मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत २९ आइतबार
  • Sunday, 11 April, 2021
रमेश रावल वीरेन्द्रनगर
२०७७ फाल्गुण २० बिहीबार ०८:०३:००
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली प्रदेशमा आत्महत्या बढ्दै : चार वर्षमा नौ सय  ८७ जनाले आत्महत्या गरे

Read Time : > 2 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ फाल्गुण २० बिहीबार ०८:०३:००

प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना, मुगुमा सबैभन्दा कम

कर्णाली प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । चार वर्षको तथ्यांक विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या बढेको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष ०७४/७५, ०७५/७६, ०७६/७७ र ०७७/०७८ को पुस मसान्तसम्ममा नौ सय ८७ जनाले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना भएका छन् । चार वर्षको अवधिका सुर्खेतमा तीन सय ९२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम आत्महत्या मुगुमा पाइएको छ । सो अवधिमा मुगुमा दशजनाले आत्महत्या गरेका छन् । 

सुर्खेतमा आर्थिक वर्ष ०७४/७५ मा ९५, ०७५/७६ मा ९८, ०७६/७७ मा एक सय १८ र ०७७/७८ को पुस मसान्तसम्ममा ७६ जनाले आत्महत्या गरेका छन् । आव ०७४/७५ सुर्खेतमा ९५ जनाले आत्महत्या गर्दा दैलेखमा ३९, जाजरकोटमा सात, रुकुम पश्चिममा २६, सल्यानमा ६०, जुम्लामा १२, डोल्पामा एक, हुम्लामा एक, मुगुमा दुई र कालिकोटमा १२ जना गरी दुई सय ५५ जनाले आत्महत्या गरेका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार त्यसमध्ये सबैभन्दा बढी झुन्डिएर एक सय १८, विषसेवन गरेर ५८, अग्लो स्थानबाट हामफालेर तीनजना, पानीमा हामफालेर पाँच र हातहतियार प्रयोग गरेर एकजनाले आत्महत्या गरेको तथ्यांक छ ।

आर्थिक वर्ष ०७५/७६ सुर्खेतमा ९८, दैलेखमा ३८ जाजरकोटमा ६, रुकुम पश्चिममा ३२, सल्यानमा ५०, जुम्लामा १०, जुम्लामा एक, मुगुमा ६ र कालिकोटमा नौजना गरेर दुई सय ५० जनाले आत्महत्या गरेका थिए । सो अवधिमा डोल्पामा आत्महत्याको घटना भएको थिएन । त्यसमध्ये सबैभन्दा बढी झुन्डिएर एक सय ८४ तथा विष खाएर ६४ जनाले ज्यान गुमाए ।

आव ०७६/७७ सुर्खेतमा एक सय २८, दैलेख ४३, जाजरकोटमा ६, रुकुम पश्चिममा २६, सल्यानमा ६५, जुम्लामा ११, डोल्पामा एक, हुम्लामा दुई, मुगुमा शून्य र कालिकोटमा चारजना गरेर दुई सय ८६ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी झुन्डिएर दुई सय ३०, विष खाएर ५२, हामफालेर एक र हातहतियार औजार प्रयोग गरेर तीनजनाले आत्महत्या गरेका छन् । ०७७/७८ को पुससम्ममा सुर्खेतमा ७६, दैलेखमा ३३, जाजरकोटमा १६, रुकुम पश्चिममा २२, सल्यानमा ४८, जुम्लामा १३, डोल्पामा शून्य, हुम्लामा दुई, मुगुमा दुई र कालिकोटमा नौजना गरेर दुई सय २१ जनाले आत्महत्या गरेको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा बढी झुन्डिएर एक सय ६५, विष खाएर ५१, हामफालेर चार र हातहतियार औजार प्रयोग गरेर एकजनाले आत्महत्या गरेका छन् ।

गरिबी र बेरोजगारी आत्महत्याको एउटा कारण
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रवक्ता हरिराज वाग्लेका अनुसार धेरै कारणले आत्महत्या गरिएको पाइएको छ । ‘धेरै आत्महत्या त आवेशमा आएर हुने गरेको छ,’ उनले भने, ‘पारिवारिक कलह, नैराश्यता, मानसिक रोग तथा दीर्घरोगका कारण आत्महत्या गर्ने पनि छन् ।’ गरिबी, प्रेममा धोका, असफलताका, आर्थिक लेनदेन, व्यावसायिक तनावका कारण पनि आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको सूचना अधिकारी वाग्लेले जानकारी दिए । 

कर्णालीमा गरिबी र बेरोजगारीलगायत समस्या रहेका कारण आत्महत्या बढ्दै गएको हुन सक्ने कर्णाली प्रदेश अस्पतालका मनोचिकित्सक डा. सुशील समदर्शीले बताए । ‘मानिसले आत्महत्या गर्नुका कारण धेरै हुन सक्छन्,’ उनले भने, ‘त्यसमध्ये ९० प्रतिशत त गरिबी र बेरोजगारीका कारण उत्पन्न मानसिक तनावले आत्महत्या गरेको पाएका छौँ ।’

मनोपरामर्श विधि जनस्तरमा पुर्‍याउन विज्ञको सुझाब
आत्महत्याको यो संख्या हेर्दा यसले सिंगो समाजमा फैलँदै गएको देखिएको छ । त्यसैले विज्ञहरूले मनोपरामर्श विधिलाई जनस्तरसम्म पुर्‍याउन सुझाब दिएका छन् । प्रायःजसो उदासीपन, निर्णय लिन अक्षम, आर्थिक अभाव, मानसिक र दीर्गरोग, दुव्र्यसन र मादक पदार्थ सेवनलगायत कारण मानिसले सजिलै आत्महत्याको बाटो रोज्ने गरेका छन् । डा. समदर्शीका अनुसार यस्ता कारण रोक्न मनोपरामर्श विधि प्रभावकारी हुन्छ । 

‘तनावमा जाँदासाथ मनोपरामर्श विधिबाट उपचार हुन सक्यो भने आत्महत्या रोक्न सकिन्छ,’ डा. समदर्शीले भने, ‘पारिवारिक तथा अन्य सामुदायिक तवरले उपचारको विधि पनि खोज्न सकिन्छ ।’ उनका अनुसार आत्महत्या गर्ने विचार बारम्बार मनमा आउन लागेपछि त्यस्ता व्यक्तिले कुनै रूपमा आफ्नो विचार पोख्ने गर्छ । ‘जीवन निराश छ । अब भेट नहुन पनि सक्छ । जीवनको कुनै सार छैन । सपनाहरू कुनै सफल भएनन् आदि–इत्यादि भन्न थाल्यो भने मानिसमा केही न केही गडबढी छ भनेर बुझ्नुपर्छ,’ डा. समदर्शीले भने, ‘त्यस्ता व्यक्तिलाई समयमै मनोपरामर्श दिन थालियो भने आत्महत्या रोक्न सकिन्छ ।’