मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ५ आइतबार
  • Sunday, 18 April, 2021
नवीन प्यासी काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘खुवालुङ’ फुटाउने प्रधानमन्त्रीको घोषणा : किरात समुदाय असन्तुष्ट

अरुण, तमोर र दूधकोसीको संगमस्थलमा रहेको ढुंगा (किरात समुदायको आस्थाको केन्द्र) फुटाइए प्रतिरोध गर्ने किरात समुदायको चेतावनी

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ फाल्गुण २० बिहीबार १८:००:००

गत ८ फागुनमा प्रधानमन्त्री केपी ओली आमसभालाई सम्बोधन गर्न विराटनगर पुगे । यता, देश सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसलाको प्रतीक्षामा थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमा बहस गर्दै सरकारी वकिलहरू भनिरहेका थिए, ‘प्रधानमन्त्री श्री ३ र श्री ५ जत्तिकै शक्तिशाली हुनुहुन्छ ।’ ओली स्वयं भने विघटन आवश्यक थियो भनेर जिल्ला–जिल्लामा आमसभा गर्दै थिए । विराटनगरमा आयोजित आमसभामा ओलीले भने, ‘हामीसँग आयोगहरू छन् । आयोगले जनजाति, दलित, मधेसी, थारूका समस्याहरू अगाडि बढाउँछन् । समस्याको पहिचान गरेर समाधान प्रस्तुत गर्छ ।’
आमसभा ताली र हुटिङले गुन्जियो । बीचबीचमा ओली आफूले गरेका विकासका प्रगति विवरण पनि प्रस्तुत गरिरहेका थिए । उनले अचानक पानीजहाजको विषयलाई लिएर भनिदिए, ‘पानीजहाजले चतराबाट ११ मिनेटमा भोजपुर पुर्‍याउँछ र ल्याउँछ । त्यहाँ बाधा भएको एउटा ढुंगोलाई क्रेन लगाएर फुटाउँदै छौँ र नदीको बाटो क्लियर गर्दै छौँ ।’ उनले संकेत गरेको ढुंगो त्यही ढुंगो हो, जुन ढुंगो किराती समुदायको आस्थाको केन्द्र हो । त्यही ढुंगोलाई लिएर बनेका मिथक र कथनहरूबाट किराती सभ्यता र संस्कृतिको फेहरिस्त निस्कन्छ ।

अरुण, तमोर र दूधकोसीको संगमस्थलमा रहेको ढुंगा फुटाउने पहल बेलका नगरपालिकाले गरेको हो । हामीले गत वर्ष जल यातायात सुचारु गर्न यस्तो प्रस्ताव गरेका थियौँ । पर्यटन, ¥याफ्टिङ, सामानहरू ढुवानी गर्ने हो भने ढुंगो फुटाउनै पर्छ । तर, सांस्कृतिक कुराको महत्व छैन भन्ने हुँदैन । त्योभन्दा पनि हजारौँ महत्वको विषय विकास हो । तुलनात्मक रूपमा कोसी करिडोरबाट डुंगा चलाउने विषय बढी फाइदाजनक होला ।
दुर्गाकुमार थापा, प्रमुख, बेलका नगरपालिका, उदयपुर

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिप्रति आदिवासी राई समुदाय आक्रोशित बन्यो । उनीहरूले सामाजिक सञ्जालमा ओलीको अभिव्यक्तिप्रति आक्रोश पोेखे । ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदियो । यसपछि पनि ओली शिलान्यास गर्दै हिँडिरहेका छन् । तर, उनले ८ फागुनमा दिएको अभिव्यक्तिप्रति भने आलोचना रोकिएको छैन । 

प्रधानमन्त्रीले ‘क्रेन लगाएर फुटाउँदै छौँ’ भनेको ढुंगोलाई किराती समुदायले ‘खुवालुङ’ भन्ने गर्छन् । ‘खुवा’ अर्थात् राज्य, सीमा, क्षेत्र र ‘लुङ’ भनेको ढुंगो । संस्कृतिविद् चन्द्र हतुवालीले ‘किरात राई संस्कृति’ नामक पुस्तकमा लेखेका छन्, ‘प्राचीन किरात बसोवास क्षेत्रको सीमा ढुंगोका रूपमा खुवालुङलाई लिइन्छ ।’ उक्त खुवालुङ अरुण, तमोर र दूधकोसी नदीको संगमस्थलमा अवस्थित छ । धनकुटा, भोजपुर र उदयपुरको सिमानामा पर्छ । यति मात्रै होइन, खुवालुङमा किराती समुदायको मिथकहरू थुप्रै छन् । ‘मुन्दुम’मै पनि जब बिजुवाले सृष्टि कथा भन्न सुरु गर्छन्, त्यहाँ ‘खुवालुङ’को प्रसंग आउने गर्छ । ‘खुवालुङ’ आएपछि बिजुवाले गीत र नाचको लय बदल्छन् । अध्येता भोगिराज चाम्लिङ भन्छन्, ‘यो समग्र किरात समुदायको मुन्दुममा आउँछ । खुवालुङ हाम्रो सांस्कृतिक आस्थाको केन्द्र हो । यसको ऐतिहासिकताले पनि अर्थ राख्छ ।’

खुवालुङलाई किराती सभ्यताको विकासक्रमको ऐतिहासिक स्थल मानेर श्रद्धाका साथ पुज्ने गरिन्छ । राजनीतिक र पुरातात्विक महत्व बोकेको मैनामैनी गढी अहिले पनि उदयपुरमा छ । सप्तकोसी किनारका क्षेत्रमा किरातीले राज्य गर्दा बेलकागढी केन्द्र रहेको बताइन्छ, जसको पुरातात्विक भग्नावशेष भेट्न सकिने अध्येता भोगिराज बताउँछन् । बेलकागढी अहिले उदयपुर जिल्लाअन्तर्गत बेलका नगरपालिकामा पर्छ भने खुवालुङ पनि बेलकाको सिमानामा पर्छ । 

यस्तो छ खुवालुङबारे मिथक
मिथक पनि छ– किरातीहरूका पुर्खा मुकुबुङ (भोटे), हर्कबुङ (किरात) र रिब्लुङ (थारू) तीनजना दाजुभाइ थिए । उनीहरू खुवालुङ आइपुग्दा त्यहाँको ढोका बन्द थियो । तर, जेठो मुकुबुङले जुरेली चराको भोग दिएपछि ढोका खुल्यो र नदी तरे । माइलो हर्कबुङले पार गर्न सकेन, पारि पुगेका दाइलाई सोध्दा ‘चेलीको रगत पार्नू’ भने । अनि चेलीकोे खुट्टाको कान्छी औँला काटेर रगत दिएपछि ढोका खुल्यो र तरे । तर, चेलीको खुट्टामा रगत रोकिएन । यसपछि चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो । तुरुन्तै चेलीको मृत्यु भयो । त्यसैले राईहरूले बाख्रा कुलपितृमा चलाउँदैनन् र मासु पनि खान नहुने जनविश्वास छ । उक्त संगमस्थलबाट फैलिएका किराती पुर्खाहरू तमोर पछ्याउनेहरू लिम्बू भए, अरुण पछ्याउनेहरू मेवाहाङ, याम्फु, लोहोरुङ भए, दूधकोसी पछ्याउनेहरू राईहरू भए, सुनकोसी पछ्याउनेहरू सुनुवार, जिरेल, सुरेल भए भन्ने जनविश्वास रहेको अध्येता भोगिराज बताउँछन् । 

प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि उत्तेजित बनेका किरात समुदायका अभियन्ताहरूले अहिले सामाजिक सञ्जालमा सक्रिय रूपमा विरोध गरिरहेका छन् । खुवालुङको ऐतिहासिकता, त्यसको सांस्कृतिक महत्व र क्रेन लगाउन लागिएको उक्त ढुंगोसँग जोडिएको आस्थालाई लिएर बहस भइरहेको छ । गत माघेसंक्रान्तिमा खुवालुङ पुगेर अभियन्ताहरूले ‘खुवालुङ संरक्षण समिति’ गठन गरे । तर, राज्यको अतिक्रमणबाट जोगाउन अभियन्ताहरू निकैअगाडिदेखि नै लागिपरेका थिए । ओलीले दुई वर्षअघि पानीजहाजको सपना बाँडेपछि नै किरात समुदाय त्रसित बनेको संरक्षण समितिका सदस्य दिनेशकाम्दुङ राई बताउँछन् । ‘त्यसवेलादेखि नै हामी सशंकित बनेका थियौँ । अहिले त राज्यले बजेटै छुट्याएर ढुंगो फुटाउन खोजिरहेको छ । हाम्रो आस्थामाथि प्रहार गर्न खोजिरहेको छ,’ दिनेश भन्छन्, ‘प्रधानमन्त्रीजस्तो गरिमामय ओहोदामा बसेको मान्छेले कुनै समुदायको आस्थामाथि चोट पर्ने गरी अभिव्यक्ति दिनु लज्जास्पद र निन्दनीय विषय हो । राज्यलाई हरेक खालको सूचना हुन्छ, तर खुवालुङबारे किन थाहा भएन ।’ 

ढुंगा फुटाउन प्रदेश सरकारको बजेट

बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा भने डुंगा चलाउने उद्देश्यले मात्रै ढुंगो फुटाउन लागिएको बताउँछन् । उनका अनुसार उक्त ढुंगो फुटायो भने पहाडका धेरै ठाउँमा डुंगा पुग्नेछ । ‘यसको पहल बेलका नगरपालिकाले नै गरेको हो । हामीले गत वर्ष प्रस्ताव गरेको हो जल यातायात सुचारु गर्न । पर्यटन, र्‍याफ्टिङ, सामानहरू ढुवानी गर्ने हो भने ढुंगो फुटाउनै पर्‍यो,’ थापा भन्छन्, ‘तर, सांस्कृतिक कुराको महत्व छैन भन्ने हुँदैन । त्योभन्दा हजारौँ महत्वको कुरा विकास हो । तुलनात्मक रूपमा कोसी करिडोरबाट डुंगा चलाउने कुरा बढी फाइदाजनक होला ।’ 

ढुंगा फुटाउनका लागि प्रदेश १ सरकारले बजेट विनियोजन गरिसकेको उनको भनाइ छ । यस प्रोजेक्टलाई प्रदेश सरकार आफैँले हेर्ने उनले बताए । तर, विकासको नाममा कुनै पनि आमकिराती समुदायको आस्थाको केन्द्रलाई ध्वस्त बनाउन नहुने बताउँछन् लेखक तथा अभियन्ता राजन मुकारुङ । भन्छन्, त्यो ढुंगा सदियौँदेखि नदीको बहाव र छालले हान्दा पनि जहाँको तहीँ छ । त्यो त एन्टिक चिज हो, हामीले बचाउनुपर्छ । अब त्यो ढुंगो मुलुककै सांस्कृतिक सम्पत्ति हो ।’ त्यही ढुंगोले मात्रै विकासलाई रोकेको मान्दैनन् उनी । नदीको बाटो छेउबाट खोलेर पनि डुंगा चलाउन सकिने बताउँदै उनी भन्छन्, ‘तर, त्यही ढुंगा फोर्न राज्य तम्सिन्छ भने प्रतिरोध गरिन्छ ।’