मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
केदार दाहाल काठमाडौं
२०७७ चैत ६ शुक्रबार ११:०५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजगढ विमानस्थल चर्चामै सीमित, त्रिभुवन र भैरहवा विस्तार सरकारको प्राथमिकतामा

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ चैत ६ शुक्रबार ११:०५:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्नुभन्दा निजगढ विमानस्थल निर्माणमा केन्द्रित हुने सरकारको योजना थियो । तर, लगानी बोर्डले ३ वर्षसम्म स्रोत जुटाउन नसकेपछि निजगढ छायामा पर्‍यो । त्रिभुवन विमानस्थलमा १ खर्ब र भैरहवामा थप १८ अर्ब खर्चने तयारी ।

वर्षौँदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरकारको प्राथमिकतामा पर्न छाडेको छ । निजगढलाई प्राथमिकतामै राख्न छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप संरचना निर्माणमा सरकार केन्द्रित भएको हो । कहिले सरकारले निर्माण गर्ने भनेर अलमलिएको निजगढ विमानस्थल लगानी बोर्डले ३ वर्ष होल्ड गरेर लगानी जुटाउन असफल भएको थियो । केही साताअगाडि पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयले वार्षिक २० अर्ब छुट्याएर सरकार आफैँले निजगढ बनाउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा गरेको थियो । तर, अर्थ मन्त्रालयले यति ठूलो आयोजनामा सरकारले खर्च गर्न नसक्ने जवाफ दिएपछि निजगढ विमानस्थल निर्माणको विषय नै अन्योलमा परेको छ । 

यही समयमा सरकारले भैरहवामा दोस्रो टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढको विकल्प नभएको जनाउ दिँदै आएको प्राधिकरण आफैँले अहिले त्रिभुवन विमानस्थल विस्तारको काम अगाडि बढाउने तयारी गरेको छ । एसियाली विकास बैंक (एडिबी)सँग ऋण लिएर त्रिभुवन विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढाउन लागिएको छ । जसका लागि सन् २०१४ मा नै ६० अर्ब लागत अनुमान गरिएको थियो । अहिले उक्त विस्तार आयोजनाको लागत १ खर्ब पुग्ने अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले १ खर्ब २० अर्बमा निजगढ विमानस्थल निर्माणको पहिलो चरण सम्पन्न हुने प्रस्ताव योजना आयोग र अर्थ मन्त्रालयमा पठाइएको थियो । 

यता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १८ अर्ब खर्च गरेर दोस्रो टर्मिनल भवन निर्माणको तयारी थालिएको छ । जसको डिजाइनको सार्वजनिक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले गरेका थिए । भैरहवा र त्रिभुवन दुवै विमानस्थलमा एडिबी ऋण दिन तयार रहेकाले आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको प्राधिकरणका राष्ट्रिय आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘भैरहवामा दोस्रो टर्मिनल अत्यावश्यक हो, तर कति लागत भन्ने विषय टुंगिएको छैन, अहिलेको टर्मिनलले धान्दैन,’ अधिकारीले भने ।

एडिबीले यसअघि २३ अर्ब ऋण दिने सहमति गरिसकेको छ । जसमा झन्डै ६ अर्ब प्राधिकरणको वृत्ति विकास तथा प्राधिकरण टुक्र्याउनका लागि प्रयोग हुनेछ । यता १७ अर्ब २५ करोडमध्ये ८ अर्ब भैरहवामा थप संरचना निर्माण गर्न र बाँकी करिब १० अर्ब त्रिभुवन विमानस्थल विस्तार आयोजनाअन्तर्गत एप्रोन, समानान्तर ट्याक्सी वे र पार्किङ निर्माणमा खर्च हुनेछ । 

यसअघि निजगढमा विमानस्थल बनाएर तत्काल त्रिभुवन विमानस्थलमा धेरै लगानी नगर्ने प्राधिकरणको निष्कर्ष थियो । तर, पछिल्लो समय फेरि काठमाडौंमा ठूलो लागतमा पूर्वाधार निर्माण गर्ने आयोजना अघि बढाउने तयारी प्राधिकरणले गरेको हो । 

 निर्माणको चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । सञ्चालनमा आएको केही समयमा हालको टर्मिनल भवनले धान्न नसक्ने निष्कर्ष निकाल्दै प्राधिकरणले नयाँ भवन निर्माणको तयारी गरेको हो । अहिले निर्माण भइरहेको टर्मिनल भवनमा १ घन्टामा १ सय ६० जना मात्रै ह्यान्डल गर्न सक्ने क्षमता छ । अब बन्ने टर्मिनलले १२ सय धान्ने अधिकारी बताउँछन् । ‘अहिले नै योजना बनाइएन भने पछि समस्या हुन्छ, त्यसैले ५–७ वर्षमा निर्माण गर्ने गरी काम अगाडि बढाएका हौँ,’ अधिकारीले भने । 

१ खर्ब २० अर्बमा निजगढको पहिलो चरण
प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफैँ बनाउने गरी प्रक्रिया अगाडि बढाएको थियो । प्राधिकरणले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालय र योजना आयोगमा निजगढ विमानस्थल नेपाल सरकारले निर्माण गर्ने गरी सहमतिका लागि प्रस्ताव पठाएको थियो । प्रस्तावमा १ खर्ब २० अर्बमा पहिलो चरणको विमानस्थल तयार गर्न सकिने उल्लेख छ । जसका लागि वार्षिक २० अर्ब रुपैयाँ छुट्याउनसमेत प्रस्ताव गरिएको पाइएको छ । त्यस्तै, साना र ठूला गरेर पहिलो चरणमा ५ लाख १९ हजार रूख कटान गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । ‘सरकारले चाहने हो भने सजिलै बनाउन सकिन्छ, प्राधिकरण तयार छ,’ निर्देशक अधिकारीले भने । 

त्रिभुवन विमानस्थलमा २०३० सम्म १ खर्ब खर्च हुने अनुमान

सन् २०१६ मै गुरुयोजना निर्माण भएर ६० अर्बभन्दा बढी लगानी गरेर क्षमता विस्तार गर्ने टुंगो भएको थियो । तर, सरकारले उक्त आयोजना अघि बढाएको थिएन । गुरुयोजना निर्माण भएपछि आएका सरकार तथा पर्यटनमन्त्रीले काठमाडौंको विमानस्थलमा क्षमता विस्तारभन्दा पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई अघि बढाउन खोजेका थिए । 

विमानस्थलको क्षमता विस्तारका लागि भन्दै नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने मुख्य आयोजना हो । ३० अर्बभन्दा धेरै लगानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाअन्तर्गत १० हजार वर्गमिटरको टर्मिनल भवन बन्‍नेछ । अहिलेको टर्मिनलको प्राथमिक क्षमता प्रतिघन्टा ६ सय यात्रु रहेको छ । हाल वार्षिक ४० लाख यात्रुलाई यसले सेवा दिइरहेको छ । पछिल्लो समयमा अहिलेकै टर्मिनलमा भएको लगानीबाट क्षमता करिब वार्षिक ८० लाख पुगेको छ । 

निर्देशक अधिकारीका अनुसार त्रिभुवन विमानस्थलको क्षमता विस्तारको अन्तिम चरणअन्तर्गत दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल, धावनमार्गको छेउमा समानान्तर ट्याक्सी वे निर्माण तथा आन्तरिक टर्मिनलको निर्माणलगायतका काम बाँकी छ । अन्तिम चरणको विस्तारको काम अघि बढाउन अहिले गुरुयोजना समीक्षा गरेर नयाँ प्रस्ताव प्राधिकरणले गर्न लागेको छ । विमानस्थलको क्षमता विस्तार आयोजना फेरि अघि बढाउने अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लान (गुरुयोजना) स्वीकृतिका लागि मन्त्रिपरिषद्‍बाट पठाउने तयारी छ । 

प्राधिकरणले विमानस्थलको विकास तथा स्तरोन्नतिका लागि सन् २०१० मा गुरुयोजना बनाएको थियो । उक्त गुरुयोजनाअनुसार काम गर्दै गएको प्राधिकरणले पुनः २०१६ मा गुरुयोजना पुनः संशोधन गरेको थियो । अहिले पुनः प्राधिकरणले गुरुयोजना परिमार्जन गरेर स्वीकृत गर्न लागेको हो । गुरुयोजनाअनुसार प्राधिकरणले २०३० सम्म झन्डै १ खर्ब रुपैयाँको काम गर्नेछ । त्यसमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, आन्तरिक टर्मिनल भवन, ट्याक्सी वे, एप्रोन तथा ह्यांगर निर्माणको काम रहेको छ ।