मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
परवानीपुर गाउँपालिका–१ स्थित बुनियाद–नितनपुर सडक किनारमा ६ विपन्न परिवारका टहरा । यहाँ बस्ने चारजनाविरुद्ध करिब ५० करोड कर छलीको मुद्दा चलेको छ
नवराज मैनाली काठमाडाैं
२०७७ चैत २३ सोमबार ०६:४३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२८ करोड कर छलीको अभियोगमा बाराका सुकुम्बासी उमाशंकर नख्खु कारागारमा

Read Time : > 4 मिनेट
२०७७ चैत २३ सोमबार ०६:४३:००

नयाँ पत्रिका फलोअप : विपन्न दलित बस्ती कर छली गर्ने गिरोहको जालोमा

बाराको परवानीपुर गाउँपालिका-१ अन्तर्गतकाे बुनियाद-नितनपुर सडक किनारका टहरामा बस्ने ६ विपन्न परिवार अहिले राज्यको त्रासमा बाँचिरहेका छन् । राजस्व छली गर्ने गिरोहले उनीहरूका कागजपत्र दुरुपयोग गर्दै कम्पनी खडा गरेर करोडौँ कर छली गरेको छ । तर, राज्यको नजरमा दैनिक मजदुरी गरेर पेट पालिरहेका निमुखा दोषी बनेका छन् । 

सडक किनारको टहरोमा बस्ने उमाशंकर राय भर अपांगता भएका व्यक्ति हुन् । एउटा आँखा देख्दैनन् । ठगी गर्ने गिरोहले उनका नाममा ब्लु क्रस ट्रेडर्स र जेन सप्लायर्स नामका दुई कम्पनी दर्ता गरेर कर छली गरेको छ । दुवै कम्पनीको गरेर २७ करोड ९० लाख ५१ हजार पाँच सय ५२ रुपैयाँ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

अदालतको पत्र आएपछि स्थानीय वकिलको सल्लाहअनुसार काका रूपनारायण राय भरसँगै उमाशंकर कुरा बुझ्न काठमाडौंस्थित राजस्व कार्यालय गएका थिए । तर, उनलाई त्यहीँबाट पक्राउ गरेर नख्खु कारागार चलान गरियो । अहिले पनि उनी कारागारमै छन् । ‘हामी गरिबलाई फसाइयो, भतिजालाई लिएर बुझ्न गएको थिएँ, उसलाई उतैबाट समातेर जेल हाल्यो,’ रूपनारायणले भने, ‘गरिबको कोही भएन ।’ 

ठगी गिरोहका सदस्यले उमाशंकरलाई जागिर लगाइदिने आश्वासन दिएर केही वर्षअघि काठमाडौं लगेका थिए । उनलाई काठमाडौंको सुन्धारास्थित होटेलमा चार–पाँच दिन राखियो । नागरिकता मागे, केही कागजपत्रमा हस्ताक्षर गराए । र, एक हजार पाँच सय गाडीभाडा दिएर ‘पछि खबर गर्छु’ भन्दै घर पठाए । अदालतको पत्र आएपछि मात्रै उमाशंकरले आफूलाई फसाइएको पत्तो पाए ।

यही बस्तीको अन्तिममा छ रामबाबु सहनीको टहरो । उनको नाममा दर्ता गरिएका तीनवटा कम्पनीले करोडौँ राजस्व छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । जेनतेन परिवार पालिरहेका रामबाबुलाई आफ्नो नाममा कम्पनी छन् भन्नेसमेत थाहा थिएन । अदालतको पत्र आएपछि मात्रै उनले त्यसको जानकारी पाए, अहिले त राज्यको नजरमा उनी फरार अभियुक्त बनेका छन् । 

ठगी गिरोहले रामबाबुका नाममा इन्टरसिटी इन्टरनेसनल, मिनजा इन्टरनेसनल प्रालि र आरबिएस ट्रेड एन्ड सप्लायर्स गरी तीनवटा कम्पनी दर्ता गररेको थियो । इन्टरसिटीविरुद्ध ६ करोड २६ लाख २१ हजार चार सय ६१ रुपैयाँ कर छली गरेको मुद्दा दायर भएको छ । ‘मेरो नाममा तीनवटा कम्पनी दर्ता गरिएको रहेछ भन्ने थाहा पाएँ । इन्टरसिटी भन्ने कम्पनीबाट मात्रै सवा ६ करोडभन्दा बढी तिर्नुपर्ने रहेछ । अरू दुई कम्पनीको अझै कति तिर्नुपर्ने बनाएका छन् थाहा छैन,’ उनले भने, ‘मजदुरी गरेर बालबच्चा पालिरहेको मैले केही गलत काम गरेको छैन । मलाई न्याय दिलाइदिनुस् ।’

बस्तीकै सुरेन्द्र सहनीको नाममा एसबिके इन्टरनेसनल नामको कम्पनी पनि दर्ता गरिएको छ । तर, उनी रोजगारीका क्रममा जिल्लाबाहिर रहेकाले आफ्नो नाममा कम्पनी बनाइएको थाहा पाएका छैनन् । 

१४ करोड ३३ लाख कर छली मुद्दाको टुंगो नलाग्दै आयो अर्का दुई कम्पनीको राजस्व छली गरेको पत्र
दैनिक मजदुरी गरेर परिवार पालिरहेका रामसुन्दर राय भर केही वर्षअघि सुन्दर सपनासहित काठमाडौं गएका थिए । छिमेकी उमाशंकर सहनीले उनलाई जागिर लगाइदिने आश्वासन दिँदै काठमाडौंं लगेका थिए । नागरिकता माग्दै उमाशंकरले उनलाई केही कागजपत्रमा हस्ताक्षर गराएका थिए । त्यसको दुरुपयोग गर्दै कम्पनी खडा गरेर राजस्व छली गरिएको उनले अहिले आएर थाहा पाए । 

उनको नाममा स्विफ्ट इन्टरनेसनल कम्पनी दर्ता गरिएको छ, जसले १४ करोड ३३ लाख ७६ हजार ७९ कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । अदालतको पत्र आएपछि त्यस विषयमा बुझ्न रामसुन्दर काठमाडौंस्थित राजस्व विभाग पुगेका थिए । तर, फरार सूचीमा रहेका उनलाई पक्राउ गरेर नख्खु जेल पठाइयो । ऋण काढेर एक लाख धरौटी बुझाएर उनी रिहा त भएका छन्,तर मुद्दा छिनोफानो भएको छैन । अहिले पनि तारेख धाइरहेका छन् । 

पहिलो मुद्दाको किराना नलाग्दै उनकै नाममा रहेका अर्का दुई कम्पनीले पनि कर छली गरेको पत्र रामसुन्दरको घरमा आएको छ । फेरि पक्राउ पर्ने त्रासले उनले अघिल्लो मुद्दाको तारेखमा पनि गएका छैनन् । ‘पहिलो मुद्दाको तारेखमा जाउँ भने फेरि पक्रेर थुनिहाल्छन् कि भन्ने डर लागेको छ । त्यसैले गएको छैन,’ रामसुन्दरले भने । पढे–लेखेको नहुँदा उनले पछिल्ला दुई कम्पनीको नामसमेत भन्न सकेनन् । आफूलाई आएको पत्र र अन्य कागजात वकिलसँगै रहेको उनले बताए । ‘मैले केही बदमासी गरेको छैन, कसैको केही बिगारेको पनि छैन । किन फसाइयो त्यो पनि थाहा छैन,’ रामसुन्दरले भने । 

गाउँका साथीभाइहरूको नाममा धमाधम पत्र आएपछि बस्तीकै जितेन्द्र कुमारले काठमाडौंस्थित राजस्व विभाग पुगेर बुझेका थिए । उनका नाममा पनि म्याग्ना इन्टरनेसनल प्रालि र निन्जा इन्टरप्राइजेज गरी दुई कम्पनी दर्ता गरिएको देखिए । वकिलको सल्लाहअनुसार कम्पनी आफ्नो नभएको भन्दै कारोबार बन्द गराइदिन निवेदन दिएर फर्किए । ‘अहिलेसम्म पत्र भने आएको छैन, तर कुन दिन आउँछ थाहा छैन । हामी गरिबलाई झन् पीडामाथि पीडा भइरहेको छ,’ उनले भने । 

 मुख्य अभियुक्त बनाइएका उमाशंकर सहनी परिवारसहित फरार
बस्तीका धेरैजनालाई स्थानीय उमाशंकर सहनीले विभिन्न आश्वासन दिएर काठमाडौं लगेका थिए । उनकै सहयोगमा कर छली गर्ने गिरोहले विपन्न नागरिकहरूको कागजपत्र दुरुपयोग गरेर कम्पनी खडा गरी करोडौँ राजस्व छली गरेको छ । 

आफूले काठमाडौं लगेका व्यक्तिहरूको नाममा अदालत र राजस्व विभागबाट धमाधम पत्र आउन थालेपछि उमाशंकर परवानीपुर गाउँपालिका– १ बस्तीबाट परिवारसहित फरार भएका छन् । उनको नाममा दर्ता गरिएका प्रोकरस इन्टरनेसनल प्रालि र आरकेएस प्रालिबाट ३४ करोड ६ लाख ५८ हजार एक सय ३१ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले उनलाई मुख्य अभियुक्तमध्येको एक बनाएको छ । ‘करिब दुई महिनाजति भयो, परिवार पनि छैन, उमाशंकर पनि छैनन्, कहाँ गयो हामीलाई केही थाहा छैन,’ उमाशंकरका छिमेकी नरेन्द्रकुमार महतोले भने ।

उमाशंकरलाई नरेन्द्र महतोले जागिर लगाइदिने आश्वासन दिएर केही वर्षअघि काठमाडौं लगेका थिए । नरेन्द्रलाई उनका फुपूका छोरा श्रीराम महतोले जागिरको आश्वासन दिएका थिए । दुवैजनालाई काठमाडौंको सुन्धारास्थित होटेलमा चार–पाँच दिन राखियो । नागरिकता मागे, केही कागजपत्रमा हस्ताक्षर गराए । र, एक हजार पाँच सय गाडीभाडा दिएर ‘पछि खबर गर्छु’ भन्दै घर पठाए । श्रीराम त्यसपछि सम्पर्कमै छैनन् । तर, राजस्वको पत्र आएपछि मात्रै उमाशंकरले आफूलाई फसाइएको पत्तो पाए ।

विपन्नका नाममा नौवटा कम्पनी बनाएर एक अर्बभन्दा बढी कर छली

राजस्व अनुसन्धान विभागले गत १४ माघमा १७ जनाविरुद्ध उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको थियो । कर छल्ने समूहका नाइके सरोजकुमार मिश्र र उमाशंकर सहनी भएको विभागको दाबी छ । उनीहरूले नौवटा नक्कली कम्पनी बनाएर एक अर्बभन्दा बढी कर छली गरेको विभागको दाबी छ । 

विभागले १० जनालाई मुख्य अभियुक्त र सातजनालाई मतियार बनाई एक अर्बभन्दा धेरै राजस्व छलीको मुद्दा दायर गरेको थियो । गिरोहका नाइकेका रूपमा मिश्र, उमाशंकर, सञ्जय भनिने जयकिशोर शाह र परमेश्वर शाहविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै, उमाशंकर राय भर, हिरालाल हजारा, वीरेन्द्रकुमार चौधरी, रामबाबु सहनी, रामसुन्दर राय भर र राजकिशोर सहनी मलाहविरुद्ध कम्पनीको सञ्चालकका रूपमा मुद्दा दायर गरिएको छ । 

कर छलीमा सघाउने गंगाप्रसाद भट्टराई, रमेश घिमिरे, दीपक निरौला, सुरेन्द्रकुमार इङनाम, टंक राउत, दीपककुमार कोइराला र तोयनाथ अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको थियो । उनीहरूमध्ये इङनाम, राउत, निरौला, कोइराला लेखापरीक्षक हुन् । 

उमाशंकर सहनी भने गिरोहका नाइकेमध्ये एक भएको विभागको दाबी छ । सरोजकुमार मिश्र र सहनी मिलेर यसरी एक अर्बभन्दा धेरै राजस्व छली गरेको विभागको अभियोगपत्रमा उल्लेख छ । 

विभागको अनुसन्धानमा सो समूहले नौ वटा कम्पनीमार्फत नक्कली बीजक जारी गरी राजस्व छली गरेको खुलेको थियो । प्रोकरस इन्टरनेसनल प्रालिविरुद्ध १४ करोड ६६ लाख ८४ हजार नौ सय सात, आरकेएस इन्टरनेसनल प्रालिविरुद्ध १९ करोड ३९ लाख ७३ हजार दुई सय २४, एसकेएम एक्टिभ ट्रेडिङ प्रालिविरुद्ध दुई करोड १८ लाख ३६ हजार नौ सय २७, राज एन्ड किशोर इन्टरनेसनलविरुद्ध १४ करोड ३१ लाख ७७ हजार आठ सय ५२ रुपैयाँबराबरको बिगो मागदाबी गरी मुद्दा दायर गरेको थियो । 

त्यस्तै, अनन्या इन्टरनेसनलविरुद्ध पाँच करोड १७ लाख ७७ हजार सात सय २६, ब्लु क्रस ट्रेडर्सविरुद्ध १५ करोड ८७ लाख सात हजार आठ सय १३, जेन सप्लायर्स प्रालिविरुद्ध १२ करोड तीन लाख ४३ हजार सात सय ३९, इन्टरसिटी इन्टरनेसनलविरुद्ध ६ करोड २६ लाख २१ हजार चार सय ६१ र स्विफ्ट इन्टरनेसनल प्रालिविरुद्ध १४ करोड ३३ लाख ७६ हजार ७९ रुपैयाँबराबरको बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।