मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०७:०९:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

साथीहरूको भेलाको निष्कर्ष के आउँछ हामी नियाल्दै छौँ : प्रदीप ज्ञवाली, सचिव

अन्तर्वार्ता

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत ५ बिहीबार ०७:०९:००

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले स्थगित गर्न भने पनि माधव नेपाल र झलनाथ खनालले राष्ट्रिय भेला सुरु गर्नुभयो । तपाईंहरूको प्रतिक्रिया के छ ?
भेला आयोजना गर्नु उचित भएन । अस्ति कार्की बैंक्वेटमा एकीकृत पार्टी हुँदै उहाँहरूले हामीसँग बहुमत छ, केपी ओलीलाई कारबाही गरेर देखाइदिन्छौँ भन्नुभयो । अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउँछौँ भन्नुभयो । अहिले अर्को पार्टी प्यालेसमा भेला गरेर बहुमतले पेल्न पाइँदैन भन्दै हुनुहुन्छ । हिजोसम्म उहाँहरू विधिको कुरा गर्दै हुनुहुन्थ्यो, आज केही साथीहरू बसेर एक खालको विभाजनकारी गतिविधि गर्दै हुनुहुन्छ । यो एकदमै असंगत र बेठीक भयो । यसले पार्टी एकतालाई असर पुर्‍याएको छ ।

भेलामाथि नजर लगाइनेछ र कानुनअनुसार अगाडि बढिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो । अब के हुन्छ ?

अहिले हामी उहाँहरूका सबै गतिविधि हेरिरहेका छौँ । भेलामा उहाँहरू के गर्नुहुन्छ र के भनेर बाहिर निस्किनुहुन्छ भन्ने नियाल्छौँ । त्यहाँ यसरी जान हुन्न भन्ने साथी पनि हुनुहुन्छ । जे गर्ने हो पार्टीभित्रै गरौँ, तर पार्टीलाई कमजोर बनाउने ढंगका गतिविधि नगरौँ भन्ने साथीहरू हुनुहुन्छ । त्यसैले भेलाबाट के निष्कर्ष निकाल्नुहुन्छ, त्यसपछि मात्रै हामी निर्णय गरौँला । तर, संक्षिप्तमा भन्दा जे भइरहेको छ, त्यो बेठीक भइरहेको छ ।

प्रधानमन्त्रीले बिहीबार संसदीय दलको बैठक राख्नुभएको छ । तर, माधव–झलनाथहरूले दलको बैठक र ७ चैतको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदैनौँ भन्नुभएको छ । यी बैठकमा पार्टी अनुशासनको विषयमा केही निर्णय हुन्छ त ? 

अस्ति उहाँहरूले खबर पाएनौँ भन्नुभयो । ठिकै छ, खबर पाउनुभएन रे ! अहिले त सबैलाई सूचना दिइएको छ । संसदीय दलको बैठकमा नआउने भन्नु उहाँहरूको एकदमै गैरजिम्मेवार व्यवहार हो । यसलाई हामी गम्भीरतापूर्वक लिन्छौँ ।

भेलामा माधव नेपालले पेस गरेको अवधारणापत्रमा अहिलेको राजनीतिक संकटको मुख्य जिम्मेवार प्रधानमन्त्री ओली नै हो भन्नुभएको छ । तपाईंहरू पार्टीभित्र अराजक गतिविधि र गुटबन्दी भए भन्दै हुनुहुन्छ । दुवै पक्षका यस्तो निष्कर्षले एमालेको एकीकृत भविष्य त जोखिममा पर्‍यो नि ?

पहिलो– उहाँले जे भनिरहनुभएको छ, त्यो हाम्रा लागि अनौठो चिज होइन । उहाँहरू नै हो जसले केपी ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्नुभएको हो । प्रचण्डको आरोपपत्रका आधारमा भन्ने हो भने त देशको एउटा सामान्य नागरिक पनि भएर बस्न नसक्ने, फौजदारी अभियोग भोग्नुपर्ने तहसम्म उहाँहरूले प्रहार गर्नुभएको हो । त्यसो गरेको र प्रधानमन्त्रीबाट हटाउन उहाँहरूले गरेको हतार हेर्दा अहिले आरोप लगाउनु हाम्रा लागि कुनै नौलो भएन । त्यसलाई नेपाली समाजले नै अस्वीकार गरिदियो ।

जहाँसम्म पार्टी एकताको विषय छ, त्यसमा पार्टी एकताबद्ध छ र एकताबद्ध नै रहन्छ । अत्यधिक नेता र कार्यकर्ता एकताको पक्षमा हुनुहुन्छ । केही मान्छे अन्यथा बाटो हिँड्न खोज्नुभयो भने हामीले नहिँड्नुस् भन्ने हो, त्यो बाटो गलत छ भन्ने हो । तैपनि केही साथी एकीकृत पार्टीभित्र बस्न चाहनुभएन भने त्यो उहाँहरूको चाहना हो । त्यसलाई पार्टी विभाजन वा पार्टी एकताबद्ध नरहेको भन्न मिल्दैन । आन्दोलन यात्रा हो, यात्राका क्रममा गलत बाटो हिँड्ने साथीहरू छुट्छन् पनि । छुटेपछि पर्खेर बसिरहने हुँदैन । तर, हाम्रोतर्फबाट निरन्तर एकताबद्ध राख्ने प्रयास भइरहन्छ ।

एकताका लागि तपाईंहरूका सर्त के हुन् र तपाईंहरूले गर्न सक्ने त्याग के हुन् ? 

आफैँ अध्यक्ष रहेको पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी साथीहरूले कारबाही गर्दा प्रधानमन्त्रीले धेरै अपमान सहेर पनि सबैलाई समेटेर नै अगाडि बढिरहनुभएको हो । र, अहिले पनि उहाँले २३ फागुनभन्दा अघिका घटनालाई लिएर कसैलाई पनि कारबाही गर्नुभएको छैन । स्थायी कमिटीदेखि पार्टीका अन्य पदाधिकारी साथीहरू जस्ताको तस्तै हुनुहुन्छ । वरिष्ठ नेताहरू वरिष्ठ नेता नै हुनुहुन्छ । एक पक्षले साधारण सदस्यताबाट पनि निष्कासन गर्छ, तर प्रधानमन्त्रीले यो गलत बाटो हो मिलेर अगाडि बढौँ भन्ने भन्दा बढी के गर्न सक्नुहुन्छ र ? उहाँहरू जुन बाटो हिँड्नुभएको थियो सबै त्यही बाटो हिँड्नुपर्छ भनेर त कसैले भन्न सक्तैन । एक–अर्कालाई कमजोर गर्ने काम प्रधानमन्त्रीले केही गर्नुभएको छैन । तर, पार्टी पार्टीजस्तै भएर चल्नुप¥यो । सामान्य क्लबमा जस्तो अनुशासन पनि हुँदैन भने आन्दोलन त कसरी अगाडि बढ्छ र ?

एकताका लागि फागुन २८ गतेका निर्णय खारेजलाई उहाँहरूले सर्त बनाउनुभएको छ, यसको सम्भावना के हुन्छ ?

प्रधानमन्त्रीले अस्तिको बैठकमा यसमा नमिलेको कहाँ हो, के विषयले उहाँहरूलाई अगाडि बढ्न बाधा पुर्‍यायो, त्यसमा छलफल गर्न, बैठक बस्न तयार नै छु भन्नुभएको छ । नमिलेका विषय छन् भने त्यसलाई ‘करेक्सन’ गर्न सकिन्छ, निरन्तर छलफल गर्न सकिन्छ भनेकै छौँ ।