१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नारायणहिटी दरबारभित्रकाे सिनेमा हल
भवानीश्वर गौतम काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दरबारभित्रको सिनेमा  हल सञ्चालन गरिँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२९:oo

संग्रहालय अवलोकन गर्न आउनेलाई दरबारमा रहेका सिनेमा, डकुमेन्ट्री र राजपरिवारका महत्वपूर्ण ‘इभेन्ट’ देखाइने

नारायणहिटी दरबारभित्र सिनेमा हल पनि छ, जहाँ तत्कालीन राजपरिवारका सदस्य र नातेदारले सिनेमा हेर्ने गर्थे । दरबार हत्याकाण्डसँगै हल पनि बन्द भयो । गणतन्त्रपछि नारायणहिटीलाई संग्रहालय बनाइए पनि धेरैलाई दरबारभित्रको सिनेमा हलबारे थाहा छैन । अब, भने राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर सर्वसाधारणले समेत सिनेमा हेर्न पाउने भएका छन् ।

एक सय १६ सिट क्षमताको हल आगामी वैशाखदेखि सर्वसाधारणका लागि खुला गर्ने संग्रहालय विकास समितिले तयारी छ । अवलोकन गर्न आउनेलाई दरबारमा रहेका पुराना सिनेमा र डकुमेन्ट्री देखाउने समितिको योजना छ ।

चलचित्र विकास संस्थानका पूर्वकर्मचारी झिकाएर समितिले अहिले हलमा रहेका पुराना रिल र प्रोजेक्टरको सफाइ गरिरहेको छ । प्रोजेक्टर रहेको सानो कोठामा दरबारमा भएका सिनेमा र डकुमेन्ट्रीका रिल राखिएका छन् । झन्डै २० वर्षदेखि थन्किएकाले रिलमा ढुसी लागेको छ ।

शनिबार संग्रहालयमा पुग्दा चलचित्र विकास संस्थानका पूर्वकर्मचारी भरतप्रसाद नेपाल रिल र प्रोजेक्टर सफाइ गर्दै थिए । ‘०२५/२६ देखिका रिल भेटिएका छन् । के–कस्ता फिल्म र डकुमेन्ट्री छन् खोजिरहेका छौँ,’ उनले भने । सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । 

सामान्य मर्मतपछि तिनलाई सञ्चालनमा ल्याउन सकिने नेपालले बताए । पुरानो प्रविधिमा अभ्यस्त जनशक्ति आवश्यक भएकाले संस्थानका पूर्वकर्मचारीलाई लिएर काम गरिरहेको संग्रहालयले जनाएको छ ।

दरबारमा स्वदेशी र विदेशी पुराना सिनेमा, डकुमेन्ट्री, राजपरिवारका महत्वपूर्ण ‘इभेन्ट’हरूका रिल रहेको संग्रहालयका अधिकारीहरूको भनाइ छ । स्वर्गीय राजा वीरेन्द्रको विवाहको भिडियोसमेत रहेको उनीहरूले बताएका छन् । नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले अधिकांश रिल चल्ने अवस्थामा रहेको बताए । 

रिल सफा गर्दै कर्मचारी

‘कस्ता फिल्म छन् भनेर खोजिरहेका छौँ, अहिले सफाइको काम पनि भइरहेको छ,’ दाहालले भने, ‘धेरै रिलहरू चल्ने अवस्थामा देखिएका छन्, हामीले चलाउन नसकेका महत्वपूर्ण रिल विदेशमा लगेर मर्मतसम्भार गरी चल्ने बनाएर पनि संरक्षण गर्छौँ ।’ संग्रहालयमा अवलोकन गर्न आउनेलाई पालैपालो सिनेमा तथा डकुमेन्ट्री देखाउने योजनासहित काम भइरहेको उनले बताए । 

अवलोकल गर्ने क्षेत्र फराकिलो बनाइँदै
संग्रहालयभित्र सर्वसाधारणले अवलोकन गर्ने क्षेत्र फराकिलो बनाउँदै लगिएको छ । केही दिनमै दरबारका १५ देखि २० वटा कक्ष अवलोकनका लागि खुला गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक दाहालले बताए । फोहरा बगैँचा र हाँसपोखरीमा पहिलेजस्तै गरी पानी आउने व्यवस्था गरिएको छ ।

०३१ मा तत्कालीन राजा वीरेन्द्रको राज्यरोहणमा प्रयोग गरिएको बग्गीलाई आगामी १ वैशाखबाट प्रदर्शनीमा राख्ने निर्णय भइसकेको छ । त्यसका लागि सेनासँग भएको बग्गी संग्रहालयलाई हस्तान्तरण गर्ने निर्णय भइसकेको छ । संग्रहालयले तत्कालीन राजा त्रिभुवनको कपाल काट्ने कक्ष पनि छिटै खुला गर्ने योजना बनाएको छ । त्यस्तै, राजाको अध्ययन कक्ष, दरबारको पुस्तकालयलगायत पनि चाँडै सर्वसाधारणले अवलोकन गर्न पाउने कार्यकारी निर्देशक दाहालले बताए ।

सिनेमा हलमा ११६ सिट
०२६ मा नारायणहिटी दरबारसँगै निर्माण गरिएको सिनेमा हलमा एक सय १६ सिट छन् । राजारानीसहित राजपरिवारका मुख्य सदस्यका लागि पाँचवटा सोफा र अन्यका लागि कुर्सी छन् । धुलाम्य बनेका कुर्सी र सोफा अहिले सफाइ गरिँदै छन् । सोफा छोपेर राखिएको छ । राजपरिवारले सिनेमा र डकुमेन्ट्रीमा निकै रुचि राख्ने गरेको त्यहाँ भेटिएका रिलहरूले पनि थाहा पाउन सकिन्छ ।

दरबारनजिकै रहेको जय नेपाल हल र उपत्यकाका अन्य सिनेमा हलमा चल्ने सिनेमाका रिल दरबारमै ल्याएर उनीहरूले हेर्ने गरेको दरबारका पूर्वकर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार तत्कालीन राजपरिवारका सदस्य, पाहुना तथा शाही नातेदारहरूले धेरैजसो शुक्रबार सिनेमा हेर्ने गर्थे । दरबार हत्याकाण्डपछि बन्द रहेको हलमा अहिले पनि त्यतिवेलाको फोहोर देख्न सकिन्छ ।

हलमा रहेका सोफाको पछाडि राखिएका चुरोटदानीमा अहिले पनि चुरोटका ठुटा र अन्य फोहोर देख्न सकिन्छ । जुन, दरबार हत्याकाण्ड हुनुअघि सिनेमा हेर्दाको समयको भएको कर्मचारीको भनाइ छ । 

ad
ad