मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पूर्वी उद्गम बिन्दु चिवाभञ्ज्याङ ।
२०७७ फाल्गुण ६ बिहीबार ०८:५७:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

सिक्किमसँग जोडियो मध्यपहाडी लोकमार्ग

नेपाल र सिक्किमबीच सडक सञ्जाल जोडिएसँगै चिवाभञ्ज्याङ झापाको काँकडभिट्टा र इलामको पशुपतिनगरजस्तै नाकाका रूपमा विकास हुने सम्भावना

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ६ बिहीबार ०८:५७:००

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी उद्गमबिन्दु चिवाभञ्ज्याङ भारतको सिक्किमसँगको सडक सञ्जालमा जोडिएको छ । १२ माघमा सिक्किमतर्फको सडक निर्माण पूरा भएपछि सडक सञ्जालमा जोडिएको हो । 

सिक्किमसँग सडक सञ्जालको सीधा सम्पर्क सुरु भएको यो पहिलो स्थान हो । यसअघि सिंहलीला नेसनल पार्क रहेको स्थानमा लामो समयसम्म सिक्किमले सडक निर्माण गर्न सकेको थिएन । करिब १० वर्षअघि नै नेपालतर्फ सडक पुगे पनि भारततर्फ सडक नहुँदा समस्या कायमै थियो । 

सिक्किम सरकारले सडक निर्माण पूरा गरेपछि अब चिवाभञ्ज्याङ नयाँ नाकाका रूपमा विकास हुने स्थानीयको भनाइ छ । उनीहरूका अनुसार चिवाभञ्ज्याङ झापाको काँकडभिट्टा र इलामको पशुपतिनगरजस्तै नाकाका रूपमा विकास हुने सम्भावना छ ।

याङवकर गाउँपालिका–२ का अर्जुन बेघाले भने, ‘दशकौँ लामो पर्खाइपछि सडक सञ्जालमा नेपाल र सिक्किम जोडिएका छन् ।’ सडक जोडिएसँगै नेपालतर्फ आउने पर्यटकमा वृद्धि हुने अनुमान छ । यो मार्ग नखुलुन्जेल काँकरभिट्टा वा पशुपतिनगर नाका प्रयोग गरेर नेपाल भित्रिने पर्यटक अब चिवाभञ्ज्याङबाट आउनेछन् । स्थानीय कृष्ण प्याकुरेलले भने, ‘पाथीभरा, कञ्चनजंघा पुग्ने पर्यटकका लागि यो सबैभन्दा नजिकको सडकयात्रा हुनेछ ।’ सडक खुलेसँगै नेपालतर्फ होमस्टे व्यवसायलाई प्रत्यक्ष लाभ हुने स्थानीय बताउँछन् । 

नेपालतर्फ होमस्टे फस्टाउने विश्वास
लामो समयसम्म सिंहलीला नेसनल पार्कमा सडक निर्माणको प्रयत्नमा रहेको सिक्किम सरकारले यसपटक भने सफलता पाएको सिक्किमका अशोक क्षेत्रीले बताए । ‘यो महत्वको सडक हो,’ उनले भने, ‘यसले नेपाल–सिक्किमबीचको वर्षौंको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’

पाँचथरको सीमावर्ती क्षेत्रका नागरिकको सिक्किमसँग व्यावसायिक मात्रै नभएर पारिवारिक सम्बन्ध पनि छ । उनीहरूका लागि सिक्किम आउन–जानलाई समेत यो सडकले सहजता ल्याउनेछ । सडक खुलेसँगै चिवाभञ्ज्याङनजिक नेपालतर्फका गोरुजुरे, चित्रेलगायत क्षेत्रमा होमस्टेको राम्रो सम्भावना रहेको स्थानीयको भनाइ छ ।

केही समयअघि चिवाभञ्ज्याङनजिक सशस्त्र प्रहरी बलले बिओपीसमेत स्थापना गरेको छ । चिवाभञ्ज्याङमा सिक्किमतर्फ यसअघि नै सिक्किम प्रहरी तैनाथ छ ।तत्कालका लागि पाँचथरको याङवरक, ताप्लेजुङको सिदिंवा, श्रीसंगा गाउँपालिकालाई प्रत्यक्ष फाइदा पुग्ने देखिए पनि कालान्तरमा यो नाकाले पूर्वी पहाडी क्षेत्रलाई व्यापारिक र पर्यटकीय हिसाबमा जोड्ने याङवकर गाउँपालिका–१ का वडाध्यक्ष मोहन ढुंगेलले बताए ।

उनले भने, ‘अब भने चिवाभञ्ज्याङ नाकालाई विस्तार गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’ सिक्किम सरकार र नेपाल सरकारले चासो देखाएमा यो नाकाले यहाँको जनजीवन परिवर्तन गर्न सहयोग पुग्ने देखिन्छ ।