१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएफपी वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार १४:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व

अमेरिकी अर्थमन्त्री येलेनलाई सिनेटको अनुमोदन

Read Time : > 1 मिनेट
रासस/एएफपी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार १४:३४:oo

अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनीत जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुन् ।

अर्थमन्त्री येलेनमाथि कोभिड– १९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कंग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ । येलेनले यसअघि सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको पहिलो महिलाका रूपमा नेतृत्व गरिसकेकी छिन् । उनीसँग विगतमा ह्वाइटहाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको अनुभव छ । 

राष्ट्रपति जो बाइडेनले कोभिड– १९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न अघि सारेको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कंग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ । सिनेटको वित्त समितिमा भएको सुनुवाइका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकी थिइन् । 

राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कंग्रेसका दुवै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् । उनले अहिले लगानी नगरे कोभिड– १९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्ने बताएका छन् । उनले भने, ‘लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।’

सिनेटमा सुनुवाइका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन बाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहेको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य रहेको बताए । 

रिपब्लिकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले विरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए । अमेरिकामा कोभिड– १९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । 
 

ad
ad