मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ चैत ३१ मंगलबार ०९:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ महिनापछि बस्यो प्रदेश २ सभाको बैठक

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ चैत ३१ मंगलबार ०९:२१:००

प्रदेशको नाम र राजधानी टुंग्याउन नसकेकोमा सत्ता र प्रतिपक्षका सांसदबाट सरकारको आलोचना

६ महिनापछि सोमबार बसेको प्रदेश २ सभाको बैठकमा सांसदहरूले प्रदेशको नाम र राजधानी टुंग्याउन जोडदार माग गरेका छन् । सत्तापक्ष र विपक्षी दलका सांसदले प्रारम्भिक रूपमै टुंगो लगाइसक्नुपर्ने प्रदेशको नाम राजधानी अझैसम्म टुंगो नलगाएको भन्दै सरकारको आलोचना गरे ।

प्रदेश २ मा सरकार गठन भएको साढे तीन वर्ष बितिसक्दा पनि नाम र स्थायी राजधानी टुंगो लाग्न सकेको छैन । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकार भ्रष्टाचारको भुमरीमा फसेको भन्दै साढे तीन वर्षको अवधिमा एउटै उल्लेखनीय कार्य गर्न नसकेको जिकिर गरे । ‘यहाँ आफूहरूलाई गणतन्त्र र संघीयताको सबैभन्दा पक्षधर भन्न रुचाउने मधेसवादी दलहरूकै सरकार छ,’ सांसद यादवले भने, ‘तर, गणतन्त्र र संघीयता संस्थागत बनाउन प्रदेश सरकारले अहिलेसम्म एउटा पनि उल्लेखनीय काम गरेको छैन । न प्रदेशको नाम टुंग्यायो, न राजधानी नै ।’ उनले मुख्यमन्त्रीदेखि मन्त्रीहरू गफमै भुलेको र प्रदेशवासीलाई ठग्दै आएको आरोप लगाए । 

नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले प्रदेश सरकारकै बेवास्ताका कारण अहिलेसम्म प्रदेशको नाम र राजधानी टुंगो लाग्न नसकेको बताए । दुवै जिम्मेवारी अब चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्ने उनले धारणा राखे । ‘समयले कसैको प्रतीक्षा गर्दैन । यतिका दिन भइसक्दा पनि प्रदेशको नाम र राजधानी चयन हुन सकेको छैन, यो हाम्रो दुर्भाग्य हो,’ सांसद महतोले भने, ‘अब हामीसँग धेरै समय छैन, त्यसकारण प्रदेशको नाम र राजधानीको विषयमा गम्भीर बनौँ, चाँडो टुंगो लगाऔँ ।’ अब पनि टुंगो लगाउन नसके इतिहासले आफूहरूलाई धिक्कार्ने भन्दै उनले भने, ‘हामी सबै आलोचनाको पात्र बन्नेछौँ । त्यसकारण समयमै सबै सचेत बनौँ ।

प्रदेश २ ले नै संघीयता र गणतन्त्रलाई संस्थागत गर्न सकेन भन्ने विभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धि गुम्ने खतरा रहन्छ,’ मुख्यमन्त्रीलाई सुझाब दिँदै उनले भने, ‘विपक्षी दलहरूसँग समन्वय गरेर प्रदेश नाम र राजधानीसम्बन्धी प्रस्ताव ल्याउनुस्, हामी त्यसलाई सर्वसम्मत पास गर्न तयार छौँ ।’

माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले पनि प्रदेशको नाम र राजधानीको विषय चाँडै टुंग्याउनुपर्नेमा जोड दिए । ‘ प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन अब अलमल गर्नु हुँदैन,’ सांसद साहले भने, हाम्रो दल यो विषय यथाशक्य चाँडो टुंग्याउन प्रतिबद्ध छ, प्रदेश सरकारले आफ्नो तयारी गरोस् । अब अलमल नहोस् ।’

सत्तापक्षकी सांसद सुरिता साहले नाम र राजधानी टुंगो नलाग्दा सरकार र पार्टीको बदनामी भइरहेको बताइन् । ‘कर्मचारी अभाव, कोरोना महामारीलगायतका कारणले हामीले विकास निर्माणमा गति लिन सकेनौँ । यो यथार्थ जनताले बुझ्छन् होला,’ सांसद साहले आफ्नै सरकारलाई प्रश्न गरिन्, ‘तर, प्रदेशको नाम र राजधानी तोक्न सकेनौँ भने जनताको बीचमा कुन मुख लिएर जाने ?’ यस विषयमा सरकारले गम्भीरता देखाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका चार सांसद पदमुक्त
प्रदेश २ मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका चार सांसद सोमबारदेखि पदमुक्त भएका छन् । माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा गएका सांसदहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुश्वाह र मोहम्मद समीर पदमुक्त भएका हुन् । सोमबारको बैठकमा सभामुख सरोजकुमार यादवले उनीहरूलाई पदमुक्त गरिएको सम्बन्धमा माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको पत्र वाचन गरेर सुनाएसँगै चार सांसद पदमुक्त भएका हुन् ।