प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेजको हुने भएको छ । रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल र भारतबीच समझदारी हुने भएको छ । विस्तृत अध्ययनको काम अघि बढाउन समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्न दुवै देशका अधिकारीबीच औपचारिक मिति तय गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपककुमार भट्टराईले जानकारी दिए । समझदारीपत्रमा हस्ताक्षरपछि भारतीय पक्षले डिपिआर अध्ययनको थालनी गर्नेछ ।
हालसम्म समझदारी नहुँदा अध्ययन थाल्न कठिनाइ भएको भन्दै भारतीय पक्षले चाँडो वातावरण तयार गर्न नेपाल सरकारलाई आग्रह गर्दै आइरहेको छ । यसअघि २५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीपत्रलाई स्वीकृत गरी हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरिसकेको छ । यस निर्णयसँगै दुई देशका अधिकारीबीच हस्ताक्षर गर्ने बाटो खुलेको हो ।
भारतीय पक्षले आफ्नो सबै रेल प्रणाली ब्रोडगेजको भएकाले काठमाडाैं जोड्ने अन्तरदेशीय रेलमार्गलाई पनि सोही प्रणालीको निर्माण गर्ने अडान राखेको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली उच्च अधिकारीसमक्ष ब्रोडगेजमा बनाउने भनिसकेकाले त्यसलाई नै सदर गर्न नेपाली पक्षलाई मनाएको हो । भारतीय पक्षले ब्रोडगेजमा नै आफ्नो विशिष्टता रहेको भन्दै अघि बढाउनुपर्ने अडान राखेको थियो । दुई देशका अधिकारीहरूबीच भर्चुअल माध्यममार्फत भएको छलफलमा स्ट्यान्डर्ड गेज राख्न नेपाली पक्षले जोड दिएको थियो । अन्तिममा ब्रोडगेजमा नै रेलमार्ग निर्माण गर्ने समझदारी भएको हो ।
नेपाल सरकारले देशभित्र सञ्चालन हुने रेलमार्ग कुन गेजमा आधारित हुने स्पष्ट गरिसकेको छैन । सरकारी अधिकारी पनि आफूभन्दा माथिल्लो तहबाट निर्णय हुनुपर्ने भन्दै पन्छिने गरेका छन् । तर, भारत र चीन जोड्ने रेलमार्ग भने दुई फरक गेजमा निर्माण हुने अवस्था सिर्जना भएको छ । चीन जोड्ने रेलमार्ग स्ट्यान्डर्ड गेज र भारत जोड्ने रेलमार्ग ब्रोडगेजमा निर्माण हुने देखिएको छ । यसलाई सरकारले सघन छलफल चलाएर एउटा निष्कर्षमा पुग्नुपर्ने रेल विभागका पूर्वमहानिर्देशक अनन्त आचार्यले बताए ।
नेपाल आफैँले निर्माण गर्न लागेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पनि अझै कुन गेजमा निर्माण हुने प्रस्ट छैन । केही खण्ड ब्रोडगेजमा निर्माण गर्ने गरी डिजाइन गरेको छ । अन्य खण्डको भने कुन गेज राख्ने सरकार अझै अनिर्णीत छ । सिमरादेखि तम्सरिया (बुटवल) सम्मको खण्डमा ब्रोडगेज रहने गरी डिजाइन गरिएको छ । तर, त्यसबाहेकमा भने ब्रोड वा स्ट्यान्डर्ड जुन राखे पनि मिल्ने गरी डिजाइन गरिएको छ । त्यसबाहेक नेपाल–भारत जोड्ने ५ वटा अन्तरदेशीय रेलमार्ग पनि भारतको सहयोगमा केही निर्माणाधीन र केही भविष्यमा बनाउने योजनामा छन् । ती सबै अन्तरदेशीय रेलमार्ग ब्रोडगेजमा निर्माण हुनेछन् ।
रेलमार्गमा गेज के हो ?
रेल गुड्नका लागि दुई ट्र्याक चाहिन्छ । त्यही दुई ट्र्याकबीचको लम्बाइलाई गेज भनिन्छ । यसलाई अझ सजिलोसँग बुझ्न रेलको दायाँ र बायाँ चक्काबीचको लम्बाइ नै गेज हो । गेजले रेलको गुड्ने गतिलाई निर्धारण गर्छ । ब्रोडगेज रेलको अधिकतम गतिप्रति घन्टा २ सय किलोमिटरसम्म रहेको छ । तर, स्ट्यान्डर्ड गेजको रेलको औसत गति प्रतिघन्टा २ सय ५० किलोमिटरभन्दा माथि हुन्छ ।
नेपालले तीव्र गतिको रेल चलाउन खोजेको हो भने स्ट्यान्डर्ड गेज र स्थानीयलाई रेल सुविधा दिने तथा मालगाडी गुडाउने हो भने ब्रोडगेजमा जानुपर्ने विज्ञहरूबीच चर्को बहस छ । तर, कुन गेज नेपालका लागि उपयुक्त हो भनेर सरकारले अझै निर्णय गरिसकेको छैन । लागतको हिसाबले ब्रोडगेज सस्तो छ भने स्ट्यान्डर्ड गेज महँगो पर्छ ।
स्ट्यान्डर्ड गेजका लागि डेडिकेटेड (समर्पित) लेन चाहिन्छ, जुन ब्रोडगेजमा आवश्यक पर्दैन । नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा लगभग ७० प्रतिशत छ । त्यसअनुसार भारतमा जुन गेजमा रेलमार्ग छ, त्यही नेपालमा निर्माण गर्दा मात्र नेपालले लाभ लिन सक्ने एकथरी विज्ञहरूको भनाइ छ । अर्कोथरीले भने पुरानो प्रविधिभन्दा पनि नयाँ (स्ट्यान्डर्ड गेज) मा जानुपर्ने बताइरहेका छन् ।