मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

अनुदानको आठ लाख खोप ल्याउन चार्टर विमान चीन पठाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने कोभिड–१९ विरुद्धको खोप ‘सिनोफार्म’ ल्याउन नेपाल आफैँले खर्च गर्नुपर्ने भएको छ । अनुदानको आठ लाख डोज खोप आफ्नै खर्चमा ल्याउनुपर्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिएको आठ लाख डोेज खोप लिन चार्टर विमान पठाउन लागिएको छ । ‘अनुदानको खोप भए पनि आफ्नै खर्चमा ल्याउनुपर्ने भएको छ,’ विभागका एक अधिकारीले भने, ‘नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्स कुन जहाज पठाउने भन्ने यकिन निर्णय भइसकेको छैन ।’ 

विमान चार्टर गर्न कम्तीमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी दश दिनभित्र सो खोप आउनेछ । अनुदानको खोप ल्याउन विमान चार्टर गर्नु उचित नहुने सुझाब स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरूले दिएका छन् । गत ९ माघमा भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज उसकै खर्चमा नियमित उडानमार्फत नेपाल पठाएको थियो ।

सिनोफार्म ७९, कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी
भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । चीनको सिनोफार्म खोपप्रति नेपाली जनतामा त्यति धेरै आकर्षण देखिएको छैन । भाइरसविज्ञ डा.सन्तोष दुलाल सिनोफार्मभन्दा कोभिसिल्ड निकै प्रभावकारी भएको बताउँछन् । उनका अनुसार चीनले अनुदानमा दिएको सिनोफार्मको असर कोभिसिल्डको भन्दा बढी हुन सक्छ ।

सिनोफार्म रासायनिक रूपले कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप भएको उनको भनाइ छ । ‘यसको प्रयोगले केही असर गर्न सक्छ, तर अक्सफोर्ड–एस्ट्राजेनेकाले भारतमा उत्पादन गरेको कोभिसिल्ड खोप चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ, यसको प्रयोगले शरीरमा असर गर्दैन,’ उनले भने ।

भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ पनि रासायनिक रूपले पूर्ण कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप हो । सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत छ भने कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । डा.दुलालका अनुसार सिनोफार्म खोपमा मृत भाइरस हुन्छ, जसले मानिसहरूलाई संक्रमित गर्न असमर्थ हुन्छ, तर पनि प्रतिरक्षा प्रणालीलाई संक्रमणको निर्देशन दिई कोभिड संक्रमणबाट रक्षा गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइराख्छ ।

‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका ३० लाखमध्ये ३० जनामा गम्भीर एनाफाइलेक्सिस असर देखिएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका प्रति १० लाखमा १० जनामा एनाफाइलेक्सिस प्रतिक्रिया हुन आउँछ । सिनोफार्म र कोभिसिल्डको विषयमा कुनै यस्तो अध्ययन अनुसन्धान भएको छैन,’ डा.दुलालले भने ।