मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ३० सोमबार १०:४२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसरी जोगिने वायु प्रदूषणबाट ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ३० सोमबार १०:४२:००

इन्डियन डाटा इन्टेलिजेन्स युनिट (आडिआइयू)ले सन् २०१९ मा गरेको अध्ययन अनुसार, २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम २.५ को मात्रा २२ माइक्रोग्रामभन्दा बढी हुँदा एक खिल्ली चुरोट पिएबराबर हुन्छ । यसको अर्थ यदि हावामा पर्टिकुलर म्याटर (पिएम) २.५ को मात्रा तीन सय पुग्यो भने एक दिनमा श्वास लिँदा १४ वटा चुरोट पिएबराबरको धुवाँ शरीरमा प्रवेश गर्छ । अर्थात् पछिल्लो समय खतराको तह नाघेको एक्युआईले प्रत्येक व्यक्तिमा गम्भीर असर पुर्‍यारहेको छ । लगातार दुई साताभन्दा बढी प्रदूषित हावामा श्वास फेर्दा स्वास्थ्यमा तत्कालीनभन्दा दीर्घकालीन असर बढी देखिन सक्छ । 

एयर क्वालिटी इन्डेक्स सयभन्दा माथि हुनु खासगरी बालबालिका र वृद्धवृद्धाका लागि हानिकारक हुने गर्छ । तर, अन्य उमेर समूहमा पनि प्रदूषित हावाले उत्तिकै असर पुर्‍याइरहेको छ । सामान्यतया फोक्सोमा समस्या भएका बिरामी, एलर्जी, संक्रमण फैलिएको समयमा वायु प्रदूषणले बढी असर पुर्‍याउने गर्छ । 

प्रदूषणले आँखा पोल्ने, रुघा लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिन थालिसकेको छ । प्रत्येक वर्ष प्रदूषणको स्तर बढ्दै गएकाले साना बालबालिकामा पनि रुघाखोकी लागिरहने, एलर्जी हुने, आँखा पोल्ने, रातो हुने, वयस्कमा छटपटी हुने रिस उठ्ने झर्को लाग्नेजस्ता मनोवैज्ञानिक असर र वृद्धवृद्धामा दम र अन्य श्वास–प्रश्वासका समस्या देखिने दर बढ्दै गएको छ । छालाको समस्या भएका व्यक्तिमा एलर्जीको समस्या हुने गर्छ । 

वायु प्रदूषणको असर तत्काल त्यति धेरै महसुस हुँदैन, तर श्वास–प्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गरेका मसिना कणहरूले सिओपिडी, निमोनिया, उच्च रक्तचाप, पक्षघात, हृदयघातको जोखिम ४० प्रतिशतले बढाउँछ । साथै, बढ्दो प्रदूषणले मुटु, फोक्सो तथा मस्तिष्कमा दीर्घकालीन समस्या सिर्जना गर्ने विभिन्न अध्ययनले देखाएका छन् । 

वायु प्रदूषणले फोक्सोमा सीधा असर गर्ने हुँदा कोभिड संक्रमणमा समेत सहयोग पुग्ने देखिन्छ । महामारीको समयमा वायु प्रदूषणले विशेष भूमिका खेल्न सक्छ । फोक्सो र श्वास–प्रश्वासमा कोभिडको जोखिम बढी हुने र प्रदूषणले समेत सोही समस्या देखाउने हुँदा कोभिडको जोखिम बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अस्पतालमा श्वास–प्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ ।