मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २३ सोमबार १०:०९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

अध्ययन भन्छ– भाइरसको भेरियन्टले मुसामा पनि संक्रमण गराउन सक्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २३ सोमबार १०:०९:००

कोरोना भाइरस संक्रमण मानिस, माउसुली, बाँदर, बिरालोलगायतमा हुने यसअघिका अध्ययनहरूले देखाएका थिए । तर, पछिल्लो एक अध्ययनले यो भाइरसले मुसामा पनि संक्रमण गराउन सक्ने उल्लेख गरेको छ । 

मुसामा संक्रमण हुँदा मानिसमा भने खासै असर पर्दैन । खासगरी अत्यधिक मुसा हुने स्थानमा पनि मुसाबाट मानिसमा संक्रमण हुने सम्भावना नरहेको उक्त अध्ययनले जनाएको छ । तर, भाइरसको नयाँ भेरियन्टको गुण अन्य जीवमा पनि फैलन सक्ने विषयले भने चिन्ता उब्जाएको छ । 

भाइरसहरू म्युटेड भएर निकै परिवर्तन भइरहेका छन् । विज्ञहरूले तीव्र म्युटेसनलाई ‘दुर्भाग्यवश’को संज्ञा दिएका छन् । छोटो समयमै भाइरस विभिन्न प्रजातिमा विभाजन हुनु र नयाँ भाइरस झन् संक्रामक हुनुले महामारीको जोखिम लामो समयसम्म कायम रहने संकेत गरेको उनीहरूको भनाइ छ ।

अध्ययनअनुसार सुरुमा चीनमा देखिएको कोभिड–१९ भाइरस र युरोपमा फैलिएको बि११७ ले मुसामा संक्रमण गर्न सक्दैन । जनावरमा कोरोना भाइरस संक्रमणबारे अध्ययन गरिरहेको पेरिसको पास्चर इन्स्टिच्युटका अनुसार पछिल्लो समय अफ्रिकामा देखिएको बि१.३५१ र पि१ ले भने मानिससँगै अन्य जनावरमा पनि तीव्र रूपमा संक्रमण गराउन सक्छ ।

मुसामा पनि संक्रमण देखिने अध्ययनले पुष्टि गरेपछि थप अनुसन्धान सुरु भएको छ । महामारीको रूप लिएका पुराना भाइरसभन्दा नयाँ भाइरसहरूले मुसाबाट मानिसमा र मानिसबाट मुसामा सर्न सक्ने जोखिममाथि अध्ययन गरिरहेको विज्ञहरूले बताएका छन् । खासगरी, जंगलमा रहने अर्थात् मानिसको प्रत्यक्ष सम्पर्कमा नरहने मुसामा संक्रमण नदेखिएकाले मानिसबाट मुसामा संक्रमण सर्न सक्ने अनुमान गरिएको हो ।

अनुसन्धानकर्ताहरूले मानिससँगै अन्य जनावरमा देखिइरहेका नयाँ भेरियन्टमाथि नियमित मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् । कोभिड भाइरस माउसुली वा चमेरोबाट आएको अनुमान गरिएको थियो । योसँगै अन्य जनावरमा पनि सोही संक्रमण देखिनुले जोखिमयुक्त हुन सक्छ । जनावरबाट नियमित मानिसमा संक्रमण हुन सक्ने हुँदा नयाँ देखिएका भाइरसहरूलाई बेवास्ता नगर्न सुझाब दिइएको छ । 

भाइरस संक्रमण बढ्दै गएपछि संक्रमित जनावरको प्रजाति नै विनाश हुने आशंका गरिएको छ । योसँगै फरक प्रकृतिका जनावरमा संक्रमण फैलिँदा हुने म्युटेसनले हानिकारक नयाँ भेरियन्ट उत्पादन हुने जोखिमसमेत बढाउँछ । जुन हाल डिजाइन गरिएका खोपले धान्न सक्दैन । 

हालसम्मको अध्ययनअनुसार माउसुलीको प्रजातिले मात्र मानिसमा कोभिड संक्रमण गराउन सक्छ । नोभेम्बरको सुरुवातमा डेनमार्कले संक्रमण फैलिनबाट जोगाउन खेतमा रहेका १७ मिलियन माउसुली मारेको थियो ।  

एजेन्सीको सहयोगमा