मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण ९ आइतबार १०:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सिन भेरो सेललाई अनुमति

चीन सरकारले गत ३० डिसेम्बरमा खोप ७९ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो 

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ९ आइतबार १०:०१:००

नेपाल सरकारले सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले निर्माण गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भेरो सेल ल्याउन अनुमति दिएको छ । सरकारले आपत्कालीन प्रयोगका लागि ५ फागुनमा सिनोफार्मको भ्याक्सिनलाई अनुमति दिएको हो ।

चीनबाहेक अर्जेन्टिना, पेरु, इजिप्ट, मोरक्कोलगायतका १० वटा देशमा यो भ्याक्सिन प्रयोग भइरहेको छ । नेपालमा पनि औषधि व्यवस्था विभागले अनुमति दिएसँगै चीन सरकारले पाँच लाख डोज भ्याक्सिन सहयोगस्वरूप दिने घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार आपत्कालीन प्रयोगका लागि स्वीकृत भए पनि चीन सरकारले दिने भ्याक्सिन कहिलेसम्म नेपाल आइपुग्छ भन्ने यकिन भएको छैन । 

यो भ्याक्सिन नेपालमा आपत्कालीन प्रयोगका लागि कोभिसिल्डपछि मान्यता दिइएको दोस्रो खोप हो । यसअघि भारत सरकारको सहयोगमा अक्सफोर्ड/एस्ट्राजेनेकाबाट निर्मित कोभिसिल्ड भ्याक्सिन १० लाख डोज ल्याएर प्रयोग भइरहेको छ । जसबाट हालसम्म तीन लाख ८३ हजार तीन सय ९८ जनाले भ्याक्सिन लगाइसकेका छन् । ‘भेरो सेल’ भ्याक्सिनबाट करिब दुई लाख ५० हजारलाई खोप दिन सकिन्छ ।

हाल प्रयोगमा भइरहेको एस्ट्राजेनेकाको खोप सुरक्षित, सामान्य तापक्रममा राख्न मिल्ने र कम मूल्य पर्ने हुँदा थप भ्याक्सिन किन्ने तयारी सरकारले गरिसकेको छ । साथै, सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ‘कोभ्याक्सिन परियोजना’ बाट २२ लाख ५६ हजार डोज भ्याक्सिन ल्याउने योजना पनि छ । यो भ्याक्सिन दुईदेखि तीन चरणमा ल्याइनेछ ।

 नेपालमा प्रयोगका लागि अनुमति पाएको दोस्रो भ्याक्सिन ‘भेरो सेल’ पनि सुरक्षित रहेको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन् । उनी भन्छन्, ‘प्रकाशित भएका विभिन्न अध्ययनअनुसार सिनोफार्मको भ्याक्सिन प्रभावकारी देखिन्छ । यो भ्याक्सिन चीनमा मात्रै एक करोडभन्दा बढीले लगाइसकेका छन् । 

कस्तो छ भेरो सेल ? 
सिनोफार्मअन्तर्गतको भ्याक्सिन भेरो सेल निष्क्रिय भाइरसमा आधारित छ । भेरो सेल तीन चरणमा क्लिनिकल ट्रायल भइसकेको छ । चीन सरकारले गत ३० डिसेम्बरमा खोप ७९ प्रतिशत प्रभावकारी रहेको जनाएको थियो । यस्तै, युएईमा भएको क्लिनिकल ट्रायलमा यो भ्याक्सिन ८६ प्रतिशत प्रभावकारी देखिएको थियो ।