मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १५ बिहीबार ०७:०२:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

माउन्ट केटुमा  नेपाली आरोही

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १५ बिहीबार ०७:०२:००

२०७७ माघ ३ (१६ जनवरी २०२१) पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमानका लागि सधैँ अंकित हुनेछ । उक्त दिन दशजना नेपाली आरोहीले हिउँदयाममा पहिलोपटक ८ हजार ६११ मिटर अग्लो हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान हासिल गरेका हुन् । पाकिस्तान र चीनको सिमानामा काराकोरम पर्वत शृंखलामा पर्ने माउन्ट केटु सगरमाथापछि विश्वकै दोस्रो अग्लो हिउँचुचुरो हो । सन् १९५४ मा पहिलोपटक वसन्त ऋतुमा यो हिमाल आरोहण गरिएको थियो । लामो समयदेखि हिउँदमा यो हिमाल आरोहणको प्रयास गरिएको भए पनि पहिलोपटक नेपाली टोली यसको चुचुरोमा पुग्न सफल भएको हो । यसैले यो आरोहण नेपालको पर्वतारोहण इतिहासका लागि र विश्वका लागि पनि एउटा अविस्मरणीय क्षणका रूपमा रहनेछ ।

केटु हिमालको हिउँदयाममा भएको आरोहण उच्चस्तरको कीर्तिमान हो । यस्तो काम गर्ने नेपालीहरूलाई प्रोत्साहन, सम्मान र प्रेरणा दिने हो भने थप कीर्तिमानहरू नेपालीका नाममा पर्ने निश्चित छ ।

उक्त शिखर अरोहणको सफलतापछि नेपालीहरूको पर्वतारोही समूह विश्वभर चर्चित भएको छ । पाकिस्तानले त विशेष कार्यक्रम नै गरेर आरोहीहरूलाई सम्मान गरेको छ भने विश्वका सबैजसो मुख्य समाचार संस्था र सञ्चारमाध्यमले महत्वका साथ यसको उल्लेख गरेका छन् । यससँगै पर्वतारोहणका क्षेत्रमा नेपालीको सान र मान हलक्कै बढेको छ । यसअघि ६ महिना र केही दिनमा विश्वका सबै ८ हजार मिटर अग्ला हिमाल आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पुर्जाको नेतृत्वमा गएका थप नौजना शेर्पाको यो समूहले नेपालीहरूलाई पर्वतारोहणका सहयोगी शेर्पाको देशका रूपमा होइन, पर्वतारोहणका क्षेत्रमा सौखिन र विश्वका सबैभन्दा जोखिमयुक्त क्षेत्रमा सहज आरोहण गर्न सक्ने साहसी आरोहीहरूको देशका रूपमा पनि विश्वसामु परिचित गराएको छ । यो घटना नेपालको पर्वतारोहणका क्षेत्रमा तेञ्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा आरोहणमा एकसाथ सफलता पाएपछिको एउटा महत्वपूर्ण घुम्तीका रूपमा इतिहासमा अंकित हुनेछ । 

पर्वतारोहणका क्षेत्रमा नेपालीहरूको प्रवेश युरोपेली आरोहीहरूलाई सहयोग गर्ने भरिया र पथप्रदर्शकका रूपमा भएको हो । यसैपनि पहाड पर्वतका फेदी र शिखरहरूमा बसेर जीविका गरेका नेपालीका लागि पहाडको उकालो–ओह्रालो आउजाउ जीवनको एउटा सहज हिस्साका रूपमा रहन्थ्यो नै । तर, आर्थिक तथा सांस्कृतिक कारणले उनीहरूलाई आफ्नो समुन्नेका सेता हिमशिखरहरू साहसी खेलका विश्वप्रसिद्ध अवसर हुन् भन्नेचाहिँ युरोपेलीहरूको आगमनले नै पारिदिएको हो । आरम्भमा पर्वतारोहीहरूको सहयोगीका रूपमा हिमाल चढ्ने गरेका शेर्पाहरूले पछि शिखर आरोहणका अनेक कीर्तिमान आफ्नो नाममा राखेका छन् । तर पनि नेपालीहरू आफ्नै पहलमा, आफ्ना खुसीका लागि साहसका साथ हिमाल चढ्छन् भन्ने मान्न विश्व सहज रूपमा तयार भएको थिएन ।

पछिल्लो समय यस्तो आरोहणका विविध प्रयास र कीर्तिमानहरू नेपालीहरूका नाममा पर्दै आएका छन् । त्यसैमध्येको केटु हिमालको हिउँदयाममा भएको आरोहण उच्चस्तरको कीर्तिमान हो । यस्तो काम गर्ने नेपालीहरूलाई प्रोत्साहन, सम्मान र प्रेरणा दिने हो भने थप कीर्तिमानहरू नेपालीका नाममा पर्ने निश्चित छ । यसका लागि सरकारले पर्वतारोहणसम्बन्धी शिक्षालाई विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राखेर पढाउने व्यवस्था गर्दै पर्वतारोहणसम्बन्धी एकेडेमीहरू सञ्चालन गरेर र पर्वतारोहणमा लामो समय बिताएका भरिया, पथप्रदर्शक र आरोहीहरूलाई उनीहरूको सक्रिय आरोहण जीवनपछिका दिनहरू सहज होऊन् भनेर आवश्यक व्यवस्था गर्ने हो भने नेपालीहरूले यस क्षेत्रमा सहजै विश्वलाई चकित पारिरहने क्षमता राख्छन् । अहिलेसम्म त सरकारको पहल या सहयोगविना नै धेरै कीर्तिमानहरू तोडिएका हुन् । माउन्ट केटुको सफल आरोहण गर्ने समूहका सबै सदस्यलाई हाम्रो हार्दिक बधाई !