१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ५ बुधबार
  • Monday, 30 June, 2025
विजयराज खनाल काठमाडौं
२o७७ फाल्गुण ५ बुधबार o९:५o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर कारोबारबाट वाणिज्य बैंकले पौने ६ अर्ब नाफा कमाए : एक वर्षमा १४ गुणाले बढ्यो प्रतिफल

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ५ बुधबार o९:५o:oo

बढ्दो सेयर बजारबाट सामान्य लगानीकर्ताले मात्र नभएर वाणिज्य बैंकहरूले ठूलो मात्रामा नाफा आर्जन गर्न सफल भएका छन् । चालू आवको ६ महिनाको अवधिमा वाणिज्य बैंकहरूले सेयर बजारबाट ५ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ गुणाले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा २२ वाणिज्य बैंकले सेयर बजारमा ३९ करोड २६ लाख प्रतिफल पाएका थिए । यस अवधिमा भएको नाफालाई बैंकहरूले बुक गरिसकेका भने छैनन् । 

‘बैंकहरूले सेयरमा भएको लाभलाई आफ्नो नाफा–घाटा खाता (पिएल एकाउन्ट)मा वा अन्य समष्टिगत आम्दानी (ओसिआई) मा देखाउँछन्,’ मेगा बैंकका प्रमुख वित्तीय अधिकृत सन्दीपबाबु पौडेलले भने, ‘नाफा–घाटा खातामा सेयर कारोबारबाट भएको नाफासमेत देखाएका बैंकहरूले त्यसैका आधारमा कर्मचारीहरूलाई बोनस खुवाउनसमेत पाउँछन् ।’ तर, सेयर बिक्री गरिएको छैन र अर्को वर्ष त्यो सेयरबापतको लाभ घट्यो वा नोक्सान भयो भने त्यसलाई बैंकको नाफा रकममा घटाउनुपर्छ । 

एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड)को अवधारणाअनुसार कुनै समयमा कम्पनीले कुनै लाभ ग¥यो भने त्यही समयमा कार्यरत कर्मचारीले समेत त्यस्तो लाभमा हिस्सेदारी पाउनुपर्ने व्यवस्था गरेको छ । त्यसैले वार्षिक रूपमा सेयर कारोबारबाट हुने यस्तो लाभलाई कम्पनीको नाफामा देखाएर कर्मचारीहरूले बोनस खान सकिने व्यवस्था गरिएको छ । ‘सेयरमा गरिएको लगानीमा नाफा भएको छ, तर बिक्री गरिएको छैन भने त्यसलाई बैंकको नाफा खातामा देखाएर कर्मचारीले बोनस खान पाउँछन्,’ पौडेलले थपे, ‘त्यसैले बैंकहरूको नाफा कसरी बढेको छ भनेर पनि जागरुक लगानीकर्ताले हेर्नुपर्छ ।’ 

बैंकको प्रफिट–लस एकाउन्ट (नाफा–घाटा खाता)मा सेयर बिक्रीबाट भएको लाभ वा नोक्सान अन्य सञ्चालन आम्दानी शीर्षकअन्तर्गत देखाइन्छ । अन्य सञ्चालन आम्दानीमा सेयर कारोबारबाट भएको लाभ मात्र नभई, खराब कर्जाको धितो बिक्रीबाट भएको आम्दानीलगायत पनि देखाउने गरिन्छ । तर, सो साधारणसभामा प्रस्तुत गरिने वार्षिक वित्तीय विवरणमा भने कुन शीर्षकमा कति नाफा वा घाटा भयो, त्यो स्पष्ट रूपमा खुलाइएको हुन्छ । 

 सेयरमा २२ बैंकको लगानी देखाए प्रभु बैंक मात्रै घाटामा 
वाणिज्य बैंकहरूले गत पुस मसान्तमा सार्वजनिक गरेको विस्तृत वित्तीय अवस्था प्रतिवेदनअनुसार २२ वटाले सेयर बजारमा लगानी गरेको देखाएका छन् । त्यसमध्ये प्रभु बैंकबाहेक अन्य सबैले यस अवधिका सेयर बजारबाट नाफा कमाएका छन् । प्रभुले सेयर लगानीमा २ लाख ३४ हजार नोक्सान व्यहोरेको छ । गत वर्षको पुस मसान्तमा भने २२ बैंकमध्ये नौवटाले सेयर बजारबाट नोक्सान व्यहोरेका थिए ।  

यस अवधिमा सेयर बजारबाट सबैभन्दा धेरै नाफा सिद्धार्थ बैंकलाई भएको छ । सिद्धार्थ बैंकले बजारबाट २ अर्ब ३ करोड नाफा आर्जन गरेको देखिएको छ । प्राइम, स्ट्यान्डर्ड चार्टर्ड र ग्लोबल आइएमईले भने पुस मसान्तसम्मको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

असोज महिनासम्ममा भने प्राइम र ग्लोबलले सेयरबाट २–२ करोड नाफा कमाएका थिए भने स्ट्यान्डर्ड चार्टर्डले करिब ६ करोड ९९ लाख नाफा कमाएको थियो । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले भने विस्तृत त्रैमासिक विवरण सार्वजनिक गरेका छैनन् । बैंकहरूले सेयर किनबेच (व्यापारिक लगानी) गर्ने उद्देश्यले आफ्नो कुल प्राथमिक पुँजीको १ प्रतिशतबराबर रकम मात्र लगानी गर्न पाउँछन् । हाल बैंकहरूमा कुल प्राथमिक पुँजी ७ खर्ब ४ अर्बबराबर छ । यस आधारमा बैंकहरूले व्यापारिक उद्देश्यले सेयर बजारमा ७ अर्ब रुपैयाँ लगानी गर्न पाउँछन् ।