१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१ वैशाखमा फुल्ने फूल हेर्न हजारौँको भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:३७:oo

सर्वसाधारणले मानेनन् प्रशासनको अनुरोध

जिल्ला विपत् व्यवस्थापन केन्द्रले कोरोना भाइरसको दोस्रो लहरको जोखिम रहेको भन्दै मेला, महोत्सव आयोजना गर्न रोक लगाउने निर्णय गरेको छ । तर, सिराहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ मा हरेक वर्ष १ वैशाखमा लाग्ने मेलामा हजारौँको भिड लाग्यो ।

केन्द्रले नयाँ वर्षमा लाग्ने मेला रोक्न गत २५ चैतमा पत्राचार गर्दै जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । तर, स्थानीय सरकारले केन्द्रको अनुरोध बेवास्ता गरेपछि मेलामा हजारौँको भिड लागेको हो । सरकारले नै देशभरका कार्यकर्ता भेला गरेर ठुल्ठूला आमसभा गर्ने अनि मौलिक पर्व–मेलामा चाहिँ रोक लगाउन खोजेपछि मेला नरोकिएको लहानका एक जनप्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा सरकारी रबैयाका कारण सर्वसाधारणले जोखिमको आकलन गर्न नसक्दा मेला रोक्न नसकिएको हो,’ उनले भने ।

नयाँ वर्ष (१ वैशाख) का दिन लाग्ने मेलामा तराईका विभिन्न जिल्लासहित उत्तरी भारतको बिहार, सहरसा, सुपौल, पूर्णिया, पटनासम्मका दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । सो दिन फूलबारीको मध्य भागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारमा देखिने सुनाखरी प्रजातिको फूल हेर्न दर्शनार्थीको भिड लागेको हो ।

सलहेस गाथामा उल्लेख भएअनुसार फूलबारीधाम सिराहाको महिसोथामा जन्मिएका लोकनायक सलहेसको फूल टिप्ने र प्रणयस्थलको रूपमा थियो । आफ्नो क्षेत्रमा लोकनायकको रूपमा पुजिने सलहेस र प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भिड लाग्ने गर्छ । तेह्रौँ शताब्दीका लोकनायक सलहेस र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सलहेसको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने जनविश्वास रहेको पुजारी इन्द्रदेव सिंह धामी बताउँछन् ।

तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेसको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति हुने, चर्मरोगलगायत रोगव्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीसमेत भेटिने भएकाले भारतको विहार, पश्चिम बंगाल, नेपालको सिराहा, सप्तरी, उदयपुर, धनुषालगायत जिल्लाबाट हजारौँको संख्यामा दर्शनार्थी फूलबारी मेलामा आउने गर्छन् ।

सिराहाको लहानदेखि करिब चार किमि दक्षिण पश्चिममा रहेको लहान–१२ पडरिया र सिसवनीस्थित फूलबारीमा रहेको हारमको रुखमा करिब एक हप्ताअघिदेखि नै फूल फुल्ने गर्छ । पछिल्लो वर्ष कोरोना भाइरस संक्रमण फैलिन नदिन जारी लकडाउनका कारण सलहेस फूलबारीधाममा १ वैशाखमा लाग्ने विशेष मेला रोकिएको थियो । मेला रोकिएको थाहा हुँदाहुँदै भाकल चढाउन गएकाहरू सलहेस फूलबारीको मूलढोकानजिकै धूप, अगरबत्ती, तुलसी, फूल चढाएर फर्किएका थिए । 

ad
ad