१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ चैत २५ बुधबार ०७:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा सेजका ६ उद्योगको अनुमति खारेज गरिने

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ चैत २५ बुधबार ०७:२८:००

सम्झौताअनुसार भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना र सञ्चालन नगर्ने आठमध्ये दुई कम्पनीले मात्रै स्पष्टीकरण दिए, ६ उद्योग सम्पर्कमै आएनन्

भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज) मा उद्योग खोल्न अनुमति लिएका ६ वटा कम्पनी सम्पर्कविहीन भएका छन् । कानुन तथा सम्झौताअनुसार तोकिएको समयमा उद्योग स्थापना तथा सञ्चालन गर्न नसकेका ८ मध्ये ६ कम्पनी सम्पर्कविहीन भएका हुन् । 

विशेष आर्थिक क्षेत्र प्राधिकरणबाट उद्योग स्थापना तथा सञ्चालनका लागि २०७५ अनुमति लिएका कम्पनीहरूले तीन वर्ष पुग्नै लाग्दासमेत सम्झौताअनुसार काम गर्न सकेका छैनन् । सेज प्राधिकरणले कानुन र सम्झौताअनुसार समयमै उद्योग स्थापना तथा सञ्चालन गर्न नसकेको भन्दै ८ कम्पनीसँग अनुमति खारेज गर्ने चेतावनीसहित २६ फागुनमा स्पष्टीकरण माग गरेको थियो । ८ मध्ये दुई कम्पनीले मात्रै स्पष्टीकरण बुझाएको सेजका एक अधिकारीले बताए । सम्पर्कमा नआएका ६ कम्पनीको अनुमतिपत्र खारेज गरिने उनले बताए । 

प्राधिकरणले अरिहन्त एग्रो प्रोसेसिङ प्रालि, नेसनल अर्गानिक्स, कुराकानी अनलाइन प्रालि, आइडिएस इलेक्ट्रिकल्स प्रालि, जयबुद्ध मेटल क्राफ्ट प्रालि, निर इन्डस्ट्रिज प्रालि, एस प्लास्टिक्स प्रालि र शक्ति मिनिरल्स प्रालिलाई अनुमति खारेज गर्ने चेतावनीसहित स्पष्टीकरण माग गरेको थियो । तर, शक्ति मिनिरल्स प्रालि र कुराकानी अनलाइन प्रालिले मात्रै स्पष्टीकरण बुझाएका हुन् । 

प्राधिकरणले सम्झौता अवधिभित्र उद्योग दर्ता तथा सञ्चालन नगरेको, भू–बहाल र अन्य रकम नबुझाएकोलगायतका दायित्व पूरा नगरेका भन्दै अघिल्लो महिना ८ उद्योगको दर्ता खारेजीको प्रक्रिया अघि बढाएको थियो । ती ८ उद्योगले कुल २१ प्लटमा उद्योग स्थापनाका लागि अनुमति लिएका थिए । ‘कुनै काम नगरेपछि ८ वटै उद्योगको अनुमति खारेजी गर्ने गरी प्रक्रिया अघि बढाएका थियौँ, त्यसैअनुरूप सूचना निकालेरै अन्तिम मौकाकस्वरूप स्पष्टीकरण माग गरेका थियौँ,’ प्राधिकरण स्रोतले भन्यो, ‘तर, दुई उद्योगले मात्रै स्पष्टीकरण बुझाएका छन् । स्प्ष्टीकरण बुझाउने उद्योगका हकमा थप अध्ययन र छलफल गर्न आवश्यक छ, बाँकी ६ वटाको भने अनुमतिपत्र रद्द गर्ने निश्चित भइसकेको छ ।’ सेज प्राधिकरण सञ्चालक समितिको आगामी बैठकमा ६ वटा उद्योगको अनुमतिपत्र रद्द गरिने गरी प्रस्ताव तयार पारिएको स्रोतले जानकारी गराएको छ । 

‘एग्रो प्रोसेसिङ, नेसनल अर्गानिक्स, आइडिएस इलेक्ट्रिकल्स, जयबुद्ध मेटल, निर इन्डस्ट्रिज र एस प्लास्टिक्सका सञ्चालक तथा प्रतिनिधि कोही पनि सम्पर्कमा आएका छैनन्,’ स्रोतले भन्यो, ‘उद्योगहरूको नाममा लिखित तथा मौखिक ताकेता गर्दा पनि कुनै प्रतिक्रिया नआएको तथा स्पष्टीकरणसमेत प्राप्त नभएकाले अब ती उद्योगको अनुमति रद्द गरिने पक्का भएको छ ।’

अर्थ र उद्योगमन्त्रीको चासो 
उद्घाटन भएको लामो समयसम्म समेत भैरहवा सेजमा उद्योग नआएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चासो देखाएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा मन्त्रीद्वयले सेजमा उद्योग आउने वातावराण बनाउन कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । ‘भैरहवा सेज चलाउन जस्तोसुकै नीतिगत निर्णय पनि गर्न आफूहरू तयार रहेको मन्त्रीहरूले बताउनुभयो,’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘निर्णय तथा आवश्यक नीतिगत पहलका लागि प्रस्ताव ल्याउन मातहतका कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ ।’

भैरहवा सेज उद्घाटन भएको पाँच वर्ष बितिसक्यो । तर, त्यहाँ ४ वटा उद्योग मात्रै सञ्चालनमा आएका छन् । एउटा उद्योगले हालै मात्र परीक्षण सुरु गरेको छ । एकतिहाइ प्लट खाली छन् भने उद्योगीले लिएका प्लटमा समेत उद्योग चल्न सकेको छैन । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले निर्माण सम्पन्न भएको भन्दै २ मंसिर ०७२ मा भैरहवा सेजको उद्घाटन गरेका थिए । उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि भैरहवाका ६७ प्लटमध्ये ४१ प्लट खाली छन् ।