मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण १५ शनिबार १८:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मकवानपुरमा तरकारी सुपरजोन बनाइने

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण १५ शनिबार १८:०४:००

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुरमा सञ्चालित तरकारी जोनलाई सुपरजोन बनाउन सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले तरकारी जोनलाई सुपरजोनमा सिफारिस गर्ने निर्णय गरेको 
हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरेको हो । 
    
बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी जोनको कार्यक्षेत्र थाहा नगरपालिका वडा नम्बर १ देखि १२ सम्म ६ सय हेक्टर र इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा चार सय ५० हेक्टर गरी एक हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनमा सिफारिस गरेको हो । उक्त क्षेत्रमा तरकारी खेती रहेकाले सुपरजोनका लागि सिफारिस गरिएको समितिका अध्यक्ष खुलालले जानकारी दिए । सुपरजोनका लागि जिल्ला समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने उनले बताए । 
    
यसैगरी, बैठकले जिल्लामा उत्पादित बालीको प्राथमिकीकरणसमेत गरेको छ । स्थानीय तहका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्यांकका आधारमा जिल्लामा खेती भइरहेका बाली तथा पशु–व्यवसायको प्राथमिकीकरण गरिएको जिससले जनाएको छ । स्थानीय तहबाट प्राप्त तथ्यांकका आधारमा जिल्लामा एक नम्बरमा तरकारी÷आलुखेतीलाई प्राथमिकीकरण गरिएको छ । यस्तै, दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथोमा धान र पाँचौँमा अदुवा÷बेसारलाई प्राथमिकीकरण गरिएको हो । 
    
कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालित छ । कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपरजोन)का रूपमा वर्गीकरण गरी कृषिसम्बन्धी कार्यक्रम सञ्चालन हुने गरेका छन् । कार्यक्रममार्फत किशानलाई प्राविधिक, साना सिँचाइ, उत्पादन सामग्रीलगायतमा सहयोग गर्ने गरिएको छ ।