मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:१६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आज सोनाम ल्होसार  : देशभर सार्वजनिक बिदा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:१६:००

सोनाम ल्होसारकाे अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । 

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।

यस पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । 

बौद्ध क्षेत्रमा आज सांस्कृतिक झाँकीसहित बाजागाजाको र्‍याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गरिने जनाइएको छ । 

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइने जनाइएको छ । यसैगरी देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।  

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् । कांग्रेस, नेकपा, जसपाका नेताहरु ले पनि शुभकामना दिएका छन् । 

‘नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधतायुक्त देश हो । यी सबै समुदायको आ–आफ्नै धार्मिक र सांस्कृतिक महत्व बोकेको मौलिक चाडपर्वहरु छन्’ राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छिन् ‘सबै जातजातिको सम्मानजनक उपस्थिति र पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी छौं । वहुरंगी संस्कृतिका धनी नेपाल यी नै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धी हात लाग्ने कुरामा दुईमत छैन ।’

उपराष्ट्रपति नन्दबहादुर पुनले हिमाल आरोहण तथा पर्यटनको माध्यमबाट विश्वलाई नेपाल चिनाउने पहिलो शक्ति शेर्पा रहेको बताएका छन् । शुभकामना सन्देशमा पुनले भनेका छन् ‘हिमालले नेपाललाई जति सुन्दर बनाएका छन्, हिमाली भेगमा वसोवास गर्ने शेर्पा समुदायलगायतका आदिवासी जनजातिका भेषभुषा, धर्म संस्कृति, रहनसहनले त्यो भन्दा बढी सुन्दर बनाएको छ ।’

ल्होसारमा खाप्से, ड्यासिल, गुथुक जस्ता मौलिक परिकार खाने, जामघट, नाचगान गरेर मनाइने स्मरण गर्दै उपराष्ट्रपति पुनले भनेका छन् ‘आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुरयाएको छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले ‘मुलुकको वर्तमान जटिल अवस्थासँगै विभिन्न असमानता, विभेद र उत्पीडिनको अन्त्य गर्न र अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्नका साथै राष्ट्र निर्माणमा सघाउन ल्होसारको अवसरमा प्रेरणा मिलोस्’ भन्ने शुभकामना व्यक्त गरेका छन् । 

नेपाल आदिवासी जनजाति महासंघले ग्याल्वो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले अपरिपक्क रुपमा मन लाग्दा विदा दिने नलाग्दा खारेज गर्ने गरेको’ भन्दै आपति जनाएको छ । 

नेपाल शेर्पा संघले शुभकामना सन्देश जारी गर्दै ल्होसारले पहिचान र अधिकार स्थापित गर्ने मार्गको रुपमा लिनुपर्नेमा जोड दिएको छ ।  अध्यक्ष गेल्जे लामा शेर्पाले शुभकामना सन्देश जारी गर्दै सरकारले हिमाली आदिवासी शेर्पाहरुको मुख्य पर्वको तिथी विगारेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भनेका छन् ‘भोट चन्द्रपात्रो अनुसार ल्होसार ३० माघमै हो । तर, सरकारले १ चैतमा राखेको छ । यसले अन्योल सिर्जना गरेको छ । उप्रान्त पञ्चांग निर्णायक समितिमा बौद्धमार्गी शेर्पा समुदायको समेत प्रतिनिधित्व गराउँदै पात्रो निर्माणमा सचेत भई कार्य गर्नुपर्दछ ।’