बलात्कार आरोप लागेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

२०७५ माघ २९ मंगलबार १०:५६:०० | नवलपुर

नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुँको घिरिङ गाउँपालिका -४ का वडाअध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

जिल्ला अदालत नवलपरासी पूर्वले सोमबार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली -२ स्थित जंगलमा ती महिलालाई करणी गरेको आरोप लागेको हो । बैशाख ३० गते युवतीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएकी थिइन् । 

घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरीसामु सोमबार आत्मासर्पण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ ।

घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुँका भएपनि नवलपुरबाटै नै मुद्दा चलाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस