मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ चैत २६ बिहीबार ०८:०६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार पुनर्बिमा कम्पनी आउने तयारी

काठमाडौं री इन्स्योरेन्स, जेन्युन री इन्स्योरेन्स, अन्नपूर्ण री र प्रुडेन्सियल री इन्स्योरेन्सको नामबाट पुनर्बिमा कम्पनी ल्याउन विभिन्न समूह जुट्दै

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ चैत २६ बिहीबार ०८:०६:००

बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी आउन सक्ने संकेत दिएपछि चार समूहले अलग–अलग पुनर्बिमा कम्पनी ल्याउने तयारी थालेका छन् । केहीले बिमा समितिमा सञ्चालन अनुमति माग्दै आवेदन दिइसकेका छन् भने केहीले खाका तयारी गरिरहेका छन् । काठमाडौं री इन्स्योरेन्स, जेन्युन री इन्स्योरेन्स, अन्नपूर्ण री र प्रुडेन्सियल री इन्स्योरेन्सको नामबाट पुनर्बिमा कम्पनी ल्याउने तयारीमा विभिन्न समूह जुटेका हुन् । 

बिमाविज्ञका रूपमा परिचित रवीन्द्र घिमिरे, बिमा समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की, केबी बस्नेत, मुकुन्द पराजुलीलगायतले जेन्युन री इन्स्योरेन्सको नाममा बिमा समितिमा दर्ता गराएका छन् । २० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी १० अर्बको हुनेछ । ‘हामीले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने गरी कम्पनी ल्याउने योजना बनाएका हौँ,’ कार्कीले भने, ‘हामी धेरैभन्दा धेरै साना लगानीकर्ता समेटेर सबैको पुनर्बिमा कम्पनी बनाउने प्रयासमा छौँ ।’ 

कम्पनीले संस्थापक सेयरधनीका रूपमा सहभागिता जनाउनेले २५ लाख लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । चुक्ता पुँजीको ३० प्रतिशत संस्थाहरूबाट र ४० प्रतिशत व्यक्तिगत संस्थापकहरूबाट लगानी जुटाइनेछ । कम्पनीमा लगानी गर्न लक्ष्मी बैंक, हिमालयन बैंक, मेगा बैंकलगायतबाट प्रतिबद्धता आएको कार्कीले जानकारी दिए । त्यस्तै, पूर्वबैंकर देवेन्द्रप्रताप शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलगायतको पहलमा काठमाडौं री इन्स्योरेन्स ल्याउने तयारी भइरहेको छ । 

२० अर्ब अधिकृत पुँजी र ७ अर्ब चुक्ता पुँजी हुने कम्पनीको जारी पुँजी १० अर्ब हुने गरी तयारी भइरहेको छ । ४० प्रतिशत संस्थापक, ३० प्रतिशत व्यक्तिगत संस्थापकको लगानी हुने कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत छुट्याउने तयारी छ । संस्थापकमध्येका एक शाहले बिमा समितिमा कम्पनी दर्ता गरिएको जानकारी दिए । 

विशाल ग्रुप, आइएमई ग्रुपलगायतको लगानीमा प्रुडेन्सियल री इन्स्योरेन्स कम्पनी सञ्चालनमा आउने तयारीमा छ । २० अर्ब अधिकृत पुँजी र १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीले पनि ३० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको आइएमई समूह स्रोतले जानकारी दियो । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले समेत कम्पनीमा करिब १५ करोड लगानी गर्ने प्रस्ताव गरेको छ । 

पुनर्बिमा कम्पनी बिमा कम्पनीले गरेको बिमाको पनि बिमा गरिदिने कम्पनी हुन् । बिमा कम्पनीहरूले आफूले लिएको जोखिमको केही हिस्सा यस्ता कम्पनीहरूलाई हस्तान्तरण गर्छन् र आफूले थेग्न सक्ने जोखिम मात्रै आफूले लिन्छन् । यसो गर्दा कुनै बिमा दाबी पर्‍यो भने त्यसमा यी दुवै कम्पनीले पहिल्यै बाँडफाँड गरेअनुसारको दायित्व भुक्तानी गर्छन् । यसले बिमा कम्पनीको जोखिम कम हुने गर्छ । नेपालमा अहिले एउटा मात्रै पुनर्बिमा कम्पनी छ, जसमा सरकार तथा बिमा कम्पनीहरूको सेयर छ ।

वीरेन्द्र महतोसहित खेतान समूह, सारडा समूहलगायतको लगानीमा अन्नपूर्ण री इन्स्योरेन्स पनि सञ्चालनमा आउने तयारीमा छ । १५ अर्ब अधिकृत पुँजी र १० अर्ब चुक्ता पुँजी रहने गरी काम भइरहेको कम्पनीले हालसम्म समितिमा आवेदन दर्ता गरेको छैन । ‘करिब १५ देखि २० दिनमा कम्पनीबारे धेरै कुरा निश्चित हुनेछ,’ कम्पनीको प्रबन्धपत्र बनाउन र कानुनी प्रक्रिया हेरिरहेका अधिवक्ता भानुभक्त पोखरेलले भने, ‘धेरैजसोको प्रतिबद्धता आए पनि केहीको बाँकी रहेकाले केही समय लाग्ने भएको हो ।’

संस्थापकहरूबाट ७ अर्ब ५० करोड र सर्वसाधारणबाट २ अर्ब ५० करोड लगानी संरचना रहने गरी कम्पनीको मोडल बनाइएको पोखरेलले जानकारी दिए । पुनर्बिमा कम्पनीका लागि विभिन्न समूह तयारीमा लागेको देखिए पनि बिमा समिति भने सकारात्मक देखिएको छैन । ‘हाम्रो जस्तो सानो मुलुकमा एउटाभन्दा बढी पुनर्बिमा कम्पनी हुँदैन,’ बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘म आउनुअगाडि नै यो प्रक्रियामा जाने तयारी भएको रहेछ, सञ्चालक समितिको बैठकको निर्णयअनुसार अगाडि बढ्नेछु ।’ 

हालै बिमा समितिले थप पुनर्बिमा कम्पनीहरूको आवश्यकताको विषयमा अध्ययन गराएको छ । हालसम्म सार्वजनिक नभएको सो प्रतिवेदन सञ्चालक समितिमा छलफल हुन बाँकी रहेको सिलवालले बताए । हाल मुलुकमा एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छ । नेपाल पुनर्बिमा कम्पनीको नामबाट यो सञ्चालनमा छ ।