१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
एजेन्सी ढाका
Invalid date format o९:o९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रोहिंग्या बस्तीमा भएको आगजनीको अनुसन्धान हुने

Read Time : > 1 मिनेट
एजेन्सी ढाका
नयाँ पत्रिका ढाका
Invalid date format o९:o९:oo

बंगलादेशले सोमबार रोहिंग्या शिविरमा भएको भीषण आगजनीको अनुसन्धान गर्ने भएको छ । सोमबार अबेर राति अचानक रोहिंग्या शिविरमा आगजनी भएको थियो । आगजनीमा १५ जनाको निधन तथा चार सय हराइरहेका छन् । कोक्स बजार क्षेत्रमा बनेको बालुखाली शिविरमा सानो झिल्कोबाट आगो सल्केको थियो । हेर्दाहेर्दै शिविरका सबै क्षेत्रमा आगो सल्कियो । 

अस्थायी रूपमा निर्मित शिविरमा प्लास्टिक तथा मोटो पोलिथिन सिट प्रयोग भएका छन् । अहिलेसम्म आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन । संयुक्त राष्ट्रसंघका शरणार्थी एजेन्सी प्रवक्ता लुइस डोनोवानले आगो लागेको सूचना प्राप्त भएपछि उद्धार टोली पठाइएको जानकारी दिएका छन् । 

‘तत्कालै उद्धार टोलीको कामले सम्भवतः ठूलो क्षति जोगियो,’ प्रवक्ता डोनोवानले भने, ‘अहिलेसम्म कति क्षति भएको छ, त्यसको विस्तृत जानकारी आएको छैन ।’ आगजनीका कारण ५० हजार रोहिंग्यालाई अन्यत्र सारिएको छ । आगजनीमा मृत्यु भएका दुईजनाको नाम खुलेको बंगलादेशी प्रहरीले जानकारी दिएको छ । स्थानीय फायर सर्भिसका प्रमुख साहदत होसेनले अहिलेसम्म सातजनाको मृत्यु भएको बताएका छन्, जसमा दुई बालबालिका, एक महिला तथा चार वयस्क छन् । चुरोट वा धुवाँबाट सुरु भएको आगजनीले एकछिनमै विकराल रूप लिएको प्रहरीको भनाइ छ । विभिन्न सामाजिक सञ्जालमा रोहिंग्या शिविरमा भएको आगजनीको भिडियो भाइरल बनेको छ । भिडियोअनुसार आगजनी नियन्त्रण गर्न सयौँ दमकलकर्मी खटिएका तथा स्थानीयले रोहिंग्यालाई सुरक्षित स्थानमा पुर्‍याएका थिए । 

प्रत्यक्षदर्शीहरूका अनुसार तारबार र जालीका कारण पनि धेरैजसो तत्काल भाग्न सकेनन् । मानवअधिकारवादीहरूले तारबार र जाली हटाउन आग्रह गरिरहेका छन् । मानवअधिकारवादीहरूले आगजनीमा सयौँ बालबालिका हराइरहेको बताएका छन् । कोक्स बजार क्षेत्रका इन्स्पेक्टर गाजी सलाहुदिनले ग्यास सिलिन्डर पड्किएपछि आगो तीव्र गतिमा फैलिएको बताएका छन् ।

‘सुरुमा सानो आगजनी भएको जानकारी प्राप्त भयो, पछि ग्यास सिलिन्डर पड्किएपछि आगो एक्कासि फैलियो,’ उनले भने, ‘नभए यति धेरै क्षति हुने थिएन ।’ शिविरमा आश्रित मोहमद यासिनले आगजनी नियन्त्रण लिन आठ घन्टा लागेको बताएका छन् । अचम्मको पक्ष के छ भने यो चार दिनमा यस बस्तीमा स–साना आगजनीका घटना भएका छन् । दक्षिण एसियाको एमनेस्टी क्याम्पेनर साद हमिदले स–साना आगजनी संयोग नहुन सक्ने प्रतिक्रिया दिएका छन् । 

‘रोहिंग्या शिविरमा नियमित आगजनी समाचार आइरहेका छन्, यसलाई संयोग मात्र मान्न हुन्न,’ हमिदले भने, ‘यसको अनुसन्धान हुनुपर्छ ।’ सन् २०१७ मा म्यानमारबाट भागेर एक लाखभन्दा बढी रोहिंग्या समुदाय बंगलादेशको शरणमा पुगेका थिए । संयुक्त राष्ट्रसंघले बनाएको अस्थायी शिविरमै उनीहरू चार वर्षदेखि बस्दै आइरहेका छन् । यहाँ तीन हजार दुई सय ३७ हेक्टरमा फैलिएको शिविरमा ३४ क्याम्प छन् ।