१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

स्पेनिस क्लबद्वारा खेलाडीको तलब कटौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५५:oo

स्पेनिस महारथी बार्सिलोना क्लबले कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै खेलाडीहरूको तलब कटौती गरेको छ । बार्सिलोनाले समग्रमा २८ मिलियन पाउन्ड कटौती गरेको बिबिसीले जनाएको छ । बार्सिलोनाको प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडले भने प्रत्येक खेलाडीलाई ५० हजार पाउन्ड पारिश्रमिक बढाएको छ । यस सिजन स्पेनिस ला लिगाको उपाधि होडमा अगाडि रहेको एट्लेटिको म्याड्रिडले पनि तलब कटौती गरेको छ ।

गत नोभेम्बरमा बार्सिलोनाको बार्षिक आम्दानीमा २५० मिलियन पाउन्ड कम भएको बिबिसीले जनाएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले स्पेनिस क्लबहरूको वार्षिक खर्च कम गर्न खेलाडीको पारिश्रमिकमा कटौती गर्नुपरेको बताएका छन् । ‘स्पेनिस क्लबहरूले प्रतिवर्ष धेरै अनावश्यक खर्च गरिरहेका छन्, यसले क्लबमाथि आर्थिक भार परेको देखिन्छ,’ अध्यक्ष टेबासले भने, ‘आर्थिक समस्याबीच पनि दर्शकहरूलाई रंगशालामा प्रवेश गराउन सकिरहेका छैनौँ ।’ 

सन् २०२१ को सिजनमा बार्सिलोनाले वार्षिक बजेट पनि नौ प्रतिशत कम गरेको छ । ला लिगाले बार्सिलोनालाई वार्षिक बजेटमा ३८० मिलियन पाउन्डबाट ३४७ मिलियन पाउन्डमा झार्न भनेको छ । कोरोना महामारीअघि बार्सिलोनाले प्रतिवर्ष नौ सय ४० मिलियन पाउन्ड आम्दानी गरेको थियो । जसमध्ये बार्सिलोनाले ६१ प्रतिशत खेलाडीहरूको पारिश्रमिकमा खर्च गरेको थियो । 

रंगशालामा दर्शकको उपस्थिति नहुँदासम्म क्लबहरूको आम्दानी नबढ्ने ला लिगाका अध्यक्ष टेबासको भनाइ छ । ‘क्लबको मुख्य आम्दानी नै दर्शकको उपस्थिति हो, जबसम्म रंगशाला दर्शकले भरिभराउ हुँदैन, त्यसवेलासम्म सबै क्लब यसरी नै चल्नुपर्ने बाध्यता छ ।’ 

बार्सिलोनाका कप्तान लियोनल मेसी धेरै पारिश्रमिक लिने खेलाडीमा पर्छन् । मेसीले प्रतिसाता पाँच लाख पाउन्ड पारिश्रमिक लिन्छन् । त्यसपछि फ्रान्सका एन्टोनियो ग्रिजम्यानले प्रतिसाता दुई लाख ४९ हजार पाउन्ड लिने गरेका छन् । सन् २०२० को मार्चमा खेलाडी र बार्सिलोनाबीच एक सम्झौता भएको थियो । सम्झौताअनुसार खेलाडीहरूले प्रतिमहिना ७० प्रतिशत मात्र पारिश्रमिक पाए । युरोपियन फुटबल फर्कंदा स्पेनिस क्लबहरूले आर्थिक अवस्था राम्रो हुने विश्वास लिएका थिए । तर, दर्शकले रंगशालामा अनुमित नपाउँदा क्लबहरूको आर्थिक अवस्था यथावत् नै भयो । 

बार्सिलोना आर्थिक रूपमा कमजोर हुनुको पछाडि व्यवस्थापन पक्ष पनि हो । अध्यक्ष, खेलाडी तथा प्रशिक्षकबीचको सम्बन्ध राम्रो नहुँदा बार्सिलोनाको व्यवस्थापन पक्ष निकै कमजोर भएको मानिएको छ । बार्सिलोनामा आर्थिक संकट देखापरे पनि छिमेकी क्लब रियल म्याड्रिडको अवस्था भने राम्रो छ ।

गत सिजनमा रियलले स्पेनिस ला लिगा उपाधि जितेको थियो । ला लिगाको उपाधिसँगै रियलले आर्थिक पक्ष पनि राम्रो बनायो । रियलका प्रशिक्षक जिनेदिन जिदानले कोरोना महामारीका बीच नै क्लबलाई च्याम्पियन मात्र बनाएनन्, खेलाडीलाई हौस्याउन पारिश्रमिकसमेत वृद्धि गरे । उनले फर्ममा नरहेका खेलाडीलाई अन्य क्लबमा चर्को मूल्यमा बेच्दै क्लबलाई आर्थिक रूपमा सबल बनाए । गेराथ वेललाई टोटनह्याममा बेच्दा रियलले वार्षिक १३ मिलियन पाउन्ड बचाएको छ । 

रियलपछि ग्रानडा, सेल्टा भिगो तथा हुएस्काले पनि खेलाडीको पारिश्रमिक बढाएका छन् । शीर्ष स्थानमा रहेको एट्लेटिकोले खेलाडीको पारिश्रमिक १४ प्रतिशत कम गरेको छ । प्रशिक्षक डिएगो सिमोनीको प्रशिक्षणमा रहेको एट्लेटिकोले खेलाडीहरूको पारिश्रमिकमा दुई सय ५२ मिलियन पाउन्डबाट २ सय १७ मिलियन पाउन्डमा झारेको छ । 
यसैगरी भ्यालेन्सियाले एक प्रतिशत, भिल्ला रियलले तीन प्रतिशत तथा एट्लेटिको विल्बाओले सात प्रतिशत खेलाडीको पारिश्रमिक कटाएका छन् । समग्रमा यस सिजनमा स्पेनिस ला लिगामा खेलाडीहरूका लागि क्लबहरूले २.३ विलियन पाउन्ड पारिश्रमिक दिने अध्यक्ष टेबासले बताए । 

ad
ad