१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नरैनापुरवासीलाई अवसर बन्यो ‘कोरोना’ : महामारीकै अवधिमा बिजुली, सडक, स्वास्थ्यसेवा पुग्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o३:oo

‘कहिले–कहिले कुनै ठूला संकट अवसर बनेर आउँछन् । सुगम जिल्लाको दुर्गम गाउँपालिकाको उपमा पाएको बाँकेको नरैनापुर त्यस्तै उदाहरण बनेको छ । केही अघिसम्म कोभिड १९ को महामारीले गाँजेको यो गाउँपालिकाले महामारीकै अवधिमा भौतिक पूर्वाधार निर्माणमा ठूलो फड्को मारेको छ । महामारीकै अवधिमा नरैनापुरमा बिजुलीबत्ती पुगेको छ भने सडक, चिकित्सकसहितको स्वास्थ्य सेवा र राज्यका थुप्रै सेवा सुरु भएको छ । 

‘सरकारको प्राथमिकता नपुग्दा १० महिनाअघिसम्म नरैनापुर ओझेलमा थियो । सहज भूगोल भएर पनि विद्युतीकरण नहुँदा नरैनापुरवासी अँध्यारोमा बस्न बाध्य थिए । सडक, स्वास्थ्य सेवा कमजोर थियो । त्यति मात्र होइन, यहाँ नेपाली पैसाको समेत खासै कारोबार हुँदैनथ्यो । अधिकांश स्थानीयबीच भारतीय पैसा कारोबार गर्ने बानी थियो,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले भने, ‘अहिले सपनाजस्तै भएको छ । बिजुली आयो, बाटो बन्यो, स्वास्थ्य सेवा सहज भयो । हुँदाहुँदा नेपाली पैसाको समेत कारोबार हुन थालेको छ । राज्यका अन्य अंगहरूको पनि यहाँ उपस्थिति बढेको छ ।’ 

हुलाकी सडक निर्माण
कोरोनाले ज्यान गुमाउने पहिलो व्यक्ति नरैनापुरका थिए । भारतबाट आएर नरैनापुरस्थित एक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको थियो । पूर्वाधारको चरम अभाव रहेकाले मानवीय क्षति हुन पुगेको भन्दै आलोचना भएपछि सरकारले नरैनापुरमा आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिएको थियो । फलस्वरूप कोभिड–१९ कालमै नरैनापुरले सडक पायो । 

हुलाकी सडक निर्माणको क्रममा थियो । तर, सरकारको निर्देशनपछि निर्माणले थप गति लियो र कोरोनाको उच्च जोखिममा रहेको उक्त गाउँपालिकाको अन्तिम सीमासम्म हुलाकी राजमार्ग निर्माण पूरा भयो । कोरोनाको उच्च जोखिम रहेकै वेला विद्युत् र सडक निर्माण सँगसँगै पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।

उनले कोरोना संक्रमितलाई सहज रूपमा नेपालगन्जसम्म ल्याउनुपर्ने भएकाले निर्माण कम्पनीलाई सडक निर्माण पूरा गर्न कोरोनाले दबाब सिर्जना गरेको बताए । उनले भने, ‘सडक र विद्युतीकरण आफ्नो समयमा पूरा हुने थियो, तर कोरोनाले छिटो निर्माण गर्न दबाब दियो । कोरोनाको उच्च जोखिम नभएको भए विद्युतीकरण हुन धेरै समय लाग्ने निश्चित थियो ।’

चिकित्सकसहितको १५ श्ययाको अस्पताल निर्माण
कोरोनाले बाँकेको नरैनापुर सबैभन्दा बढी प्रभावित भएको थियो । यहाँका एकजनाको मृत्यु भयो । कोरोनाले उक्त गाउँपालिकालाई थिल्थिलो बनाएपछि गाउँपालिका प्रमुख साहले अब थेग्न नसक्ने भन्दै हात उठाइसकेका थिए । उनले भनेका थिए, ‘अब योभन्दा धेरै थेग्न सकिँदैन । बाहिरबाट सहयोग नआए अगाडि बढ्न सकिँदैन ।’ त्यसपछि नरैनापुरले दीर्घकालीन फाइदा पुग्ने संरचनाहरू प्राप्त गर्‍यो ।

त्यसक्रममा नरैनापुरका बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पाएका छन् । कोरोना कहरकै बीच चिकित्सक आएर सेवा थालेपछि गाउँपालिकाले २४सै घन्टा इमर्जेन्सी सेवा सुरु गरेको छ । ‘कोरोनाको कहरसँगै बिरामी भर्ना गर्ने सुविधासहित इमर्जेन्सी सेवा सुरु गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘कोरोनाले १५ बेडको अस्पतालमा ल्याब र भिडियो एक्स–रे सेवा पनि सुरु भएको छ ।’ कोभिड–१९ को संक्रमणसँगै नरैनापुरले सर्पदंश र आँखा उपचार सेवा पनि सुरु गरेको छ । सर्पदंश उपचारका लागि लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिसहित सेवा सुरु गरेको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए । 

नेपाली रुपैयाँको कारोबार बढ्यो
कोरोनापछि नरैनापुरमा सरकारको उपस्थिति बढेको छ । कोरोनाअघिसम्म नरैनापुरवासीले नेपाली रुपैयाँको प्रयोग गर्ने गरेका थिएनन् । अहिले त्यहाँ नेपाली रुपैयाँमा कारोबार हुन थालेको छ । 

कोरोना संक्रमितहरू नेपालगन्ज र कोहलपुर आउन इन्कार गरी क्वारेन्टाइनबाट भाग्न थालेपछि सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले त्यहाँ नेपाली सेना परिचालन गरेको थियो । अहिले पनि त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँगै नेपाली सेनाको एउटा युनिट राखिएको छ । ‘सरकारी उपस्थिति शून्य हुँदा यहाँका नागरिकलाई आफू नेपालीजस्तो लाग्दैनथ्यो । सबै निकायका सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, निजामती कर्मचारीलगायतको बाक्लो उपस्थितिले हामीलाई नेपाली भएको महसुस गरायो,’ नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने, कहिल्यै नआउने सरकारी कर्मचारीको बाक्लो उपस्थितिले सिंगो नरैनापुरलाई फाइदा पुग्यो । हाम्रो लागि कोरोनाले यो पनि एउटा उपहार दियो ।’

विद्युतीकरणमा आश्चर्यजनक फड्को

नरैनापुरलाई बाँकेको कर्णाली भनेर चिनिन्थ्यो । सहज भूगोल भएर पनि नरैनापुरवासीका घरमा बिजुलीबत्ती बल्दैनथ्यो । टुकी र लाल्टिनको भरमा जीवन चलेको थियो । तर, कोरोना महामारीको अवधिमै विद्युत् उपहार पायो । कोरोनाकालमै नरैनापुरमा धामपुर शव स्टेसनबाट ११ केभिए लाइन विस्तार गरी गाउँ–गाउँमा उज्यालो पुर्‍याइएको छ । 

महामारीका सुरुवाती दिनमा यहाँ धेरै संक्रमित थिए । विद्युत् नभएका कारण नरैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज, खजुरा र कोहलपुरका आइसोलेसनमा राख्नुपर्ने बाध्यता आयो । त्यसपछि राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, सांसद, नरैनापुर गाउँपालिका अध्यक्षलगायतको सक्रियतामा रातारात विद्युतीकरण भयो । गाउँपालिका अध्यक्ष शाह भन्छन्, ‘कल्पनै नगरिएको विद्युत् १५ दिनभित्र नरैनापुरमा विस्तार भयो । महामारीले आतंक मच्चाए पनि कोरोना नरैनावासीका लागि ठूलो उपहार बनेर आयो । आर्थिक, सांस्कृतिक, सामाजिक असर गरे पनि हामीलाई लगाउनसम्मको गुन लगाएको छ ।’ 
 

ad
ad