राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

नयाँ पत्रिका स्थलगत रिपोर्ट

डिजिटल संस्करण
राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

भट्टेडाँडा खण्डको सडक हरेक वर्ष पहिरोले बगाउँछ, हिउँदमा डोजरले पहिरो हटाउँछ । त्यसैको ट्रयाक पहिल्याउँदै दूध बोक्ने ट्रक र मिनिबस भिरमा घिस्रन्छन् । हरेक वर्ष यही क्रम चल्छ, सडक अहिलेसम्म पूरा भएको छैन । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

कान्ति लोकपथ अलपत्र पर्नुका चार कारण

१. सरकारको बेवास्ता : कान्ति लोकपथ अलपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लोकपथलाई हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो । लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लोकपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन । लोकपथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०/७१ बाट मात्रै हो । त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अवधिको भएको आयोजनाले जनाएको छ ।  

२. फास्ट ट्रयाक प्राथमिकतामा : सरकारको प्राथमिकतामा ७२.५ किमि लामो काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण परेको छ । जसका कारण कान्ति लोकपथ ओझेलमा छ । २३ कातिक ०६६ देखि सेनाले फास्ट ट्रयाकको ट्रयाक खन्ने काम गरिरहेको छ । यो आयोजना बने काठमाडौंबाट ५९ मिनेटमै निजगढ पुग्न सकिने सरकारले बताउँदै आएको छ । तर, अहिले न फास्ट ट्रयाक निर्माणले गति लिन सकेको छ, न लोकपथको निर्माण कार्य अघि बढेको छ । 

३. सुरुङमार्गमा जोड : आयोजनाका अनुसार लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नपर्नुको अर्को कारण काठमाडौं–हेटौँडा सुरुङमार्ग पनि हो । ५८ किमि लामो यो मार्ग हुँदै ४० मिनेटमै काठमाडौंबाट हेटौँडा पुग्न सकिने सरकारको भनाइ छ । सरकारले सुरुङमार्ग निर्माणको जिम्मा कुलेखानी–हेटौँडा सुरुङमार्ग आयोजनालाई दिएको थियो । आयोजनाको डिपिआरसमेत बन्यो । तर, पछि कम्पनीले लगानी जुटाउन नसकेर आयोजना नै अलपत्र प-यो । सुरुङमार्गका कारण ओझेलमा परेको लोकपथ निर्माण पनि अघि बढेन । 

४. ऐतिहासिक र सांस्कृतिक बस्ती : कान्ति लोकपथको पुरानो ‘अलाइन्मेन्ट’ ललितपुरको टीकाभैरव–चापागाउँ–सुनाकोठी बस्तीको बीचबाट थियो । चापागाउँ र सुनाकोठीमा सडकका लागि जग्गा दिनुपर्ने मात्र नभएर घरसमेत भत्कने देखिएपछि स्थानीयले लामो समयसम्म निर्माण कार्यमा अवरोध गरे । त्यसैले पछिल्लो समय ललितपुरतर्फको ‘अलाइन्मेन्ट’ परिवर्तन गरिएको छ । जसअनुसार लोकपथ टीकाभैरवबाट छम्पी हुँदै भैँसेपाटीबाट एकान्तकुनामा जोडिनेछ । त्यसैले सुनाकोठी र चापागाउँको बस्ती जोगिने भएको छ । 

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको हेटौँडा जोड्ने कान्ति लोकपथ निर्माण थालिएको ६४ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । आयोजना निर्माणमा अहिलेसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । 

सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ मा ट्रयाक खन्न सुरु गरिएको थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि जिपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । तर, त्यसयता सडकको स्तरोन्नतिको काम कछुवा गतिमा समेत हुन सकेन । 

६४ वर्षमा आयोजनाका नाममा राज्यको ठूलो धनराशि खर्च भएको छ । तर, त्यसको विवरण पनि सरकारसँग छैन । काठमाडौंस्थित कान्ति लोकपथ सडक आयोजनाका अनुसार आर्थिक वर्ष ०७०/७१ यता मात्रै दुई अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसअघि भएको खर्चको विवरण न आयोजनासँग छ, न सडक विभागसँग नै । ‘ट्रयाक खन्ने काम ०१६ मै सकिएको देखिन्छ । तर, सडक निर्माणको काम अझै हुन सकेको छैन । आयोजनामा पछिल्लो समय भएको खर्च विवरण त होला, तर पहिला कति भयो त्यसको हिसाब नै छैन,’ आयोजना कार्यालयका पूर्वप्रमुख कपिलविष्णु काफ्लेले भने । 

यो आयोजना पछिल्लो १३ वर्षदेखि कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयअन्तर्गत निर्माण हुँदै आएको थियो । तर, त्यतिवेला निर्माण कार्यले गति लिन सकेन । 

लोकपथको कुल लम्बाइ ९० किमि थियो । सडकको चौडाइ सुरुमा ५.५ मिटर तय भएको थियो । तर, पछि ८.५ मिटर निर्धारण गरिएको छ । लोकपथको ५१ किमि भाग मकवानपुरमा र बाँकी ३९ किमि खण्ड ललितपुरमा पर्छ । मकवानपुरको चौघडा–चुनडाँडा–मकवानपुरगढी–जितपुर–ठिंगना–बागमती हुँदै लोकपथ ललितपुरको बगुवा–कल्चेभिर–छपेली–झाँक्रीडाँडा–तिनपाने भञ्ज्याङ–टीकाभैरव हुँदै सातदोबाटोमा जोडिन्छ ।

अहिलेसम्म आयोजनाको ८० प्रतिशत मात्रै भौतिक प्रगति छ । १५ किलोमिटरबाहेकको खण्ड कालोपत्रे गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने आयोजनाले जनाएको छ । तर, लामो समयदेखि आयोजनाले पटक–पटक म्याद सार्दै आएको छ । 

निर्माण भएको सडकका विभिन्न खण्ड पनि बर्खाको बाढीपहिरोले क्षतविक्षत हुने गरेका छन् । कहीँ सडक धस्सिएको छ भने कतै पहिरोले बगाएको छ । कुनै ठाउँ पहिरोका कारण सडक पुरिएको छ । तर, सार्वजनिक यातायातका साधन चलेका छैनन् । 

आयोजनाका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्छ । सडक विभागले टेन्डर निकाल्छ । तर, डोजर लिएर ठेकेदारले उही ढिस्कोलाई कहिले यता पन्छाउँछन् त कहिले उता । दशकौँदेखि चल्दै आएको यो प्रक्रियाले सीमित ठेकेदारको मुहारमा त पटक–पटक कान्ति ल्याएको छ । तर, सडकको अवस्था जस्ताको तस्तै छ । 

कान्ति लोकपथ निर्माण भए हेटौँडा–काठमाडौं दूरी एक सय ३२ किमि छोटिन्छ । अहिले मुख्यतया सञ्चालनमा रहेको हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको लम्बाइ दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भए ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवैको बचत हुन्छ । 

सरकारको प्राथमिकतामा परेको भए कान्ति लोकपथलाई नै ‘फास्ट ट्रयाक’का रूपमा विकास गर्न सकिने अवस्था पनि थियो । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढ जोड्नुपर्ने हुन्थ्यो । ललितपुरको सातदोबाटोदेखि निजगढसम्म यो रुटको दूरी ८० किमि मात्रै हुन्छ । तर, ६४ वर्ष पुरानो लोकपथलाई उपेक्षा गरेर सरकारले फास्ट ट्र्याकमा मात्र अन्धाधुन्ध पैसा खन्याइरहेको छ । ९० किलोमिटर लामो कान्ति लोकपथको समानान्तर ७२.५ किलोमिटर फास्ट ट्रयाक निर्माण भइरहेको छ । तर, कुनै पनि सडकको निर्माण फास्ट ट्रयाकमा छैन । 

राज्यले नै प्राथमिकतामा नराखेका कारण राजा महेन्द्रले ६ दशकअघि नै जिप कुदाएको कान्ति लोकपथमा अहिले दूध बोक्ने एक–दुईवटा ट्रक र फाट्टफुट्ट मिनिबस मात्रै चलेको देखिन्छ । सरकारको प्राथमिकतामै नपरेर आयोजनाको यस्तो दुर्गति भएको आयोजनाका पूर्वप्रमुख काफ्लेको भनाइ छ । ‘राजा महेन्द्रले उतिवेलै जिपबाट सकुशल पार गरेका थिए कान्ति लोकपथ । अहिले त्यही सडकमा एक–दुईवटा ट्रक घस्रिएको देख्न पाउँछौँ । कान्तिभन्दा पछि बनेका सडक सञ्चालनमा आएर पनि पुराना भइसके,’ उनी भन्छन्, ‘सरकारको प्राथमिकतामै नपरेर यस्तो भएको हो ।’ 

भट्टेडाँडा खण्डको सडक हरेक वर्ष पहिरोले बगाउँछ, हिउँदमा डोजरले पहिरो हटाउँछ । त्यसैको ट्र्याक पहिल्याउँदै दूध बोक्ने ट्रक र मिनिबस भिरमा घिस्रन्छन् । ‘चक्का मात्रै अडिने सडक छ । माथि पनि भिर, तल झन् ठूलो भिर । एउटा चक्का मात्रै तलमाथि भयो भने बाँच्ने आस कसैको हुन्न । यो भिरमा गाडी हिँड्यो कि आङै सिरिंग हुन्छ । तर, हामीसँग रमिता हेर्नेबाहेक अरू उपाय पनि छैन,’ बागमती– ३ छपालीकी ६५ वर्षीया देवकुमारी दाहालले भनिन् । 

देवकुमारीका बुबाले लोकपथ निर्माणका लागि उहिल्यै विनामुआब्जा पाँच रोपनी जग्गा दिएका थिए । आफ्नै पालामा मोटर चढेर काठमाडौं घुम्ने सपना साँचेका थिए । शिलान्यास भएपछि जन्मिएकी उनी ६५ वर्षकी हुँदा पनि सडक पूरा भएको छैन । ‘त्यसवेला बुबाले सडकलाई पाँच रोपनी जग्गा दिनुभएको रहेछ । मुआब्जा लिनुभएन । सडक बनेपछि मोटर चढेरै काठमाडौं घुम्ने उहाँको सपना थियो,’ कान्ति लोकपथलाई आफ्नो दौँतरी ठान्ने देवकुमारीले व्यंग्य गर्दै भनिन्, ‘सडक बनाउन सुरु हुने सालमै म जन्मेको हुँ रे । म बुढी भएँ । मेरा छोरा–नाति पनि भए । तर, खै बस चल्न सकेनन् ।’

सधैँ पहिरो गइरहने अर्को ठाउँ हो पाङ्दुरजेल डाँडा । सडक यहाँको पनि भद्रगोल छ । माथि हेर्दा डरलाग्दो भिर । तल उस्तै कहालीलाग्दो ढाँड । प्रत्येक बर्खामा यहाँको पनि सडक पहिरोसँगै बग्छ । आवागमन ठप्प हुन्छ । पशुपालनमा आश्रित बागमती गाउँपालिकाका कृषकले उत्पादन गरेको दूध खोल्सामा बगाउनुपर्छ । जब कि काठमाडौंमा दूध बिक्री गरेर नै उनीहरूले गुजारा गर्ने गरेका छन् । ‘बर्खामा सडक पहिरोले बगाउँछ । दुई महिनाजति गाडी नै बन्द हुन्छ । त्यस्तो वेला किसान ठूलो मारमा पर्छन्,’ बागमती– ३ छपेलीकी ४२ वर्षीया सरस्वती दाहालले भनिन् । 

तीन वर्षअघि पाङ्दुरजेलमा खसेको भिरले मिनीट्रक थिच्यो, १२ जना मारिए । आँखैअगाडि त्यो दुर्घटना देखेका बागमती– २ माल्टाका ७० वर्षीय वीरबहादुर थिङ भन्छन्, ‘हेर्दाहेर्दै भिर खस्यो । तल गाडी हिँड्दै थियो । चिरिप्पै थिची त गयो । त्यसवेला १२ जनाको एकै चिहान भयो । मर्नेहरू सबै हाम्रै दाजुभाइ थिए बरा ।’ सानातिना दुर्घटनाको त गन्ती नै छैन । तर, विकल्प पनि छैन स्थानीयसँग ।

६४ वर्षमा ८० प्रतिशत मात्रै भौतिक प्रगति 
०१६ मा ट्रयाक खनिए पनि ०६५ सम्म सडक निर्माण लगभग ठप्प नै रह्यो । केही ठाउँमा ट्रयाक सुधारका काम भने भए । लोकपथलाई सडक डिभिजनबाट झिकेर छुट्टै आयोजनाअन्तर्गत राखिएपछि निर्माण कार्यले केही गति लियो ।

कान्ति लोकपथ आयोजनाका प्रमुख ज्ञानेन्द्र झाले ६४ वर्षमा ८० प्रतिशत मात्रै भौतिक प्रगति भएको बताए । ‘कान्ति लोकपथ निर्माण ०१३ मै सुरु भएको देखिन्छ । ट्रयाक खोल्ने काम सेनाले ०१६ मै सक्यो । तर, त्यसपछि निर्माण कार्यले गति लिएन । आयोजनाको प्रगति बल्ल ८० प्रतिशत पुगेको छ,’ उनले भने । 

कोरियन कम्पनीले सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो । अन्य कम्पनीबाट पनि अध्ययन भए । त्यहीअनुसार लोकपथ निर्माण हुन थालेको हो । 

आयोजनाका तत्कालीन प्रमुख काफ्ले भन्छन्, ‘इन्जिनियरिङमै डिफेक्ट पो भयो कि, जसले त्यस क्षेत्रको माटो अध्ययन नै गर्न जानेन । एकातर्फ बन्दै जाने अर्कोतर्फ भत्किँदै जाने कारण त्यही पो हो कि भन्ने पनि लाग्छ मलाई ।’

कान्ति लोकपथ आयोजनाका इन्जिनियर दीपेश रजक पनि काफ्लेको तर्कमा सहमति जनाउँछन् । लोकपथले लामो अवधिसम्म पूर्णता नपाउनुमा अवैज्ञानिक अलाइन्मेन्ट भएको उनको भनाइ छ । ‘चापागाउँ र सुनाकोठी पुरानो बस्ती हो । ६४ वर्षअघि पनि त्यस ठाउँमा बस्ती नै थियो । तर, सडकको अलाइन्मेन्ट बस्ती बीचबाट बनाइयो,’ उनले भने, ‘खासमा इन्जिनियरिङ नै गलत थियो त्यो । बस्ती छलेर सडकको अलाइन्मेन्ट बनाइएको भए लोकपथ उहिल्यै बनिसक्थ्यो ।’

लोकपथको पुरानो अलाइन्मेन्ट मकवानपुरको बुद्धचोक–हटिया–मकवानपुर गढी–ठिंगन हुँदै ललितपुरको ढेद्रेखोला–काल्चे–तिनपाने–नल्लु–टीकाभैरव–चापागाउँ–सातदोबाटो हो । लोकपथ टीकाभैरवस्थित नक्खुखोला पुलको मुखसम्म आइपुगेको छ । करिब आठ सय मिटर मात्रै सडक निर्माण गर्ने हो भने चापागाउँबाट लेले जाने सडकमा जोडिन्छ । तर, यो काम वर्षौँ बित्दा पनि हुन सकेन । यही कारण अधिकांश निर्माण कार्य हुँदा पनि लोकपथ सञ्चालनमा आउन सकेन । 

चालू आवमा सक्ने आयोजनाको लक्ष्य 
आयोजनाका अनुसार ललितपुरको छपेली आसपाससहितको गरेर पाँच किलोमिटर खण्ड कालोपत्रे गरिनेछैन । विशेषगरी ललितपुर खण्डको भूभाग कमेरे माटो  र अस्थिर भएकाले अत्यन्तै कमजोर छ ।  प्रत्येक वर्ष बर्खामा पहिरो गइरहन्छ । कालोपत्रे गरिए पनि यो खण्डमा टिक्दैन । ८६ किमि सडकको कुल लम्बाइमध्ये ५१ किमि ललितपुर र २८ किमि मकवानपुरमा पर्छ ।  मकवानपुरतर्फको सडक लगभग बनिसकेको छ । 

महेन्द्रका पालाको शिलालेख 

सडक निर्माणका लागि सेनाको नेतृत्वमा ०१३ सालमा ट्र्याक खन्न सुरु गरिएको  थियो । यो काम ०१६ मा सकियो । त्यतिवेलै ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्म जिपमा आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख ठिंगन खण्डको सडकको भित्तामा अहिले पनि देखिन्छ । 

सुझावित समाचार