मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १३ बिहीबार
  • Thursday, 25 February, 2021
मनाङको भीमथाङ उपत्यकास्थित पोङकर हिमताल । तस्बिर सौजन्य : सुदनविकास महर्जन
२०७७ फाल्गुण १० सोमबार ०९:३८:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

उच्च जोखिममा नेपालका २१ हिमताल

भारतको उत्तराखण्डमा जस्तै नेपालभित्र रहेका हिमतालमा पहिरो र बाढी आए ठूलो क्षति पुग्न सक्ने अध्ययनको निष्कर्ष

Read Time : > 4 मिनेट
२०७७ फाल्गुण १० सोमबार ०९:३८:००

भारतको उत्तरखण्डमा पर्ने चमोली जिल्लामा गत ७ फेब्रुअरीमा अचानक आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । अहिलेसम्म ५५ जनाको शव भेटिएको छ । एक सय बढी अझै हराइरहेका छन् । दुईवटा निर्माणाधीन जलविद्युत् परियोजना ध्वस्त पारेको यो विपत्तिले निम्त्याएको क्षति यकिन हुन बाँकी छ ।

हिउँदयाममा कसरी यो संकट आयो भन्ने अझै यकिन हुन सकेको छैन । भारतीय अधिकारीहरूले यस विषयमा अध्ययन थालिने जनाएका छन् । यद्यपि, हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैँ जोखिममा रहन्छन् । हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । 
हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट अहिले भारतको उत्तराखण्डमा देखिएको वा त्योभन्दा ठूलो हुने गर्दछ । हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्दछ । 

हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् । हिमनदी, हिमताल र हिमाली हावापानीबारे अध्ययन गर्दै आइरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले गत भदौमा सार्वजनिक गरेको एउटा अध्ययन रिपोर्टले नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको देखाएको छ । 

इसिमोड र युएनडिपीले पछिल्लो झन्डै तीन वर्ष लगाएर गरेको अध्ययनअनुसार कुनै पनि समय फुट्न सक्ने धेरै हिमतालको पहिचान भएको छ । सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पु¥याउन सक्ने तीन हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको छ । यसमध्ये कोसी बेसिन (जलाधार) अन्तर्गत धेरै हिमताल देखिएका छन् । कोसी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ । यस्तै, कर्णाली बेसिनमा एक हजार एक सय २८ र गण्डकी बेसिनमा चार सय ३२ हिमताल छन् । 

स्याटलाइट इमेज (भूउपग्रहमार्फत लिइएको तस्बिर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पुर्‍याउन सक्ने उच्च जोखिममा देखिएका छन् । यसबाट धेरै क्षति हुन सक्ने सम्भावना कोसी बेसिन अर्थात् कोसी तटीय क्षेत्रका बस्तीमा देखिएको छ । कोसी बेसिनअन्तर्गत ४२ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको इसिमोडको रिपोर्टमा छ । यस्तै, गण्डकी बेसिनअन्तर्गत तीनवटा हिमताल र कर्णाली बेसिनअन्तर्गत दुईवटा हिमताल कुनै पनि समय फुट्न सक्ने अवस्थामा छन् ।

यसमध्ये २५ हिमाल चीनतर्फ पर्दछ भने २१ वटा नेपालभित्रै पर्दछ । उच्च जोखिममा रहेको बाँकी एक हिमताल भारततर्फ रहेको छ । चीनतर्फको २५ र भारततर्फको उच्च जोखिममा रहेको एक हिमताल विस्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुनेछ, किनभने ती हिमताल फुटेपछि बग्ने नेपालतर्फ नै हो ।

इसिमोडले हिमतालको बढिरहेको दर, त्यसवरपरको भौगोलिक अवस्थिति, हिउँपहिरो आउन सक्ने सम्भावनालगायत धेरै कुरालाई आधार बनाई जोखिमपूर्ण हिमतालको पहिचान गरेको जनाएको छ । अध्ययनमा संलग्न रिमोट सेन्सिङ एनालिस्ट क्रायस्फेयर सुदनविकास महर्जन भन्छन्, ‘हामीले स्याटेलाइट इमेज र अरू धेरै माध्यमबाट नेपालभित्रै रहेका तथा चीन र भारतमै रहेर पनि नेपालमा क्षति पुर्‍याउन सक्ने हिमतालहरूको पहिचान गरेका छौँ । यसको स्थलगत थप अध्ययन गर्न आवश्यक छ ।’

प्राकृतिक प्रकोपबाट बर्सेनि  तीन सय ३३ को मृत्यु
नेपालमा सन् १९९७ देखि नै हिमताल विस्फोट भएर क्षति पुर्‍याउँदै आएको छ । त्यसयताको २४ वर्षको अवधिमा २६ वटा हिमताल विस्फोट भएको छ । त्यसमध्ये १४ वटा नेपालभित्रैका हिमताल फुटेका छन् । नेपालले वर्षाैंदेखि प्राकृतिक प्रकोपबाट ठूलो मानवीय र भौतिक क्षति बेहोर्दै आएको छ ।

नेपाल सरकारले सन् २०१९ मा सार्वजनिक गरेको रिपोर्टअनुसार प्राकृतिक प्रकोपबाट औसतमा प्रत्येक वर्ष तीन सय ३३ जनाले ज्यान गुमाउने गरेका छन् । यस्तै, प्रतिवर्ष औसतमा एक करोड ७२ लाख ४० हजार अमेरिकी डलरबराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको जनाएको छ । यसमा हिमपहिरो, हिमताल विस्फोटलगायत विभिन्न कारणले आएको बाढीको कारण मानिएको छ ।

नेपालमा किन बढ्दै छन् हिमताल ?
नेपालमा हिमतालको संख्या बढ्दो अवस्थामा देखिएको छ । सन् १९७७ मा ११६० वटा हिमताल पाइएको कोसी बेसिनमा सन् २०१० मा २१६८ हिमताल भेटिएको थियो । अरू रिभर बेसिनमा पनि हिमताल बढेको पाइएको छ । नेपालमा किन बढिरहेको छ हिमताल ? हिमताल र हिमनदीको अध्ययन गर्दै आइरहेका विज्ञ सुदनविकास महर्जनका अनुसार जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण यो परिवर्तन देखिएको हो । ‘हिमतालहरू विभिन्न कारणले बन्ने गर्दछन्,’ उनी भन्छन्, ‘त्यसको मुख्य कारण जलवायु परिवर्तन र तापक्रम वृद्धि नै हो । नेपालभित्र मात्रै होइन, सबै हिमाली क्षेत्रमा यस्तो समस्या देखिएको छ ।’

इसिमोड र युएनडिपीले गत २२ भदौमा सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालभित्रै रहेका १५ हिमताल कुनै पनि समय विस्फोट भई मानव बस्तीमा पसेर क्षति पुर्‍याउन सक्ने अवस्थामा देखिएका छन् । उच्च जोखिममा रहेका केही हिमताल :

लोयर वरुण : अनुसन्धानकर्ताहरूका अनुसार लोयर वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्‍याउने उच्च जोखिममा देखिएको छ । यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । ग्लेसियरका टुक्राहरू झर्ने धेरै सम्भावना छ । तालको दायाँतर्फ पहिरो जान सक्ने र हिउँपहिरो पनि आउन सक्ने सम्भावना छ । योभन्दा माथि एउटा ठूलो र थप दुईवटा स–साना ताल पनि भेटिएका छन् । यसले गर्दा लोयर वरुण हिमताल उच्च जोखिममा देखिएको हो ।

चाम्लाङ : दूधकोसी रिभर बेसिनअन्तर्गत पर्ने चाम्लाङ मानव बस्तीलाई ठूलो क्षति पुर्‍याउन सक्ने उच्च जोखिममा रहेको हिमताल हो । यो हिमतालको माथिपट्टि ग्लेसियर झुन्डिएको छ । यसमा हिमपहिरोको ठूलो सम्भावना देखिएको छ । यसको ड्यामको मुनिपट्टि आइस जमेको देखिएको छ । उक्त आइस पग्लिएर ड्याम कमजोर भएको अवस्थामा चाम्लाङ हिमताल विस्फोट हुने सम्भावना धेरै हुन्छ ।

होङ्गु वान : दूधकोसी रिभर बेसिनअन्तर्गत नै पर्ने होङ्गु वान पनि उच्च जोखिम बोकेको हिमताल हो । यो हिमताल जोखिमपूर्ण मानिनुको मुख्य कारण हो, यसको आकार बढ्नु । अध्ययनकर्ताहरूका अनुसार यो ताल छिटोछिटो बढिरहेको छ । 

होङ्गु टु : सन् २०११ मा पत्ता लागेको दूधकोसी रिभर बेसिनअन्तर्गतकै यो हिमताल पनि उच्च जोखिममा छ । यसको माथिपट्टि ठूलो मात्रामा ग्लेसियर छ । हिमपहिरोको सम्भावना देखिएको छ । ड्याम कमजोर देखिएको छ ।

इम्जा च्छो : सोलुखुम्बुमा पर्ने इम्जा नेपालमा रहेको सबैभन्दा जोखिमपूर्ण हिमतालमध्येको एक हो । इम्जा हिमनदीबाट आएको पानी जमेर हिमताल बनेको मानिन्छ । यो हिमताल सन् १९६० देखि नै अस्तित्वमा छ । यो हिमतालमा पानीको मात्राको वृद्धिदर (इन्क्रिज रेट) ४२.१ प्रतिशत रहेको इसिमोडले जनाएको छ ।

जोखिम बढ्दै गएपछि सन् २०१६ देखि इम्जाको पानी कटान गर्न थालिएको छ । युएनडिपी, ग्लोबल इन्भायरोमेन्ट फन्ड र नेपाली सेनाले पानी कटान गरेका हुन् ।

च्छो रोल्पा : तामाकोसी रिभर बेसिनअन्तर्गत पर्ने च्छो रोल्पा हिमताल पनि उच्च जोखिममा छ । यो तालमा एकपटक पानी घटाइएको हो । ग्लेसियर झर्ने सम्भावना र हिमतालको भौगोलिक अवस्थितिका कारण यो हिमताल जोखिममा देखिएको हो ।

लुम्दिङ : दूधकोसी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटोछिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल ग्लेसियरको नजिकको सम्पर्कमा छ । ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।

थुलागी : मर्स्याङ्दी  रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो । इसिमोडकै अध्ययनमा यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो । यसमा पहिरो जाने वा हिमपहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ । ठूलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दी को तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो ।