्वका लागि मध्यएसिया अज्ञात भूभागजस्तै छ । त्यसैले यस क्षेत्रको पछिल्लो महत्वपूर्ण विकासमा कमैको ध्यान गएको छ । उदाहरणका लागि फेब्रुअरीमा उज्वेक विदेशमन्त्री अब्दुल अजिज कामिलोभले तीन मध्यएसियाली छिमेकीको भ्रमण गरे । कजाखिस्तान, तुर्कमेनिस्तान र ताजकिस्तानको भ्रमणमा कामिलोभले अफगानिस्तान तथा दक्षिण एसियाली भूमि जोड्ने यातायात परियोजनामा समर्थन हासिल गरे । कामिलोले उज्वेक राष्ट्रपति सभ्कात मिरजियोयभको निर्देशनमा ती मुलुकको भ्रमण गरेका थिए । भ्रमण सम्पन्न भएपछि उज्वेक राष्ट्रपतिले डिसेम्बर २९ मा देशको संसद्मा यसको खबर दिएका थिए । 

भ्रमणमा उज्वेकिस्तानको टेरमेजबाट पाकिस्तानी सहर पेसावरसम्म पुग्ने योजना भएका रेलमार्गको ‘काबुल करिडोरबारे’ कुराकानी भएको थियो । यो रेलमार्ग अफगानिस्तानको मजार–ए–सरिफ र काबुल हुँदै पेसावर पुग्नेछ । यसको टेरमेजदेखि मजार–ए–सरिफबीचको खण्ड सञ्चालनमै छ । बाँकी ५७३ किलोमिटरमध्ये केही भाग हिन्दुकुश पहाडी शृंखलाबाट गुज्रिनेछ । जसका केही भञ्ज्याङ समुद्री सतहबाट ३५ सय मिटरमाथि छन् । जसले गर्दा यो विश्वकै सबैभन्दा अग्लो पहाडी रेलमार्गमध्ये एक हुनेछ । निर्माण सम्पन्न भएपछि यस रेलमार्गले बर्सेनि दुई करोड टन कार्गो ढुवानी गर्न सक्छ । 

मजार–ए–सरिफदेखि काबुलबीचको रेलमार्गको खण्डको प्रारम्भिक लागत पाँच अर्ब डलर रहेको अनुमान गरिएको छ र यसलाई ऋणमार्फत लिइएको कोषबाट बनाइनेछ । डिसेम्बरको अन्त्यमा उज्वेकिस्तान, अफगानिस्तान र पाकिस्तानले यस परियोजनामा सहयोग गर्न अन्तर्राष्ट्रिय वित्तीय संस्थानसँग संयुक्त आह्वान गरे । आर्थिक कुरा मिले यस परियोजना यही सेप्टेम्बरबाट सुरु हुनेछ । 

मध्यएसिया र दक्षिण एसियालाई जोड्ने दुई ठूला परियोजनाले आर्थिक गतिविधिलाई उल्लेख्य बढाइदिनेछ, जुन अफगानिस्तानको दिगो शान्तिका लागि सहयोगी हुनेछ
 

मजार–ए–सरिफ र काबुलबीच हाल रहेको राजमार्गले उपकरण तथा निर्माण सामग्रीको ढुवानी सुनिश्चित गर्नेछ । उज्वेकिस्तान र ताजकिस्तानबाट काबुलसम्म जाने प्रसारण लाइन पनि यही मार्गबाट अघि बढ्ने भएकाले यसले रेललाई बिजुली उपलब्ध गराउँछ । पेसावरमा रेलसेवा पाकिस्तानी यातायात प्रणालीसँग जोडिनेछ । रेलमार्ग सम्पन्न भएपछि मध्यएसियाको पहुँच पाकिस्तानका कराँची, कासिम तथा ग्वादर बन्दरगाहसँग जोडिनेछ । 

एक प्रक्षेपणअनुसार नयाँ बन्ने रेलमार्गले मध्यएसियादेखि पाकिस्तानबीचको सामान ढुवानीको समय ३० दिनबाट १५ दिन घटाउनेछ । साथै, यातायात खर्च ३०–३५ प्रतिशतसम्म कम गर्नेछ । मजार–ए–सरिफ–काबुल–पेसावर रुटको महत्व त्यतिमै सीमित छैन । यस करिडोरले चीन–किर्गिजस्तान–उज्वेकिस्तान यातायात करिडोरमार्फत चार आर्थिक रूपमा शक्तिशाली युरेसियन क्षेत्रलाई जोड्छ । अर्थात्, युरोप, चीन, रुस र दक्षिण एसिया मध्यएसियामार्फत जोडिनेछन् । 

आज मध्यएसिया दक्षिण हिन्द महासागरसँग जोडिने प्रमुख रुट इरानको बन्दर अब्वास बन्दरगाह हो । तर, पछिल्लो समय यसको आकर्षण घट्दै गएको छ । अर्थशास्त्रीको हिसाबअनुसार भविष्यमा उज्वेक राजधानी तास्कन्दबाट कराँचीसँग एउटा कन्टेनर ढुवानी गर्न करिब १४ सयदेखि १६ सय डलर खर्च हुनेछ । जुन अहिले तास्कन्दबाट बन्दर अब्वाससम्म हुने खर्चको आधा हो । इरानविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धले त्यस रुटको आवागमन झनै जटिल हुने गर्छ । 

सन् २०२० को अन्त्यमा मध्यएसियालाई दक्षिण एसियासँग जोड्ने अर्को ठूलो परियोजनाको निर्माण सुरु भएको छ । ‘टापी ग्यास पाइपलाइन परियोजना’को नाम खासमा यसले छुने देशको अंग्रेजी नामको पहिलो अक्षर मिलाएर बनेको छ । तुर्कमेनिस्तान, अफगानिस्तान, पाकिस्तान र भारतबीच भएर गुज्रिने यो पाइपलाइनको लम्बाइ १८१४ किलोमिटर हुनेछ । पाइपलाइनले तुर्कमेनिस्तानको गल्किनिस ग्यास फिल्डको ग्यासलाई भारतीय सहर फाजिल्कासम्म पुर्‍याउनेछ । परियोजनाको पाइपलाइनमा अफगानिस्तानको हेरात र कान्दाहार तथा पाकिस्तानी सहर क्वेटा र मुल्तान पर्नेछन् । 

टापी पाइपलाइनको क्षमता प्रतिवर्ष ३३ अर्ब क्युबिक मिटर ग्यास हुनेछ र यसको अनुमानित लागत ८–१० अर्ब डलर छ । विगतमा सुरक्षात्मक कारणले टापी पाइपलाइनको कार्यान्वयनमाथि प्रश्न उठेपछि अहिले यसलाई डिसेम्बर २०२३ सम्म अन्त्य गर्ने कार्ययोजना छ । महत्वपूर्ण पक्ष, उच्चपदस्थ तालिबान प्रतिनिधिले फेब्रुअरी ६ मा तुर्कमेनिस्तान भ्रमण गर्दा यस परियोजनालाई सघाउने वचन दियो । यस भ्रमणलाई पाइपलाइनलाई लामो समयदेखि समर्थन गरिरहेको अमेरिकाले सघाएको आशंका गरिएको छ । 

मध्यएसिया सधैँ राजनीतिक रूपमा संवेदनशील क्षेत्र रहेको छ । त्यसैले यस क्षेत्रमा ठूला परियोजना कार्यान्वयन गर्दा प्रमुख क्षेत्रीय खेलाडीहरू अमेरिका, रुस र चीनको भूराजनीतिक चाखलाई ध्यान दिनुपर्छ । अहिलेका लागि भने यी सबैलाई मध्यएसिया र अफगानिस्तानको समृद्धि र स्थायित्वबाट फाइदा हुने देखिन्छ । नयाँ ऐतिहासिक परियोजनाको सम्पूर्ण महत्वका कारण मध्यएसियाली देशबीचको सहकार्य महत्वपूर्ण छ । 

इतिहासमा मध्यएसिया ‘सम्पर्क सभ्यता’का रूपमा रहँदा सबैभन्दा समृद्ध थियो । त्यस समय मध्यएसिया आर्थिक विकास, व्यापार, प्रविधि, निर्माण र बौद्धिक जीवनमा विश्वमै अग्रणी थियो । खुला, गतिशील र अन्यबाट सिक्ने, काम गर्ने गुणले त्यसलाई सम्भव बनाएको थियो । मध्यएसियाले पुनः इतिहासको सफलता दोहो¥याउन नसक्ने कुनै कारण छैन । तर, पहिले खुला क्षेत्रीयतावादको अभ्यासमा मध्यएसियाली देशबीच सहकार्य हुनुपर्छ । यस्तो सहकार्यले सम्पूर्ण विश्वको हित गर्नेछ । तर, यसका लागि यसको नेतृत्व गम्भीर हुन आवश्यक छ । 

जुमार्ट ओटोरबायभ सन् २०१४–१५ बीच किर्गिजस्तानका प्रधानमन्त्री थिए । 
© Project Syndicate 2021

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य