Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०८:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिक्टा सिँचाइको निर्माण अवधि २३ वर्ष पुर्‍याइयो, साढे १५ वर्षमा ६७ प्रतिशत काम

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ फाल्गुण १४ शुक्रबार ०८:०३:००

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण थालेको साढे १५ वर्ष पूरा भएको छ । १० वर्षमा पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको आयोजना १५ वर्ष पूरा हुँदासम्म पनि ६७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

 चालू आर्थिक वर्ष ०७७/७८ मा निर्माण सक्ने पहिलो संशोधित लक्ष्य पूरा नभएपछि पुनः दोस्रोपटक संशोधन गरेर आर्थिक वर्ष ०८४/८५ को नयाँ लक्ष्य तोकिएको छ । दोस्रोपटक संशोधन गरिएको लक्ष्यमा काम पूरा भएमा आयोजना सम्पन्न गर्न २३ वर्ष लाग्ने देखिएको छ । अहिलेसम्म आयोजनामा १७ अर्ब ९ करोड खर्च भएको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कुल १६ अर्ब ६९ करोड खर्च भएको थियो । 

चालू आर्थिक वर्षमा १ अर्ब ५२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म ४० करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको समय बढ्दै जाँदा लागत पनि बढ्न थालेको छ । आयोजनाको सुरुवात आर्थिक वर्ष ०६१÷६२ मा कुल लागत १२ अर्ब ८० करोड अनुमान गरिएको थियो । तर, अहिले करिब दोब्बर २५ अर्ब २ करोड लाग्ने नयाँ संशोधित अनुमान गरिएको छ ।  

लागत वृद्धि हुनुमा मुद्रास्फीति, आयोजनाको गुरुयोजनामा गरिएको परिवर्तन नै मुख्य कारण रहेको सिक्टा सिँचाइ आयोजना प्रमुख लोकबहादुर थापाले बताए । ‘आयोजनाको समयावधि बढेर ७–८ वर्ष पुग्नेबित्तिकै मुद्रास्फीतिले लागतलाई दोब्बर पुर्‍याउँछ, त्यसमा थप कारण विस्तृत आयोजना प्रतिवेदनमा भएको संशोधन पनि हो,’ उनले भने । 

काम ढिलाइ हुनुमा दक्ष प्राविधिक कर्मचारीको अभाव मानिएको छ । आयोजनामा राजपत्रांकित दोस्रो श्रेणीका ४ जना अधिकृत हुनुपर्नेमा १ जना मात्र रहेको र १० जना इन्जिनियर हुनुपर्नेमा ५ जना मात्र रहेको उनले जानकारी दिए । पूर्ण रूपमा प्राविधिक जनशक्ति र अन्य आवश्यकता पूरा गर्ने हो भने आगामी ३ वर्षमै काम सक्ने आयोजना प्रमुख थापाको दाबी छ । 

बाँकेको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरेर त्यस क्षेत्रको ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने लक्ष्य छ । त्यसमध्ये राप्ती–पश्चिम दायाँतर्फ ३३ हजार ७ सय ६६ र राप्ती–पूर्व बायाँतर्फ ९ हजार हेक्टरमा सिँचाइ पुग्नेछ । अहिलेसम्म पूर्वी मूल नहरको करिब ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

यसले पश्चिम तथा पूर्व गरी करिब ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । तर, पश्चिम मूल नहरको माटो घुलनशील देखिएको र नहर सञ्चालन गर्दा भत्किने गरेकाले ‘ड्रेनेज’ व्यवस्थापनमा समस्या देखिएकाले ढिलाइ भएको थियो । अहिले यो समाधान भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । 

 आयोजनाका समस्या र चुनौती
आयोजना कार्यालयको प्रतिवेदनअनुसार गुरुयोजनामा संशोधन भइरहँदा निर्माण लागत र समय लम्बिरहेको छ । अर्कोतर्फ प्राविधिक जनशक्तिको कमी देखिएको छ । पर्याप्त बजेट विनियोजन नहुँदासमेत समस्या भोग्नुपरेको छ । त्यस्तै, कतिपय अदालतमा गएका विषय टुंगो नलाग्दा पनि आयोजनालाई कठिनाइ भएको छ । त्यस्तै, वर्षाको समयमा नदीजन्य सामग्री निकाल्न नपाउँदा नहर पुरिने र पानीको सतह माथि आउने समस्या कायम छ । 

सिक्टा सिँचाइ आयोजना बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । वन र निकुञ्ज क्षेत्रभित्र नदीजन्य निर्माण सामग्री आपूर्तिमा बन्देज छ । यसले पनि आयोजनालाई समस्या भइरहेको छ । अन्य आयोजनामा जस्तै स्थानीयले समय–समयमा बाटाघाटा ग्राभेल गरिदिनुपर्ने, कल्भर्ट बनाइदिनुपर्नेजस्ता माग राखी अवरोध गर्ने गरेका छन् । त्यस्ता मागलाई समयमा सम्बोधन गर्न नसक्दा अवरोध भोग्नुपरेको छ । त्यस्तै, आयोजनाको नहर क्षेत्रभित्र पर्ने जग्गा, घरटहरा आदिको मुआब्जा र क्षतिपूर्ति सम्बन्धमा पनि समस्या रहेको छ । विशेष गरी मुआब्जा वितरण कार्यमा विवाद रहेको छ ।