मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ५ आइतबार
  • Sunday, 18 April, 2021
२०७७ फाल्गुण १९ बुधबार १७:५५:००
Read Time : > 2 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पूर्वप्रधानमन्त्रीसहित एक सय ६५ सांसदले  लगाए कोभिडविरुद्धको खोप

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण १९ बुधबार १७:५५:००

राष्ट्रपति र प्रधानमन्त्रीको टुंगो लागेन

पूर्वप्रधानमन्त्रीसहित एक सय ६५ सांसदले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यतालिकाबमोजिम बुधबार संघीय संसद्का एक सय ६५ जना सांसद र अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी तीन सय १७ जनाले गरी चार सय ८२ जनाले कोभिसिल्ड खोप लगाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए । 

स्वास्थ्य मन्त्रालयका अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पहिलो दिन नै खोप लगाएका छन् । नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा कोभिडविरुद्धको खोप लगाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले भने खोप लगाएका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूले खोप लगाउने–नलगाउनेबारे टुंगो लागेको छैन । ‘हामीले आउने कि नआउने भनेर सोधेका थियौँ,’ स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ भन्ने जवाफ आएको छ । केही दिनमा निर्णय होला ।’

२३ फागुनबाट प्रतिनिधिसभाको बैठक सञ्चालन हुने भएपछि संसद् सचिवालयले संसद्सँग आबद्ध सबै सांसद, पिए, कर्मचारी, पत्रकारहरूलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरेको थियो । १५ सयले खोप लगाउने अनुमान संसद् सचिवालयको छ । संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘सबै सांसदहरू, सांसदका पिएहरू, मर्यादापालक, कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायत १४–१५ सय जनाले खोप लगाउँछन् भन्ने हाम्रो अनुमान हो ।’

सभामुख सापकोटा बुधबार बिहान १० बजे नै खोप लगाउन सिभिल हस्पिटल पुगेका थिए । ‘वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि निर्धक्क भएर सबैले खोप लगाए हुन्छ । किनभने यो विज्ञानको कुरा हो । वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीले हिच्किचाहट नगरी खोप लगाउँदा हुन्छ,’ खोप लगाएपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले भने ।

‘खोप भर्खर लगाइयो । अलि च्वास्स हुँदो रहेछ, अहिले अरू त केही अनुभव छैन । अर्काे कुरा, महामारीविरुद्ध विज्ञानले अनुसन्धान गरेर ल्याएको हो, त्यसलाई प्रयोग गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने । खोप अभियान तीन दिनसम्म चल्नेछ । बिहीबार संघीय संसद् सचिवालयका कर्मचारीहरू, स्वकीय सचिव, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्नेलगायत सुरक्षाकर्मीले खोप लगाउन सक्ने सचिवालयको भनाइ छ । त्यस्तै, शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरका कर्मचारी र छिटपुट भएका सबैलाई खोप लगाइनेछ ।

अनुदानको आठ लाख खोप ल्याउन चार्टर विमान चीन पठाइने

चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने कोभिड–१९ विरुद्धको खोप ‘सिनोफार्म’ ल्याउन नेपाल आफैँले खर्च गर्नुपर्ने भएको छ । अनुदानको आठ लाख डोज खोप आफ्नै खर्चमा ल्याउनुपर्ने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनले दिएको आठ लाख डोेज खोप लिन चार्टर विमान पठाउन लागिएको छ । ‘अनुदानको खोप भए पनि आफ्नै खर्चमा ल्याउनुपर्ने भएको छ,’ विभागका एक अधिकारीले भने, ‘नेपाल एयरलाइन्स वा हिमालयन एयरलाइन्स कुन जहाज पठाउने भन्ने यकिन निर्णय भइसकेको छैन ।’ 

विमान चार्टर गर्न कम्तीमा १० हजार डलर खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी दश दिनभित्र सो खोप आउनेछ । अनुदानको खोप ल्याउन विमान चार्टर गर्नु उचित नहुने सुझाब स्वास्थ्य मन्त्रालय र विभागका अधिकारीहरूले दिएका छन् । गत ९ माघमा भारत सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज उसकै खर्चमा नियमित उडानमार्फत नेपाल पठाएको थियो ।

सिनोफार्म ७९, कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी
भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । चीनको सिनोफार्म खोपप्रति नेपाली जनतामा त्यति धेरै आकर्षण देखिएको छैन । भाइरसविज्ञ डा.सन्तोष दुलाल सिनोफार्मभन्दा कोभिसिल्ड निकै प्रभावकारी भएको बताउँछन् । उनका अनुसार चीनले अनुदानमा दिएको सिनोफार्मको असर कोभिसिल्डको भन्दा बढी हुन सक्छ । सिनोफार्म रासायनिक रूपले कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप भएको उनको भनाइ छ । ‘यसको प्रयोगले केही असर गर्न सक्छ, तर अक्सफोर्ड–एस्ट्राजेनेकाले भारतमा उत्पादन गरेको कोभिसिल्ड खोप चिम्पान्जीको गैरसंक्रामक र हानिरहित एडेनो भाइरस भेक्टरमा कोरोना भाइरसको स्पाइक प्रोटिनलाई जेनेटिकल्ली मोडिफाइड गरिएको छ, यसको प्रयोगले शरीरमा असर गर्दैन,’ उनले भने ।

भारत बायोटेकले उत्पादन गरेको ‘कोभ्याक्सिन’ पनि रासायनिक रूपले पूर्ण कोरोना भाइरसलाई निष्क्रिय पारिएको खोप हो । सिनोफार्मको प्रभावकारिता ७९ प्रतिशत छ भने कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी र सुरक्षित देखिएको छ । डा.दुलालका अनुसार सिनोफार्म खोपमा मृत भाइरस हुन्छ, जसले मानिसहरूलाई संक्रमित गर्न असमर्थ हुन्छ, तर पनि प्रतिरक्षा प्रणालीलाई संक्रमणको निर्देशन दिई कोभिड संक्रमणबाट रक्षा गर्न प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाइराख्छ । ‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका ३० लाखमध्ये ३० जनामा गम्भीर एनाफाइलेक्सिस असर देखिएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अक्सफोर्ड–एस्ट्राजेनेका खोप लगाएका प्रति १० लाखमा १० जनामा एनाफाइलेक्सिस प्रतिक्रिया हुन आउँछ । सिनोफार्म र कोभिसिल्डको विषयमा कुनै यस्तो अध्ययन अनुसन्धान भएको छैन,’ डा.दुलालले भने ।