Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत ९ सोमबार ०९:०५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

चीनका ६० प्रतिशत युवामा अनिद्रा

Read Time : > 1 मिनेट
२०७७ चैत ९ सोमबार ०९:०५:००

चीनका ६० प्रतिशत युवा राति ११ बजेपछि मात्रै सुत्ने गरेको एक सर्वेक्षणले देखाएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणमा सहभागी युवामध्ये ६० प्रतिशतले राति ११ बजेपछि मात्रै सुत्न जाने गरेको बताएका छन् । २१औँ विश्व सुताइ दिवस (वल्र्ड स्लिपिङ डे)को अवसरमा चाइना युथ डेलीले प्रतिवेदन सार्वजनिक गरेको हो ।

सर्वेक्षणमा दुई हजार दुईजना सहभागी भएका थिए । उनीहरू १८ देखि ३५ वर्षसम्मका रहेको चाइना युथ डेलीले जनाएको छ । सर्वेक्षणमा सहभागी ८.५ प्रतिशतले मात्रै आठ घन्टा सुत्ने गरेको देखिएको छ । बेइजिङस्थित एउटा निजी कम्पनीमा कार्यरत २९ वर्षीय हु बोले मध्यरातभन्दा अगाडि कहिलेकाहीँ मात्रै सुत्ने गरेको बताए । 

‘हरेक दिन बेलुका ८ बजेपछि मात्रै म कार्यालयबाट घर फर्कन्छु, कहिलेकाहीँ भोकै हुन्छु, सुत्न जानुभन्दा अगाडि कम्प्युटर, ल्यापटप, मोबाइल, फोनलगायतमा भुल्ने गरेको छु, त्यसैले सुत्न ढिलो हुन्छ,’ उनले भने । कम्प्युटर र फोनपछि उनी सुत्ने तयारी गर्छन् । आधादेखि एक घन्टासम्म निदाउन समय लाग्ने हुले बताएका छन् । उनीजस्तै झन्डै ११ प्रतिशत युवाले सुतेको ३० मिनेटभन्दा अगाडि निदाउन नसक्ने उत्तर दिएका छन् । 

सुताइको गुणस्तर र सन्तुष्टिका बारेमा सोधिएको प्रश्नमा झन्डै आधा युवा सन्तोषजनक देखिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ४६ प्रतिशतले गहिरो निद्रासहित सपना देख्ने गरेका छन् । ४५.४ प्रतिशतले पातलो निद्रा लाग्ने गरेको जनाएका छन् । ३३.१ प्रतिशत बिहान चाँडै ब्युँझिने गरेको प्रतिवेदनमा उल्लेख छ । 

दैनिक जीवनमा उनीहरूको प्रमुख समस्या नै राति सुताइसम्बन्धी रहेको छ । गुणस्तरीय सुताइ नहुुनु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि घातक हुने गरेको पनि सर्वेक्षणमा देखिएको छ । राम्रोसँग नसुत्नेबाट कामको नतिजा पनि राम्रो नआउने गरेको र उनीहरूको काममा समेत असर पर्ने गरेको सर्वेक्षणकर्ता जाङ सिआवेले बताएका छन् ।

सर्वेक्षणमा ५५.४ प्रतिशतले राति सुत्ने बानी सुधार्ने बताएका छन् । यसैगरी, ४१.७ प्रतिशतले गीत सुनेर निदाउने बानी गर्ने जनाएका छन् । यसैगरी, ३५.८ प्रतिशत युवा आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न तयार छन् ।