मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयना चन्द
२०७७ चैत २ सोमबार १०:१४:००
Read Time : > 6 मिनेट
ब्लग डिजिटल संस्करण

सबैको प्यारो अनुप

Read Time : > 6 मिनेट
नयना चन्द
२०७७ चैत २ सोमबार १०:१४:००

मेरो श्रीमानकाे चाहना छोरी थियो, मेरो छोरा । नियमित जाँच गरायौँ । जन्मनुअघि नै नाम तय गर्‍यौँ । ठूलो छोराको नाम ‘अ’बाट आउने भएकाले छोरा जन्मे अनुप र छोरी जन्मे अनुपमा राख्ने । बच्चाका लागि ओछ्यान, बुनेका मोजालगायत सर्जाम तयार गर्‍यौँ ।

०६४ कात्तिक ४ गते टीकाको दिन बिहान साढे आठ बजे छोरा जन्म्यो । स्वस्थ बच्चा । लाग्यो, देखेको मेरो सपना पूरा भयो । ठूलो छोराले ०६४ वैशाखदेखि नै बुबु खान छोडिसकेको थियो । ‘ममीसँग सानो भाइ सुत्छ’ भन्थ्यो, ‘ममीको बुबु पनि सानो भाइको हो, उसैले खान्छ ।’ दुई छोरा भएपछि दम्पती नै खुसीले गदगद थियौँ । 

जन्मेको पहिलो दिन बाबु राम्ररी सुत्यो । दोस्रो दिन पनि । तेस्रो दिनदेखि ज्वरो आयो । मेरो होसहवास उड्यो । ज्वरो १०३ डिग्री पुगेको थियो । रातभर आँखा हेरेन । बुबु खाने कुरै भएन । ०६४ कात्तिक ७ गते बिहान घर (रारीजिउला)बाट अस्पताल (चौरजहारी) हिँड्यौँ । 

बाटोमा सिरिन्जबाट दूधको थोपा मुखमा राखिदिन्थ्यौँ । तर, निल्न खोज्दैनथ्यो । आँखा नखोलेको बाबु त अघिल्लो दिनदेखि बेहोसजस्तो थियो । दूध मुखमा राख्दा कुनै प्रतिक्रिया थिएन ।  (सुई लगाउँदै हिँडेको त्यो बाटो अहिले हिँड्दा पनि छोरो सम्झन्छु । मन भक्कानिन्छ ।) वेला–वेलामा निकै गाह्रो भएजसरी निधार खुम्च्याउँथ्यो । त्यतिवेला पीडा लुकाउन नसकी भक्कानिन्थेँ । चिच्याउँथेँ । लाग्थ्यो, बाबुलाई बाँच्न निकै कठिन भएको छ । तर, हामीले उसको पीडालाई टुलुटुलु हेर्नुसिवाय केही गर्न सकेनौँ । निकै गाह्रो भएजस्तै गर्‍यो । त्यतिवेला लागेको थियो, उसको प्राण उडेर गयो । अत्तालियौैँ । रोयौँ । करायौँ । 

निकैपछि सास फेरेजस्तो गर्‍याे । बल्लतल्ल हामी अस्पताल पुग्यौँ । तत्काल आकस्मिक कक्षमा भर्ना गर्‍यौँ । अघिल्लो दिनदेखि लगाइरहेको सुई चलायो । केही थपेन । जन्डिस देखापरेको थियो । जिउ पूरै पहेँलियो । जन्मेको चार दिनभित्र हुने जन्डिस कडा कमलपित्त हुँदो रहेछ । विदेशी (जर्मनी) डाक्टर जेम्स । उनै जेम्सले जाँचे । औषधि चलाए । ज्वरो कम भएन । भोलिपल्ट दिउँसोसम्म ज्वरो नघटेपछि डाक्टरले कुन रोग भनेर टेस्ट गर्न ढाडको नसाबाट पानी निकाल्नुपर्ने बताए । कागजमा सही गर्न लगाए । ढाडबाट पानी निकाल्नुपर्ने बच्चाहरू अरू दुईजना पनि थिए । 

दिनको साढे तीन बज्यो । चार दिनको बच्चालाई ठाडो पारेर बसाएजस्तो गराए । डाक्टर आफैँले ढाडबाट सिरिन्जमा पानी निकाल्न खोजे । पानीको सट्टा सिरिन्जभरि रगत ! बाबु बेस्सरी रोयो । हेर्नै नसकी थचक्कै भुइँमा बसेँ । 

डाक्टर अत्तालिए । नर्सहरूलाई बेस्सरी गाली गरे । के–के चिज मागे । रिसाउँदै डाक्टर अर्को कोठामा गए । केही सामान लिएर आए । फेरि कोसिस गरे । फेरि सिरिन्जभरि रगत । दुईपटकको प्रयास विफल । डाक्टर र नर्सहरू आत्तिए । लाग्थ्यो, डाक्टरले कुनै कमजोरी गरे । केही नभनी सुई लगाए । त्यसपछि फेरि अर्को एउटा सुई लिएर एउटी नर्स आइन् । केको सुई हो भनेर सोध्दा ‘डाक्टरले सुई लगाउनु भनेर मात्र पठाएका छन्, मलाई थाहा छैन’ भनिन् । जथाभावी सुई लगाउन दिन्नौँ भनेर लगाउन दिएनौँ । बच्चा निकै रोयो । त्यसपछि ? बिस्तारै बेहोस भयो । ज्वरो उत्तिकै थियो । पहेँलोपन पनि उत्तिकै । 

डाक्टरले भनेअनुसार बेहोस हुने सुईको कारणले मात्र बेहोस थियो । बेहोस अवस्थामै बच्चाले दूध खानुपर्थ्याे । आँखा हेर्नुपर्थ्याे । दूध त बिरामी भएदेखि नै खाँदैनथ्यो । तर, उसले आँखा पनि हेरेन । नसाबाट पानी निकालेका बच्चाहरूले आँखा हेर्थे । उमेरले अलि ठूला तिनले त चिया, दूध, बिस्कुट खान्थे । डाक्टरको भनाइअनुसार बेहोस पारेको साधारणतया आठ घन्टापछि होसमा आउँछ ।

आशा गरेका थियौँ, बाबु राति साढे ११ बजेसम्म होसमा आउँछ । ११ः३० बज्यो, १२ बज्यो, १ बज्यो, २ बज्यो, ४ बज्यो । उज्यालो भयो । दिउँसो १२ बज्यो । बाबु होसमा आएन । डाक्टरले ‘१२ देखि २४ घन्टासम्म होस आउन सक्छ’ भने । २४ घन्टा पनि बित्यो । तर, बाबुको होस आएन । फेरि अत्तालियौँ । डाक्टरले ‘नआत्तिन’ भने । ज्वरो कत्ति पनि कम भएन । १०३ डिग्री, १०४ डिग्री पुग्यो । निकै आत्तियौँ । राति साढे १० बजेसम्म ज्वरो नघटेपछि डाक्टर बोलायौँ । नेपालगन्ज लान कागज लेख्न लगाए । प्लेन टिकटको पनि सिफारिस गरे । बच्चा बाँच्ने आशा मरिसकेको थियो ।

त्यतिखेर गाडीको सुविधा थिएन । गाडी चढ्न सल्लीबजार पुग्नुपर्थ्याे । बाटोमै मर्ला भन्ने डरले हिँडाउन सकिएन । रातभर पानीपट्टी गरेर राख्यौँ । बिहान हुँदा त ज्वरो थिएन । भर्ना भएको चार दिन भइसकेको थियो । पाँच दिनपछि बिस्तारै सन्चो हुन थाल्यो । पहेँलोपना कम । दिसापिसाब पनि सफा । नवौँँ दिन (२०६४ कात्तिक १७)को साँझ डिस्चार्ज भयो । ज्वरो आउँदैनथ्यो । पहेँलोपन भने बाँकी थियो । बिस्तारै–बिस्तारै सन्चो हुन थाल्यो । पछि त निकै स्वस्थ । 

अस्पतालबाट फर्केपछि दाहिने खुट्टामा दाद देखियो । औषधि लगाइदियौँ । अहँ, सन्चो भएन । (हराउँदै देखा पर्दै आजसम्म पनि सन्चो भएको छैन ।) दुई महिनापछि बाबु राति एक वा दुई बजेदेखि एक आधा घन्टा रुन थाल्यो । यति रुने कि, केही गरे पनि नथामिने । रुँदारुँदा थाकेर निदाउँथ्यो । एक दिन बिराउँदै रुन थाल्यो । रुने समय पनि निश्चित । सधैँ राति ठीक एक साढे एकदेखि दुई साढे दुई बजेसम्म । भन्नेबित्तिकै अस्पताल लान सकिएन । बाबु अब चार महिना पुग्यो । खेल्थ्यो, खान्थ्यो, स्वस्थ देखिन्थ्यो । तर, फर्किन सक्दैनथ्यो । 

साधारणतः बच्चा चार महिनामा फर्किनुपर्छ । अभि पनि चार महिना पुग्नेबित्तिकै फर्किएको थियो । कतिले त कति बच्चा नफर्केरै सीधै बस्छन् भनेको पनि सुनेकी थिएँ । आफ्नो मनलाई आफैँ बुझाउँथेँ । वेला–वेलामा हात भने पछाडि फर्काएजस्तो गर्थ्याे । 

चैत अन्तिम साता शुभचिन्तक अमृता शाह दिज्यूबाट थाहा पाएँ, हात अगाडि लिन खोज्दा पछाडिपट्टि फर्किनु ‘सिपी’ (सेरेब्रल पाल्सी) मानसिक पक्षघातको लक्षण हो । बाबुलाई जहाँ लिए पनि डाक्टरले त्यही भने । मेरो हंसले ठाउँ छोड्यो । यति रोएँ कि, कल्पना गर्न पनि सक्तिनँ । रुनुसिवाय अरू गर्न सकिनँ । 

०६५ जेठ पहिलो साता काठमाडौं महाराजगन्जस्थित कान्ति बाल अस्पताल गयौँ । महिला डाक्टरले बाबुको खुट्टाको बुढीऔँला समातिन् । हेरिन् । भनिन्, ‘सिपी भएको छ ।’ छाँगाबाट खसेजस्तै भएँ । मन थाम्न सकिनँ । डाक्टरकै अगाडि भक्कानिएँ । जति रोए पनि मन पखाल्न सकिनँ । जो आजसम्म जारी छ । डाक्टरको सल्लाहअनुसार बबरमहल जानुपर्ने भयो । 

जब छुट्टी हुन्छ, घरमा पुग्न हतार हुन्छ । ढिला हुनुपरे घरमा उसलाई जवाफ चाहिन्छ । चार बजेपछि ममी आउने बाटो हेरेर बसिरहेको हुन्छ । देख्नबित्तिकै खुसी भएर उफ्रिन्छ, कराउँछ ।


बबरमहलमा एउटा कन्सल्टेन्सी रहेछ, परामर्श दिने । सिपी भएका बिरामीहरूका लागि पुनर्स्थापना केन्द्र धापाखेलमा रहेछ । जहाँ पुग्थेँ, ‘मेरो बाबुलाई सिपी भएको छैन’ भनिदिएहुन्थ्यो भन्ने लाग्थ्यो । परामर्श सेन्टरमा निर्देशकले सिपीसम्बन्धी धेरै कुरा बताए । प्राध्यापक रहेछन् । निकै राम्रा कुरा गरे । थेरापीदेखि कसरी केयर गर्ने भन्नेसम्मका ।

त्यतिखेरसम्म पनि मेरो सानुलाई सन्चो हुन्छजस्तो लागेको थियो । प्राध्यापक बोलिरहेका वेला बीचबीचमै सोध्थेँ, ‘सर, उसो भए मेरो बाबुलाई सन्चो त हुन्छ नि ?’ ती प्राध्यापकले भने, ‘सन्चो हुन्छ भनेको तपाईंको छोरो एकैपटक फुटबल खेल्ने नसम्झिनुहोस् न म्याम ।’ झल्याँस्स भएँ । बिस्तारै मेरो छोरो सन्चो हुने सपना हावामा विलीन हुन थाल्यो । उपचारका क्रममा धापाखेल, बनेपालगायतका सबै उपचार केन्द्रबाट एउटै जवाफ पाएँ ।

तैपनि सुधार हुने आशामा तीनपटक फिजियोथेरापी सेन्टर धापाखेल लग्यौँ । टिचिङ अस्पतालमा नाक, कान चेक गराएको सबै रिपोर्ट ठीक थियो । समयमै बोल्न नसकेपछि बोलीको पनि चिन्ता हुन थाल्यो । कुनै–कुनै बच्चा त सात–आठ वर्षसम्म पनि बोल्छन् भन्ने सुनेर त्यो दिन पनि पर्खेर बस्यौँ । अन्ततः हिँड्न, बोल्न केही नसक्ने भयो ।   

दिनभरि जिजुमुवासँग हुन्छ । ओछ्यानमै खेल्छ । टिभी हेर्छ, मोबाइल हेर्छ । नुहाउन, सफा हुन साह्रै मन पराउँछ, तर सबै अर्काको भरमा । सानो भाइ खेलेको देखेर औधी रमाउँछ । खानेकुरा आफैँले रोजेको हुनुपर्ने धेरै जिद्दी गर्छ । बोल्न निकै प्रयास गर्छ, तर सक्दैन । केही–केही शब्द बोल्छ निकै अप्ठ्यारो हुने गरी । उसले भनेको कुरा साधारणतः सबै मान्छेले बुझ्दैनन् । परिवारका सदस्यका लागि भने खासै गाह्रो हुँदैन । कुन काम राम्रो कुन गलत सबै यकिन गर्ने, आफन्तजन भनेपछि हुरुक्कै हुने । हरेक दुई–चार दिनमा मामाघर फोन सम्पर्क गर्न माग राख्छ । कहिलेकाहीँ बिरामी पर्‍यो भने निकै आत्तिन्छ । 

बुबाममीलाई काममा बाधा पार्नुहुन्न भनेर उसलाई राम्ररी थाहा छ । घरपरिवारमा हुने हरेक काम व्यवहारका बारेमा उसलाई चासो हुन्छ । स्पष्ट बोल्न नसके पनि उसको हाउभाउले सबै कुराको संकेत गर्छ । परिवारको एक जिम्मेवार सदस्यझैँ घरका हरेक काम व्यवहारबारे हामी उसलाई जानकारी दिन्छौँ । 

ममी स्कुल जानुभन्दा अगाडि नै उसले खाना खाइसकेको हुनुपर्छ, किनकि उसले प्रत्येक दिन हात हल्लाएर अनुमति दिनुपर्ने हुन्छ । बाबुको अनुमति नलिई स्कुल हिँडेको सम्झना आज पनि छैन । जब घरबाट निस्कन्छु १० मिनेटको समय पनि मेरा लागि मनग्ये हुन्छ । बाटोभरि अनेक कुरा सोच्दै स्कुल पुग्छु ।  

स्कुलमा पनि ऊसँगसँगै जन्मिएका धेरै केटाकेटी छन् । उनीहरू कक्षा ८, ९ मा पढ्दै गरेका । स्वस्थ, तन्दुरुस्त । खेल्छन्, कुद्छन्, उफ्रिन्छन् लाग्छ, मेरो छोरो सन्चो भइदिएको भए यिनीहरूकै जमातमा देख्न पाउँथेँ । अनि फेरि झल्याँस्स सम्झिन्छु उनै प्रोफेसरले भनेको कुरा । मेरो छोरो त सन्चो भए पनि फुटबल खेल्न सक्ने त कहिल्यै हुँदैन ।

दिनभरि स्कुलमा विद्यार्थीहरूसँग हुँदा सबै बिर्सिन्छु । जब छुट्टी हुन्छ, घरमा पुग्न हतार हुन्छ । ढिला हुनुपरे घरमा उसलाई जवाफ चाहिन्छ । चार बजेपछि ममी आउने बाटो हेरेर बसिरहेको हुन्छ । देख्नबित्तिकै खुसी भएर उफ्रिन्छ, कराउँछ । यसैले पनि मिलेजति समय उसैलाई दिन्छु । डाक्टरले भनेको सिपी भएकोे मान्छेलाई जति समय दिन सक्यो, जति माया गर्‍यो उति उसको आयु बढ्छ रे । समयमा उचित खानपिन, स्याहार–सम्भारमा कुनै कसर बाँकी नराखी सधैँ उसको दीर्घायुको कामना गरिरहन्छु । 

स्वस्थ मान्छेजस्तो व्यवहार गर्छ । परिवारका हरेक सदस्यलाई उत्तिकै माया गर्छ । परिवारको सदस्य कोही बिरामी भयो कि अस्पताल जान भनिरहेको हुन्छ । बुबा ममी बिरामी पर्दा धेरैपटक ऊ रोएको छ । अन्टी बिरामी हुँदा त धेरै छाक खाना नखाई रोएर बस्यो । कहिलेकाहीँ कामविशेषले उसलाई छोडेर जानुपर्दा निराश देखिन्छ, तर रोक्ने कोसिस गर्दैन ।

०००
नेपालमा ६० हजारभन्दा बढी बालबालिका मानसिक पक्षघातबाट ग्रस्त छन् । समस्या कुनैमा कम र कुनैमा बढी होला । सबैका लागि परिवारको माया र सदभाव उत्तिकै जरुरी छ । नर्मल बच्चालाई गरेजतिको हेरचाह उनीहरूका लागि पर्याप्त हुँदैन । यिनका लागि विशेष हेरचाह गर्नुपर्ने हुन्छ । कुनै पनि दिन बिरामी छोरो देखेर बोझ भाको अनुभूति गरिनँ । आज पनि मेरो छोरो एबनर्मल छ । तर, सबै नर्मल बच्चाले जसरी आमालाई माया गर्छ । उसको दाइ र कान्छो भाइको ऊ प्यारो छ ।