प्रदेश १ का सांसदहरूले उदयपुर, धनकुटा र भोजपुर जिल्लाको संगमस्थल सप्तकोसी नदीमा रहेको किराँत धर्मावलम्बीहरूको सम्पदा खुवालुङलाई वैकल्पिक उपाय अपनाएर संरक्षण गर्न सुझाब दिएका छन् । ‘खुवालुङ’ (नदीको बीचमा रहेको ठूलो ढुंगा)को स्थलगत अवलोकन भ्रमणपछि सोमबार सांसदहरूले किराँत धर्मावलम्बीहरूको इतिहास र पहिचान बोकेको सम्पदा मासेर होइन, वैकल्पिक उपाय अनाएर संरक्षण गर्न सरकारलाई सुझाब दिएका हुन् ।
किराँत धर्मावलम्बीहरूको अलिखित मुन्धुममा उल्लेख भएअनुसार ‘खुवालुङ’को इतिहास ६ हजार वर्ष पुरानो छ । पूर्वीय सभ्यतासँग समेत खुवालुङ जोडिएकाले यसलाई फुटाउने वा सार्नेभन्दा पनि वैकल्पिक उपायहरूमाथि सरकार सचेत हुनुपर्ने सांसदहरूको सुझाब छ । सप्तकोसी नदीको च्यानल फर्काएर वा ‘खुवालुङ’लाई मन्दिरका रूपमा स्थापित गरेर विकास निर्माण अगाडि बढाउन सकिने उनीहरूको ठहर छ । उनीहरूले खुवालुङलाई संरक्षण गर्न सके विश्वभरका किराँतीको प्रसिद्ध धार्मिक स्थलका रूपमा चिनाउन सकिने बताएका छन् ।
‘खुवालुङ’ प्रदेश १ को उदयपुरको मैनामैनी, भोजपुरको सहिद भूमि र धनकुटाको साँगुरीगढी गाउँपालिकाको संगमस्थलमा रहेको सप्तकोसी नदीको त्रिवेणी भन्ने स्थानमा नदीको बीचमा छ । ‘खुवालुङ’ सुनसरीको सप्तकोसी तिरमा रहेका हिन्दू धर्मावलम्बीहरूको तीर्थस्थल वराहक्षेत्रदेखि करिब ५ किलोमिटर उत्तरमा छ । जहाँ उत्तरपश्चिमबाट सुनकोसी, दुधकोसी, भोटेकोसी, तामाकोसीलगायतका नदी मिसिएर बगेर आउँछन् भने उत्तरपूर्वबाट आएका अरुण र तमोर नदी मिसिएर सप्तकोसीमा परिणत हुन्छ ।
सप्तकोसी नदीमा जलयातायातलाई सहज बनाउन ‘खुवालुङ’लाई फुटाउन लागेको भनेर प्रधानमन्त्री केपी ओलीले भाषण गरेपछि किराँत अगुवाहरूले यसको विरोध गर्दै आएका छन् ।
‘खुवालुङमाथि आक्रमण भए प्रतिवाद गर्छौँ’
खुवालुङलाई जबर्जस्ती विकासको बहानामा मास्ने वा सार्ने काम गरेमा सशक्त प्रतिवाद गर्ने स्थानियवासी र संघर्ष समितिले चेतावनी दिएको छ । स्थलगत अवलोकनमा पुगेका प्रदेश सांसदहरूको टोलीसँग स्थानीयवासी र संघर्ष समितिले यस्तो चेतावनी दिएका हुन् ।
खुवालुङ संरक्षण संघर्ष समिति संयोजक बलराम राईले खुवालुङको संरक्षणका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरिरहेको पनि बताए । अनुरोधको बेवास्ता भए संघर्षमा उत्रने उनको चेतावनी छ । भोजपुर सहिदभूमि गाउँपालिका–१ का कृष्णकुमार राईले खुवालुङ किराँतीहरूको धार्मिक आस्थाको धरोहर भएकाले सरकारले संरक्षण गरेर बराहक्षेत्रजस्तै तीर्थस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । तर, बेवास्ता गर्दै खुवालुङ फोड्ने वा सार्ने कार्य भएमा धर्मयुद्धका लागि तयार भएको बताए ।