मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १३ बिहीबार
  • Thursday, 25 February, 2021
२०७७ फाल्गुण १० सोमबार १०:०७:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नयाँ वर्षमा करिश्माको कोसेली : आत्मकथा

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण १० सोमबार १०:०७:००

चालीसको दशकमा नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर अभिनय, सिनेमा निर्माण, राजनीति, अध्ययनलाई समेटेर पुस्तक लेख्दै 

बिहान सबेरै उठ्ने, मर्निङवाकमा निस्कने, त्यसपछि दिनभर लेखेर बस्ने । अचेल अभिनेत्री करिश्मा मानन्धरको दैनिकी यसरी नै बित्ने गरेको छ । नेपाली सिनेमा क्षेत्रमा तीन दशक बिताइसकेकी करिश्माले कैयौँ खुसीका पलहरू, अप्ठ्यारा सम्बन्ध र पीडाहरूलाई पटुकी कसेर बसेकी थिइन् । तिनै उहापोहलाई पुस्तकको रूप दिँदै छिन् । आफ्नो जीवनकथा (आत्मकथा) का ५०–६० हजार शब्द उतारिसकेकी छिन् । कथाका शृंखला थपिँदै गएका छन् । जति लेख्दै गयो, उति विगततिर बरालिँदै पनि छिन् । विगतका ती उज्याला दिनहरू, अँध्यारा रातहरू फेरि ब्युँतिइरहेका छन् । 

पहिलोपटक ‘सन्तान’ चलचित्रमा काम गर्दाका अनुभूति र घटना होस् या अमेरिकातिर बरालिँदाका । अथवा, सन् ९० को दशकको व्यस्त जीवनका कथा होस् या आमा र मामाघरका स्मृतिहरू । सबै सबैलाई सिलसिलेबर गरिरहेकी छिन्, चलचित्रसँग नभएको साइनो, चलचित्रसँग बनेको साइनो र त्यसमार्फत करिश्माको चम्किएको करिश्मा । सात कक्षामा पढिरहँदा त उनले खासै चलचित्र नै हेरेकी थिइनन् ।

सानैमा मामाघर बसेकी थिइन्– सिन्धुपाल्चोक । आमाका पिता अर्थात् हजुरबा बितेपछि मामाघर गएकी थिइन् । सात वर्षसम्म मामाघरको बसाइ बिट मार्दै काठमाडौं फिरिन्– थापागाउँ । करिश्माका दुई आमाका सम्बन्धदेखि इलामको ब्यारेकमा गणपति भएकै अवस्थामा नवमीको दिन बितेका पिताका कथा लेखिरहेकी छिन् । लेखिरहँदा कहिले भावुक हुन्छिन् ती दिन सम्झेर । कहिले उत्साहित हुन्छिन् । कहिले उदास त कहिले खुसी । हरेक दिन विगततिर फर्कदा कहिले त उकुसमुकुस पनि हुन्छिन् । ‘बिर्सिकेका घटना र दिनहरू आँखैअघि आइदिन्छन् । जति खोतल्दै गयो उति धेरै कुरा आउँदा रहेछन्,’ उनी सुनाउँछिन् ।

एक समय थियो, नेपालमा पाकिस्तानी चलचित्र खुबै सुटिङ हुने गथ्र्यो । चालीसको दशकमा एकाध नेपाली चलचित्र पनि बन्ने गर्थे । त्यहीवेला करिश्मालाई उज्ज्वल घिमिरेले ‘फोटो खिचौँ चलचित्रका लागि’ भनेर प्रस्ताव राखे । उक्त चलचित्र ओम प्रोडक्सनमा पुगेर पनि पाकिस्तानी चलचित्रका टिमसम्म पुगिसकेछ । यसपछि चलचित्रको टिमबाट भेट्न अनुरोध आयो उनलाई चोभारमा । टिमले उनलाई हेरेपछि प्रतिक्रिया दियो, ‘ओहो, यो त बच्चै छ । बच्चाको भूमिका सुहाउला बरु । राम्री त राम्री छिन् । तर, अहिल्यै वेला भएको छैन, पछि हेरौँला ।’ 

समय बित्दै गयो । करिश्मा हुर्र्कदै गइन् । र, चलचित्रमा डेब्यु गर्ने साइत जुर्‍यो– ‘सन्तान’मा । भगवानदास श्रेष्ठ, उज्ज्वल घिमिरे, अर्जुनजंग शाहीलगायतको टिम ‘सन्तान’ बनाउन कस्सिएको थियो । र, छोटो भूमिका पाइन् एक गीतसहितको । सात कक्षामा पढिरहेकी करिश्मा यसपछि बिस्तारै हुर्कदै गइन् । ‘सन्तान’ हुर्किएर हलमा पनि पुग्यो । यता नेपाली चलचित्र पनि हुर्कन थाल्यो । उता करिश्मा पनि हुर्कँदै गइन् । दुवै सँगसँगै हुर्किए ।

बीचमा निर्देशक प्रकाश थापासँग करिश्माको झगडा पर्‍यो । त्यो पनि चलचित्र क्षेत्रमा पाइला राखेकै समयमा । सुटिङको क्रममा थापालाई करिश्माले ‘जा बुढो’ भनेकी थिइन् । यसको असर पछि देखियो । थापा बम्बईमा काम गरेर आएका निर्देशक थिए । अभिनय, सम्पादन, निर्देशनको ज्ञान भएका । पछि थापाले अरू मान्छेलाई करिश्माबारे भनेको थाहा पाइन्, ‘यो त सन्की रहिछे ।’ यसपछि करिश्माका हातबाट धेरै चलचित्र गए । करिश्माका हातमा चलचित्र आउनै छाडे । 

दोस्रो चलचित्र ‘निष्ठुरी’मा शम्भु प्रधानसँग काम गरिन् । ‘निष्ठुरी’ एक महिना मात्रै सुटिङ भएर निष्ठुरी नै बन्यो । चलचित्र निर्माण रोकियो । तर, लगत्तै करिश्माले उनै प्रधानसँग ‘मायालु’मा काम गरिन् । छ, सात गीत थिए । दिनभरि सार्वजनिक गाडी चढेर सुटिङमा जान्थिन् । धेरै कुरा थाहा पाएकी थिइनन् । ‘मायालु’ले सिकायो । यसपछि पढ्न पनि गइन् बम्बई ।
पढ्न त करिश्मा अहिले पनि पढिरहेकी छिन्, प्लस टु ।

आठ कक्षाबाट स्कुल गएर सरासर पढेर एसइई दिएकी थिइन् । ती कक्षाहरू, जो करिश्माले उमेरमा पढ्न सकिनन् । उमेरअनुसार पढ्न छुटाइन् । मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सात पढ्दापढ्दै पढ्नै छाडिदिएकी उनले ३२ वर्षपछि स्कुल टेकेकी थिइन् । स्कुल टेक्दाको करिश्माको अनुभव छँदै छ । साथै जब क्लासमा छिर्थिन् र सहपाठीहरू देख्थिन् अनि सोच्थिन्, ‘मैले यो समय छुटाएँको थिएँ । यही जीवन छुटाएकी थिएँ । तर, अब फेरि यही जीवनमा फर्कँदै छु । यही जीवन बाँच्दै छु ।’ यसपछि करिश्मामा पढ्ने जाँगर आउँथ्यो । ‘मैले आठ कक्षादेखि एसइईसम्म एक दिन पनि क्लास छुटाइनँ । बिहान ९ बजेदेखि साँझ ६–७ बजेसम्म स्कुलमै हुन्थेँ । यसरी तीन वर्ष बिताएँ ।’ 

‘भाग्यरेखा’मा करिश्माले पहिलोपटक अभिनेता राजेश हमालसँग काम गर्दाका अनुभूति लेखिरहेकी छिन् । यसपछि हमालसँगै गरेका चलचित्रहरूबारे लेख्नेछिन् । अमेरिका गइन् । त्यहाँ एक किसिमको संघर्ष थियो करिश्माको । आफ्नै निर्माणमा बनेको ‘बाबुसाहेब’ असफल बनेपछि अमेरिका गइन् । एक दशकपछि फेरि नेपाल फिरिन् । चलचित्रहरू गरिन् । चलचित्रका गीतमा नाचिन् । राजनीतिमा लागिन् । त्यो चर्चाको विषय बन्यो । पछि बाबुराम भट्टराईको नयाँ शक्ति छाडिन् । अहिले राजनीतिमा उनलाई त्यति चासो छैन ।

सन् १९९१ मा विनोद मानन्धरसँग विवाह गरेपछि केसीबाट मानन्धर बनेकी थिइन् करिश्मा । अहिले त ३० वर्षको भइसक्यो विनोद–करिश्माको वैवाहिक जीवन । यसबीचमा चित्त दुखाइ भए होलान् । खुसीका पलहरू भए होलान् । अप्ठ्यारोमा साथ र हौसला थिए होलान् । सन् १९९४ मा छोरी कविता मानन्धर जन्मिइन् । छोरीलाई बोेकेर सुटिङमा गइन्, आइन् । ‘यी सबै कथालाई लेख्दै छु । विनोदको साथ, सहयोग । कविताप्रतिको माया, स्नेह सबै लेख्दै छु । मेरो जिन्दगीको प्याकेज बनेर आउँदै छ आत्मकथा,’ गोदावरीको घरमा कुराकानी गर्दै करिश्माले सुनाइन् ।

करिश्माले आत्मकथा ल्याउने चर्चा ६ वर्षअघिदेखि नै थियो । तर, योबीचमा उनको आत्मकथा आएन । बरु धेरै घटनाहरू थपिए । उनले एसएलसी पास गरिन् । राजनीतिबाट बाहिर निस्किइन् । यसपटक भने आत्मकथा जसरी पनि ल्याउने योजनामा छिन् । १ वैसाखमा विमोचन गर्ने उनको चाहना छ । ‘फागुन महिनाभरमा सकिन्छ होला किताब । त्यसपछि अन्तिम काम गरेर १ वैशाख विमोचन गर्ने योजना छ । तर, हेरौँ के हुन्छ । किताब त वैशाखमै आउँछ,’ करिश्माले सुनाइन् ।