मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०७७ फाल्गुण १० सोमबार ०९:००:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कोल्टीका दुर्गम गाउँमा आकस्मिक प्रसूति सेवा

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ फाल्गुण १० सोमबार ०९:००:००

मुगु–खत्याड गाउँपालिका– १० ह्याङलुकिककी निर्मला चदारा (२९)लाई तीन दिनदेखि बेथा लागे पनि प्रसूति हुन सकेको थिएन । कमजोर आर्थिक अवस्था र राजनीतिक पहुँच नभएका उनका आफन्तले हेलिकोप्टर मगाएर उनलाई सुविधासम्पन्न स्वास्थ्य केन्द्रमा पुर्‍याउन मुस्किल थियो ।

आफन्तले डोकोमा बोकेर बल्लबल्ल बाजुराको कोल्टी पुर्‍याए । तर, स्वास्थ्य चौकीले बच्चा उल्टो बसेकाले नेपालगन्ज लैजान रिफर गर्‍यो । उनीहरू हत्तपत्त कोल्टी विमानस्थल पुगे । निराश हुँदै त्यहाँ पुगेका उनीहरूले त्यहाँ आसलाग्दो खबर सुने, ‘कोल्टीमै विशेषज्ञ चिकित्सकसहित आकस्मिक प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ ।’ 

नेपालगन्ज हिँड्न लागेका उनीहरू कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगे । जहाँ शल्यक्रियाबाट निर्मलाले स्वस्थ्य बच्चा जन्माइन् । संयोग कस्तो भने कोल्टीमा त्यसै दिनबाट सो सेवा सुरु भएको थियो । त्यसैले शल्यक्रियाबाट बच्चा जन्माउने उनी नै पहिलो महिला बनिन् । सो सेवा सञ्चालन नहुँदा जेठयता प्रसूति हुन नसकेका तथा जटिल अवस्थाका २० जनालाई रिफर गरिएको थियो । तर, अब धेरै राहत भएको छ ।

‘बिरामी हेर्दा जति ढिलो भयो त्यति जोखिमको अवस्था थियो । आफूहरूसँग भएको उपकरणले अप्रेसन गर्न सक्छौँ भन्ने लाग्यो र त्यसमा सफल पनि भयौँ,’ निर्मलालाई नयाँ जीवन दिएको अप्रेसन टोलीका सदस्य डा. अर्जुनप्रसाद तिवारीले नयाँ पत्रिकासँग भने, ‘बच्चा उल्टो अवस्थामा थियो र दिसा खाएको थियो । नेपालगन्ज पुर्‍याउँदासम्म आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्थ्यो । त्यसैले हामीले उतैबाट बोकेर ल्याएको सामग्रीको प्रयोग गरेर अप्रेसन गर्‍यौँ ।’

निर्मलालाई एनेस्थेसिया डा. तिवारीसहित डा. दिल शाही रोका र डा. नम्रता सिन्दानको टोलीले अप्रेसन गरेर प्रसूति गराएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा माग गरिएजति सामग्री नभएकाले केही समस्या भए पनि हाललाई जनशक्तिको भने समस्या नरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । निर्मलाको सफल शल्यक्रियासँगै अन्य धेरै महिलाको ज्यान जोगिने आशा स्थानीयले गरेका छन् । 

कर्णाली प्रदेशका मुगु, हुम्ला, कालिकोटलगायत जिल्लाको समेत सेवा क्षेत्र रहेको र आवश्यक जनशक्ति नभएर स्थानीयले पटक–पटक दुःख भोग्नुपरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुढीनन्दा नगरपालिकासँग सम्झौता गरी जनशक्ति उपलब्ध गराएको हो । नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले आफू निर्वाचित भएपछि यहाँ आकस्मिक प्रसूति सेवा सुरु गर्ने प्रतिबद्धता जनाएकाले निकै प्रयास गरेर सेवा सञ्चालन गरेको बताइन् । 

बाजुराको पूर्वी–उत्तरी भेगको विकट क्षेत्रमा प्रसूति सेवा सुरु भएपछि अब अकालमै ज्यान गुमाउने अवस्था अन्त्य हुने स्थानीयले विश्वास व्यक्त गरेका छन् । कोल्टीमा सेवा सञ्चालन गर्न पटक–पटक प्रयास भएको थियो । बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक ओमजंग शाहीले निकै पटकको प्रयासपछि आकस्मिक सेवा सञ्चालन गरिएको बताए ।