मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
मिलन पाण्डे काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १०:१८:००
Read Time : > 8 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सफल नेताका सप्तरंगी गुण

समय-सापेक्ष

Read Time : > 8 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १०:१८:००

देशले आममानिसभन्दा धेरै अगाडि पनि होइन, धेरै पछाडि पनि होइन, आममानिससँगै हिँड्न सक्ने नेता खोजिरहेको छ

नेल्सन मन्डेलालाई एकपल्ट सोधियो– तपाईं यति महान् नेता हुनुको पछाडि प्रेरणाको स्रोत को हो ? उनले जवाफ दिए, ‘मेरो बुबा । मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँभेलामा जान्थेँ । म बुबाको दुई गुण सधैँ ध्यान दिएर हेर्थें । पहिलो, बुबा सधैँ गोलो घेरा बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र छलफलमा सहभागी गराउनुहुन्थ्यो । दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो, अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो । मैले पनि त्यही सिकेँ ।’

हाम्रो नेतृत्वको असफलताको प्रमुख दुई कारण यिनै हुन् । पहिलो, नेताहरूले सामूहिक भाव जगाउन सकेका छैनन् । आफैँ विकासको गफ दिन्छन्, आफैँ सपना देख्छन्, अनि मैले नै गर्ने हो भनेर आफैँ मात्र अघि बढ्न तम्सिन्छन् । दोस्रो, हाम्रा नेताले अरूको कुरा सुन्दैनन् । विषयविज्ञको अगाडिसमेत त्यही विषयमा विज्ञलाई बोल्न नदिई आफैँ बोल्छन् । सिकाउन खोज्छन् । आफूलाई के जानकारी छ/छैन भन्ने पनि हाम्रा नेतालाई थाहा हुँदैन । सुन्ने बानी र सिक्ने बानीमा त हाम्रा नेता निकै पछाडि छन् ।

पटक–पटक चुकेको नेतृत्व : नेपाल गत सात दशकदेखि संक्रमणकालमै अल्झिएको छ । यसबीचमा राजनीतिमा केही स्थिर रह्यो भने त्यो अस्थिरता मात्रै रह्यो । यो ७० वर्षमा पटक–पटक आन्दोलन भए, अनि प्रत्येक आन्दोलनमा आमनागरिकले आफ्नो ज्यानको बाजी थापेर नेतृत्वलाई साथ दिए । प्रत्येक आन्दोलनले नेतालाई स्थापित गर्‍यो, अनि प्रत्येक नेताले देश हाँक्ने अवसर पाए । तर पनि कुनै नेताले पनि त्यो अवसरको सदुपयोग गर्न सकेनन् । बिस्तारै नेतृत्वले आमनागरिकको साथ गुमाउँदै गए ।

गणतन्त्र प्राप्तिपछि उद्देश्यविहीन बनेका हाम्रा नेताले देशका लागि नयाँ उद्देश्य तर्जुमा गर्न सकेनन् । आन्दोलनको नेतृत्व गरेकै व्यक्तिले समृद्धिको पनि नेतृत्व गर्न तम्सनु नै समस्याको कारण बन्दै गयो । बस राम्रो चलाएको व्यक्तिले मैले बस राम्ररी चलाउँछु, त्यही भएर प्लेन पनि मै चलाउँछु भन्न मिल्थ्यो र ? सही समयमा सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नै हाम्रो नेतृत्वको असफलताको प्रमुख कारण बन्यो ।

मलाई उदेक के लाग्छ भने पार्टीमा अर्काे नेता छैन भनेर नेताहरू वर्षाैंदेखि नेतृत्वमा आफूले आफ्नै देवत्वकरण गरेर बसेका छन् । मैले छाडे प्रलय आउँछ भनेर सबलाई तर्साएर पार्टी कब्जा गरेर बसेका छन् । यदि कुनै नेताले दशौँ वर्ष नेतृत्व गरेर पनि आफूपछिको नेतृत्व तयार गर्न सक्दैन भने त्यो नेतृत्वको र पार्टीको सबैभन्दा ठूलो असफलता हो । यति सामान्य नेतृत्व चेत पनि हाम्रा नेतृत्वले राख्न सकेका छैनन् ।

मलाई केही समयअघि एउटा संवादमा प्रचण्डले भनेको सम्झना छ । तपाईं कम्युनिस्ट भएर पनि यज्ञ–महायज्ञ र साधु–बाबाहरूतिर किन वेलावेलामा जानुहुन्छ भनेर सोध्दा उनले संसदीय प्रणालीमा भोट जता छ, त्यता लाग्नु परिहाल्यो नि भन्ने उत्तर दिन्छन् । यही हो, नेपाली राजनीति र नेतृत्वको हबिगत ।

अर्काे महत्वपूर्ण भूल हाम्रा नेताहरूले देशका विभिन्न अंग (संस्था)हरू बलियो हुँदा आफू कमजोर हुन्छु भन्ने डरले आफ्नो देशका अंगहरूलाई कहिल्यै बलियो बनाउन जोड दिएनन् । तर, त्यही संस्थाहरू कमजोर हुँदै जाँदा उनीहरू आफैँ पनि कमजोर बन्दै गए । यहाँनेर नेतृत्वको बुझाइको दायरा उदांगिन्छ । हाम्रा नेताहरूले संस्था बलियो हुँदा आफ्नो नेतृत्व नै थप बलियो बन्छ भन्ने कुरा बुझेनन् । अल्पकालमा शक्ति सञ्चय गर्न खोज्दा दीर्घकालमा आफैँ कमजोर बन्दै गए ।

नेता समाजभन्दा एक कदम अगाडि हिँड्न सक्नुपर्छ । भिसा क्रेडिट कार्डका संस्थापक डी हकले भनेका छन्, ‘यदि तिमी सफलतापूर्वक नेतृत्व गर्न चाहन्छौ भने आफ्नो समयको ४० प्रतिशत आफ्नो नेतृत्व विकासमा जोड देऊ ।’ विडम्बना ! हाम्रा नेताले आफैँलाई समेत नेतृत्व गर्न सकिरहेका छैनन् । हाम्रा नेता आफ्नै नियन्त्रणमा छैनन् । आसेपासे अनि केही कार्यकर्ताको नियन्त्रणमा छन् । दुई–दुईचोटि किड्नी फेर्दासमेत आराम गर्न पाएका छैनन् । यो त मानवतामाथि नै अन्याय, अपराध हो । तसर्थ, नेताले नेतृत्व गरिरहँदा पनि निश्चित समय छुट्याएर आफ्नो व्यक्तित्व विकासमा खर्चनुपर्छ । आफूलाई, आफ्नो स्वास्थ्यलाई समय दिनुपर्छ । तर, नेताले आफूलाई ‘अपग्रेड’ गर्न नै सकिरहेका छैनन्, जसले गर्दा उनीहरूले परिणाम दिन सकिरहेका छैनन् ।

अर्काे महत्वपूर्ण, हाम्रा नेताहरूले अल्पकालमा हुने व्यक्तिगत तथा पार्टीगत फाइदाका निम्ति जे पनि बोले, जे पनि गरे । तर, ती एजेन्डाहरूको दूरगामी असरबारे सोचेनन् वा सोच्न सकेनन् । तसर्थ, आफ्नै अदूरदर्शिताको भारीले थिचिए । उनीहरूले त्यसलाई गल्ती भयो भनेर न आत्मालोचना नै गर्न सके, न अघि सरेर त्यसलाई सच्याउने सामथ्र्य नै राखे । आफूसँगै देशलाई पनि अलपत्र पारे ।

नेताका सप्तरंगी गुण : नेताले आमनागरिकको ‘पल्स’ छाम्न सक्नुपर्छ । आमनागरिकको जीवनमा तात्विक परिवर्तन ल्याउन सक्नुपर्छ । ‘डेलिभर’ गर्न नसक्नेहरू अब नेताका रूपमा स्थापित हुन सक्दैनन् । नेतृत्व गुण सबैमा प्राकृतिक हुन्छ नै भन्ने पनि छैन । नेतृत्व कला जन्मिँदै प्राप्त हुन्छ भन्ने पनि छैन । नेतृत्वको गुण र कला अभ्यासबाट सिक्न, विकास गर्न सकिन्छ । २१औँ शताब्दीले खोजेको नेतामा निम्न सप्त गुण हुन जरुरी छ । जसरी सात रङ मिलेर प्रकाश बन्छ, त्यसरी नै निम्न सात गुणले नेतालाई परिपूर्ण बनाउँछ :

१) भिजन : नेतामा स्पष्ट भिजन हुनुपर्छ । उसले स–साना व्यवस्थापनका कुराहरू बुझ्न जरुरी छ । ती प्रत्येक साना व्यवस्थापनलाई ठूलो चित्रसँग जोड्ने सामथ्र्य राख्न सक्नुपर्छ । आफूले यो काम किन गरिरहेको छु, यसले भविष्यमा देशका अन्य पाटोलाई कसरी असर गर्छ भन्ने हेक्का राख्न सक्नुपर्छ । नेल्सन मन्डेलालाई आफूले किन आन्दोलन गर्दै छु भन्ने थाहा थियो । मार्टिन लुथर किङ आफ्नो सपनाबारे स्पष्ट थिए । महात्मा गान्धीलाई आफ्नो लक्ष्यप्रति कुनै द्विविधा थिएन । उनीहरूले अल्पकाललाई मात्र हेरेका भए आन्दोलन छेड्न सक्ने थिएनन् । आज फाइदा हुन्छ भनेर आफ्नो उद्देश्यसँग कम्प्रोमाइज गर्ने व्यक्ति कहिल्यै देश हाँक्ने नेता बन्न सक्दैन । आफूले बोकेको एजेन्डालाई आफ्नो स्वार्थका लागि तिलाञ्जली दिने व्यक्ति सफल हुन सक्दैन ।

नेताको प्रमुख काम नै आफ्ना साथी र नागरिकलाई भविष्यतर्फ डो¥‍याउने हो । आजको संघर्षलाई भोलिको सफलतासँग जोड्ने हो । भिजन नभएका नेताले नेतृत्व गर्दैगर्दा नागरिकले आफ्नो भविष्य सुरक्षित देख्न, विश्वास गर्न सक्दैनन् । त्यसैले उनीहरू पछाडि फर्कन खोज्छन् । पछाडि फर्कन खोज्ने समाजको दोषीभागी भिजन नभएका नेता हुन् ।

२) सफल कार्यान्वयन : भनिन्छ– योजनाविनाको कार्य समयको बर्बादी हो । कार्यान्वयनविनाको योजना दिवा–सपना हो । कार्यान्वयनसहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ । आफ्नो भिजनको कार्यान्वयनमा दृढतापूर्वक निरन्तर लाग्नु नै नेतृत्वको सफलताको कडी हो । हामी ठूला–ठूला सपना बाँड्छौँ, तर तिनलाई पूरा गर्न चाहिने स–साना पहलकदमी (कार्य)मा भने जाँदैनौँ । हामी योजनाविनाको दिवा–सपनामा रमाउँदै छौँ । नेता कन्फिडेन्ट मात्र भएर हुँदैन, नेता त आफ्नो कार्ययोजनालाई सफल बनाउन सक्ने कम्पिटेन्ट पनि हुनुपर्छ ।

नेतालाई आफैँ सबै विषय थाहा हुँदैन । तर, नेतालाई कुन विषय कसलाई थाहा हुन्छ भन्नेचाहिँ थाहा हुनुपर्छ । ‘टास्क डेलिगेसन’ अर्थात् अरूलाई काम वितरण गर्न सक्ने सीप नेतृत्वको महत्वपूर्ण गुण हो । प्रायः मानिस सबै श्रेय आफैँ लिन सबै काम आफैँ गर्न खोज्छन्, तर नेताले सबै काम आफूले गर्नेभन्दा पनि अरूलाई काम गराउन सक्नुपर्छ । टिममा पनि जिम्मेवारीको व्यवस्थापन गर्न सक्नुपर्छ ।

कार्यान्वयनको प्रमुख पाटो भनेको पूर्वतयारी हो । नेताले पूर्वतयारी गर्नुपर्छ । अहिले मन्त्री हुने नेताहरूलाई एक दिनअगाडि मात्र ऊ कुन मन्त्रालयको नेतृत्व गर्दै छ भन्ने थाहा हुन्छ । कुनै तयारी हुँदैन । तयारी र योजनाविना मन्त्रालय हाँक्दा उसले सशक्त नेतृत्व गर्न सक्दैन । कर्मचारीले नटेर्नुको मुख्य कारण नेताहरूको स्तर, योग्यता अनि क्षमता पनि हो । तसर्थ, अबको कुनै विषय वा पेसामा राम्रो तयारी गरेको, क्षमता, योग्यता भएको सक्षम व्यक्ति नेतृत्वमा ल्याउनुपर्छ । सही व्यक्तिलाई सही जिम्मेवारी दिन सक्नु नेतृत्वको सफलताको महत्वपूर्ण गुण हो ।

३) विश्वसनीयता र व्यक्तित्व : राजनीतिमा नेताले आफ्नो टोलीको, समकालीन नेतृत्वको र आमनागरिकको विश्वास जित्न जरुरी छ । नेताले आमनागरिकको समस्यामा ‘समानुभूति’ राख्न जरुरी छ । जब नेताले इमानदारीका साथ आमनागरिकको समस्यालाई मेरो समस्या हो भनेर समानुभूति राख्छ, तब मात्र नेताले आमनागरिकको साथ पाउँछ । जनआस्था प्राप्त सरकार जनमत प्राप्त सरकारभन्दा शक्तिशाली हुन्छ । हाम्रो हालको नेतृत्व यहीँ चुकेको हो । नेताहरूले जनमत त प्राप्त गरे, तर जनआस्था प्राप्त गर्न सकेनन् । किनकि, उनीहरू आफ्नो योजनाप्रति आफैँ विश्वस्त छैनन् । जब नेता आफैँ सकारात्मक हुँदैन, इमानदार देखिँदैन, उसले अरूको विश्वास जित्न सक्दैन । सफल नेताले व्यक्तिगतभन्दा संस्थागत फाइदालाई प्राथमिकतामा राख्ने गर्छन् । आफ्नो फाइदा हुँदा एउटा, बेफाइदा हुँदा अर्काे कुरा गर्ने नेता केही समय केही हदसम्म सफल हुन सक्ला, तर दीर्घकालमा सफल हुन सक्दैन ।

नेता प्रभावशाली हुन जरुरी छ । आफ्नो कुरा राम्ररी राख्न सक्ने, आफूलाई लेखेर वा बोलेर अभिव्यक्त गर्न सक्ने नेता प्रभावशाली नेता हुन् । प्रभावशाली नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ । आफ्नो संगठन तथा विपक्षलाई समेत विश्वासमा लिन सक्छ । सबैको सम्मान गर्ने, अरूको अस्तित्व स्विकार्न सक्ने नेतृत्वले सधैँ अरूको साथ पाउँछ । राजनीतिमा ‘इमोसन’को ठूलो महत्व हुन्छ । अरूको भावना बुझ्न सक्ने, आफ्नो भिजनमा स्पष्ट देखिने, आफ्नो ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्न सक्ने व्यक्ति नै नेता बन्न सक्छ । आफ्नो सपनालाई फैलाउन सक्छ । मार्टिन लुथर किङले आफ्नो सपना एउटा कोठामा बसेर सानो स्वरमा भनेका भए कतिजनालाई छुन्थ्यो होला र ?

४) टिम वर्क : गुगलले सबैभन्दा उत्कृष्ट टोली बन्ने आधार के होलान् भनी आफ्ना कर्मचारीहरूबीच एक ठूलो स्तरको अध्ययन गरेको थियो, जसको नतिजा सन् २०१६ मा न्युयोर्क टाइम्समा प्रकाशित भएको थियो । उक्त अध्ययनको निष्कर्षमा लेखिएको छ– सबैभन्दा उत्कृष्ट टोलीमा त्यसका सदस्यहरूले एक–अर्कालाई सुन्छन् र उनीहरूको भावना तथा आवश्यकताप्रति संवेदनशीलता देखाउँछन् । आफ्ना सहकर्मीलाई विश्वास गर्ने, उनीहरूका क्षमताबमोजिम जिम्मेवारी दिन सक्ने, उनीहरूलाई सुन्ने र तिनका भावना तथा आवश्यकताप्रति संवेदनशील हुन सक्ने नेतृत्व नै हाम्रो जस्तो लोकतान्त्रिक मुलुकको आवश्यकता हो ।

२०औँ शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्‍यो । २१औँ शताब्दीको अबको नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन । अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर र त्यसले आममानिसको जिन्दगीमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ ।

नेताले निर्णय प्रक्रियामा आफ्नो टिमलाई सामेल गराउन सक्नुपर्छ । आज हाम्रा उपलब्धिहरू अलपत्र पर्ने खतरा छ, किनकि त्यसको अपनत्व लिने नेतृत्व छैन । तसर्थ, आज देशले निर्णयहरूको स्वामित्व लिन सक्ने अनि त्यसमा अन्य पक्षलाई समेत सामेल गर्न सक्ने नेतृत्व खोजिरहेको छ । नेतृत्वले सामूहिक भाव जगाउन सक्नुपर्छ । अन्य पक्षलाई सामेल गराउन नसक्नाले पनि नेताहरू प्रायः एक्लिँदै जान्छन् । जसले गर्दा सहकर्मी, कर्मचारी तथा आमनागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सक्दैनन् । त्यसैले नेताका निर्णयहरू कार्यान्वयन हुन सक्दैनन् ।

एउटा भनाइ छ, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौ ।’ राजनीतिमा कुनै पनि लक्ष्य एक्लै हासिल गर्न सकिँदैन । नेताले आफ्नो भिजनमा सबैको अपनत्व ल्याउन सक्नुपर्छ । नेताले आफ्नो टोलीमा सकारात्मक ऊर्जाको सञ्चार गर्न सक्नुपर्छ । आवश्यक पर्दा आफू पछि हटेर पनि अरूलाई अघि सार्न सक्ने व्यक्ति नै सफल नेता बन्न सक्छ ।

५) कम इगो : एउटा शान्ति सम्मेलनमा दलाइ लामालाई सहभागीमध्ये एकले प्रश्न सोधे । दलाइ लामाले उत्तर दिन माइक ताने । सबैजना उत्तर सुन्न व्यग्र थिए । एक मिनेटजति पछि लामाले उत्तर दिए, ‘मलाई थाहा छैन ।’

थाहा छैन ? दलाइ लामालाई कसरी थाहा छैन ? कोठामा हल्ला गुन्जियो । उनले थपे, ‘मैले यसबारेमा सोचेको थिइनँ ।’ आज हामी, हाम्रा नेता के गर्दै छन् ? आफैँँलाई सबै थाहा छ भनेर आफूलाई नै भ्रममा पार्दै छन् । मलाई मात्र थाहा छ, मैले मात्र गर्ने हो भन्ने प्रवृत्ति नै हाम्रो राजनीतिको असफलताको कारण बन्दै छ ।

राजनीतिमा सबैभन्दा ठूलो रोग ‘इगो’ हो । जति ‘ठूलो’ व्यक्ति, उति ठूलो इगो नै हाम्रा नेताको परिचय बन्दै छ । इगो मानवीय गुण नै हो, तर नेताले यसमा आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ । अबको युगमा आवश्यक पर्ने गुण भनेकै विनम्रता हो । इगोले होइन, अबको दुनियाँ विनम्रताले जित्न सकिन्छ । आफ्नो मात्रै सोच ठीक, आफैँले मात्रै गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन ।

केही नेतामा यति ठूलो इगो हुन्छ कि आफ्नो इगोको अगाडि उनीहरू आफ्नो संगठनको तथा आफ्नै उद्देश्यसमेत भुल्ने गर्छन् । यहीँनेर नेता असफल हुन्छन् । नेपालको राजनीति सधैँ नेताहरूकै इगोको बन्दी रह्यो । बिपी–महेन्द्रदेखि आज केपी–प्रचण्डसम्म यो सिलसिला रोकिएको छैन । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति इगो बोक्ने मानिस कहिल्यै नेता बन्न सक्दैन । नेताले भोलिको होइन, दश वर्षका लागि सोचेर काम गर्नुपर्छ । कहिलेकाहीँ हार्न तयार हुनुपर्छ । प्रत्येकचोटि जित्नैपर्ने इगोले कालान्तरमा नेतृत्वको नै हार हुन्छ ।

६) साहस : परिवर्तनका लागि सबभन्दा महत्वपूर्ण साहस हो । सन् १९८० मा सिंगापुरमा आमनिर्वाचन नजिकिँदै थियो । सिंगापुर एयरलाइन्सका पाइलटहरू हडतालमा थिए । उनीहरू ओभरटाइम काम गर्न बढी तलब र सुविधा मागिरहेका थिए । एयरलाइन्स घाटामा जाँदै थियो । सिंगापुरका प्रधानमन्त्री ली क्वान युले हडताल नगर्न अनुरोध गरे । आग्रह गर्दा पनि आन्दोलन नरोकिएपछि उनले सम्बन्धित युनियनका केही मान्छेलाई बोलाएर मलाई निर्वाचनसँग मतलब छैन, तिमीहरूले आन्दोलन रोकेनौ भने म तिमीहरूलाई अहिले कामबाट निकाल्छु र अरू मानिस ल्याएर एयरलाइन्स चलाउँछु भनेर थर्काए । आन्दोलनकारीले त्यसपछि आन्दोलन फिर्ता लिए । उनले जुन नैतिक साहस प्रदर्शन गरे, त्यसले सिंगापुरलाई अनुशासनमा बस्न बाध्य बनायो । उनले आफ्नो व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ र निर्वाचन हेरेका भए त्यो साहस प्रदर्शन गर्न सक्दैनथे ।

मलाई केही समयअघि एउटा संवादमा प्रचण्डले भनेको सम्झना छ । तपाईं कम्युनिस्ट भएर पनि यज्ञ–महायज्ञ र साधु–बाबाहरूतिर किन वेलावेलामा जानुहुन्छ भनेर सोध्दा उनले संसदीय प्रणालीमा भोट जता छ, त्यता लाग्नु परिहाल्यो नि भन्ने उत्तर दिन्छन् । यही हो, नेपाली राजनीति र नेतृत्वको हबिगत । यदि नेताले शक्तिमा रहेर पनि गलतको विरुद्ध उभिने साहस गर्न सक्दैनन् भने त्यो नेताले नेतृत्व गर्न सक्दैन । अल्पकालको फाइदाले नेतृत्व र देशलाई दीर्घकालमा घाटा पु¥याउँछ । हामी राजनीति गर्न भारतको विरोध गर्छाैं, दलाल पुँजीवादको विरोध गर्छाैं, तर सत्तामा पुगेपछि त्यही शक्तिसँग लम्पसार पर्छाैं । नेताले यथास्थितिलाई चिर्ने र बदल्ने साहस गर्नुपर्छ । नेतृत्वको महत्वपूर्ण गुण भनेको समयमा सही निर्णय लिन सक्ने पनि हो । सस्तो लोकरिझ्याइँमै मात्र रमाउने मानिस नेता बन्न सक्दैन ।

७) मूल्य–मान्यताको एकरूपता : अन्तिम तर महत्वपूर्ण, नेतृत्वको सफलता र असफलता, नेतृत्वको व्यक्तिगत मूल्य–मान्यता र उसले नेतृत्व गरेको संगठनको मूल्य–मान्यताबीचको एकरूपताको डिग्रीले निर्धारण गर्छ । नेतृत्वको मूल्य–मान्यता र संस्थाको मूल्य–मान्यतामा एकरूपता छैन भने नेताले निरन्तर ऊर्जाको साथमा काम गर्न सक्दैन । नेता र संगठन दुवै कमजोर बन्छन् । तसर्थ, नेताले आफूले काम गर्ने संगठनको, आफ्नो सहकर्मी र पार्टी कार्यकर्ताको मूल्य–मान्यताबीच एकरूपता ल्याउन पनि नेतृत्व लिनुपर्छ । पार्टीले अंगीकार गरेको एजेन्डा एकातिर, नेताको कार्यशैली अर्कातिर भयो भने नेतृत्व त असफल हुन्छ हुन्छ, संस्था पनि बर्बाद हुन्छ ।

निष्कर्ष : एउटा मैनबत्तीको मूल्य कति बल्यो, त्यो होइन । एउटा मैनबत्तीको मूल्य त कति बल्न बाँकी छ, त्यति हो । तसर्थ, नेताले मानिसलाई उसले के ग¥यो, त्यो हेरेर होइन, भोलि के गर्न सक्छ, त्यो हेरेर मूल्यांकन गर्नुपर्छ । विश्वास गर्नुपर्छ । आजको स्थितिभन्दा भोलिको सम्भावनालाई बुझ्ने मानिसले नै सफल नेतृत्व गर्न सक्छ । नेतामा नेतृत्वको गुणसँगै नेतृत्वको कला पनि हुन जरुरी छ । नेतृत्वको गुण हुने, तर नेतृत्वको कला (आर्ट अफ लिडरसिप) नहुने हो भने नेतृत्वले डेलिभर गर्न सक्दैन । अहिलेका यिनै पार्टीहरूमा पनि निष्ठावान् नेतृत्वहरू छन् । माथि उल्लेख गरिएका गुण भएका नेताहरू यिनै पार्टीहरूमा नभएका पनि होइनन्, तर नेपाली राजनीतिमा उनीहरूले यी गुण विस्तार गर्न सकेनन् । फलस्वरूप उनीहरू सफल नेताका रूपमा दर्ज त भए, तर आमनागरिकको जीवनमा परिवर्तन गर्न सकेनन् ।

२०औँ शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्‍यो । २१औँ शताब्दीको अबको नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन । अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर र त्यसले आममानिसको जिन्दगीमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ । हाम्रो देश विकासका निम्ति सक्षम नेतृत्व चाहिएको छ, जो दूरदर्शी र आमनागरिकको विश्वास जित्न सक्ने होस्, जसले सामानुभूति राख्दै साहसको प्रदर्शन गर्न सकोस् । हाम्रो देशले आममानिसभन्दा धेरै अगाडि पनि होइन, आममानिसभन्दा धेरै पछाडि पनि होइन, आममानिससँगै, नयाँ पुस्तासँगै हिँड्न सक्ने नेता खोजिरहेको छ ।

(पाण्डे विवेकशील साझा पार्टीका संयोजक हुन्)