मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २१ शुक्रबार
  • Friday, 05 March, 2021
नेत्र पन्थी काठमाडौं
२०७७ माघ ११ आइतबार ०२:२७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान

Read Time : > 3 मिनेट
नेत्र पन्थी, काठमाडौं
२०७७ माघ ११ आइतबार ०२:२७:००

पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्ताहरूलाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धिजीवीलाई झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरूलाई हुल्लडबाज भन्ने ओली आफ्नो आलोचना गर्ने पत्रकारलाई नर्कबासी भन्छन्
......

पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू, प्रोफेसर र बुद्धिजीवीहरू, लेखक तथा पत्रकारहरूलार्ई प्रधानमन्त्रीले अवहेलना गर्दै आएका छन् ।

वरिष्ठ अधिवक्ता कृृष्णप्रसाद भण्डारी बहसका लागि सर्वोच्चमा गएका दिन प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूले सम्मान र संयमका साथ सुने । अरू अधिवक्तालाई समय तोकिएको थियो, तर वरिष्ठ अधिवक्ता भण्डारीलाई इजलासले समयको पावन्दी लगाएन । ९४ वर्षीय भण्डारीले ६३ वर्षदेखि अदालतमा न्यायको पक्षमा पैरवी गर्दै आएका छन् । 

भण्डारी नेपाल ल क्याम्पसको पहिलो ब्याचका विद्यार्थी हुन् । ल क्याम्पसमा १६ वर्ष पढाउँदा मात्र होइन, नेपालको पहिलो ल फर्म ‘नेपाल ल फर्म’बाट उनले धेरै कानुन व्यवसायीलाई प्रशिक्षित गरेका छन् । पूर्वप्रधानन्यायाधीश केदानथाथ गिरीदेखि गोविन्दबहादुर श्रेष्ठलाई भण्डारीले नै कानुन सिकाएका हुन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई कानुन पढाएका हुन् । 

अध्ययन, अध्यापनमा मात्र होइन, राजनीतिक स्वतन्त्रताको लडाइँमा पनि भण्डारी एक योद्धा हुन् । उनलाई राजा महेन्द्रले प्रधानन्यायाधीशसम्मको ‘अफर’ गर्दा उनले अस्वीकार मात्र गरेनन्, बरु पञ्यायती व्यवस्थाद्वारा राजद्रोहको मुद्दा लगाइएका बिपी कोइराला, डा. केआई सिंह र रामराजाप्रसाद सिंहको मुद्दा लडे । राजनीतिक दृष्टिकोण राखेकै कारण ०३२ मा सहाना प्रधानसहित भण्डारीलाई पनि पञ्चायती शासनले नेपाल ल क्याम्पसको अध्यापकबाट बर्खास्त गरेको थियो । तर, उनले निर्भीक र निरन्तर रूपमा राजनीतिक बन्दीको पक्षमा पनि मुद्दा लडिरहे । 

बार र बेन्च दुवैले उच्च सम्मान गर्ने भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्ध पैरवी गरेपछि उनले गरेको बहसमाथि व्यंग्य गर्दै शुक्रबार ओलीले भने, ‘एकजना बाजे वकिललाई तमासा देखाउन सर्वोच्च लगेछन् ।’ विडम्बना, ओलीले यसो भन्दा हाँसोले हल गुञ्जायमान बनाउनेहरू अरू कोही होइन, पेसागत तथा बुद्धिजीवी संगठनका अगुवा थिए । पेसागत बुद्धिजीवी जिल्ला कमिटी काठमाडौंको ब्यानरमा यो कार्यक्रम भएको थियो । 

तर, आफ्नो पार्टीमा आबद्ध बुद्धिजीवीलाई हँसाउने काम गरे पनि फरक मत राख्ने बुद्धिजीवीप्रति भने ओली सधैँ अनुदार छन् । राष्ट्रिय सभामा २६ पुसमा उनले बुद्धिजीवीलाई झुन्ड नै भनेका थिए । 

प्रतिनिधिसभा विघटनविरुद्ध एकसे–एक प्रतिष्ठित वरिष्ठ अधिवक्ताहरूले सर्वोच्चमा बहस गर्न थालेपछि ओलीले पनि उनीहरूबारे भद्दा टिप्पणी गर्दै आएका छन् । उनले अधिवक्ताहरूलाई ‘दुर्मुखा’समेत भने, त्यो पनि प्रधानमन्त्रीका रूपमा राष्ट्रिय सभामा उभिएर । २६ पुसमा राष्ट्रिय सभामा उनले यसो भनेका थिए, ‘नेपालका केही कानुनविद्माथि दया लागेर आउँछ । केही दुर्मुखाहरू गणतन्त्रको सर्वोेच्च संस्था, राष्ट्रको गरिमामय सर्वोच्च संस्थाको मानमर्दनमा लागेका छन् । तिनीहरू गणतन्त्रविरोधी हुन् ।’

राष्ट्रिय सभामै उभिएर ओलीले अधिवक्तामाथि मात्र होइन, पूर्वप्रधानन्यायाधीशहरूमाथि पनि व्यक्तिगत स्तरमा टिप्पणी गरे । ‘एकपटक अदालतमा जागिर खाएको केही मान्छेले अहिले पनि जागिरमै छुजसरी यस्तो हुन्छ र उस्तो हुन्छ भनेर बोल्छन् । अहिले केही अजासु (अति जान्ने सुन्ने) निस्किएर संवैधानिक इजलासबाट हुँदैन भनेर सडकबाटै फैसला दिन खोजिरहेका छन्, संवैधानिक इजलासबाट हुँदैन भनेर कुन संविधानमा छ ?’ 

राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गरेकोमा ओलीले पत्रकारको आलोचना गर्दै आएका छन् । तर, पछिल्लोपटक त उनले ‘पत्रकार नर्कमा जान्छन्’ सम्म  भन्न भ्याए, त्यो पनि पत्रकारहरूकै कार्यक्रममा ।

प्रेस संगठनको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीको टिप्पणी थियो, ‘जब मान्छे स्वार्थमा चल्छ, जब मान्छेले आत्मा बेच्छ, त्यसपछि नर्कमा गइसकेपछि फर्किनै सक्दैन, ज्युँदै नर्कमा जान्छ । के गर्ने त्यसलाई त निकाल्नै सकिँदैन, ऊ त्यहाँबाट निस्किनै सक्दैन ।’

पार्टीमा आबद्ध पत्रकारहरूलाई उनको भनाइ थियो, ‘तर, म फेरि भन्छु, सत्यमेव जयते । त्यस्ता खालको पीत पत्रकारिता आफैँ खेर जान्छ । किनभने पीत पत्रकारितासँग जुध्ने, पत्रकारिताको धर्म फलाउने, फुलाउने तपाईंहरूको जस्तो समूह पनि छ । जो, देश, जनता, लोकतन्त्र र सत्यको पक्षमा लड्छ ।’ 

पत्रकार, बुद्धिजीवी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशको मानमर्दन गर्दै आएका ओलीले आफ्ना राजनीतिक प्रतिस्पर्धीका बारेमा गर्ने टिप्पणीलाई भने धेरैले अनौठो मानेका छैनन् । १९ पुसमा विद्यार्थीको भेलामा ओलीले भने, ‘तपाईंहरू (प्रचण्ड–नेपालसहतिका नेता) नहुँदा, तपाईंहरू सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन ! अब तपाईंहरूलाई कार्यक्रममा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन ।’

त्यस्तै, १५ पुसमा सुदूरपश्चिमका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता भएको बताए । ‘माधव नेपालजीको बारेमा त मलाई टिप्पणी नै गर्नु छैन, किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन जानुभएको छ ।’

हिजोसम्म पार्टीमा मात्र होइन, पछिल्लोपटक मन्त्रिपरिषद्मा रहेका आफ्ना सहकर्मीलाई समेत उनले यस्तै टिप्पणी गर्दै आएका छन् । धनगढीको सभामा नेकपा नेता भीम रावलमाथि कटाक्ष गर्दै ओलीले भने, ‘अछामको एउटा केटो, म जेल बस्या वेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ । भेटाएर मैले राजनीतीकरण ग¥या थिएँ । अहिले त कुराकानी सानातिना छैनन् । मान्छेभन्दा कुरा ठूला छन् । नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो । नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ । यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ ।’

ओलीले मिर्गौला प्रत्यारोपण गरेको विषयमा नेकपा नेता भीम रावलले टिप्पणी गरेको भन्दै सोसल मिडियामा रावलको आलोचना भएको थियो । तर, रावलले आफूले त्यस्तो टिप्पणी गर्दै नगरेको भनेर सार्वजनिक प्रस्टीकरणसमेत दिए । तर, ओलीले मिर्गौला प्रत्यारोपणको विषय पनि दोहो¥याउँदै आएका छन् । 

नेकपाका दुई समूहबीच विवाद उत्कर्षमा पुगेका वेला पनि मिलनबिन्दु खोज्न लागेका थिए घनश्याम भुसाल र योगेश भट्टराई । तर, पार्टी विभाजनपछि दुवैजनाले ओलीलाई छाडे । तर, राजनीतिक टिप्पणी गर्नुको सट्टा ओलीले योगेशलाई बैगुनी केटो पनि भन्न भ्याए । प्रदेश १ का कार्यकर्तासामु उनले भने, ‘बैगुनी केटाकेटीबारे धेरै कुरा गर्न चाहन्न । हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडी गएर भोट मागेँ । यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु भनेँ, भोट मागिदिएँ, मन्त्री पनि बनाइयो । एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । कोभन्दा त उही केटो ।’ 

नेकपा विभाजन भएपछि ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ पनि भने जब कि जनयुद्ध लडेका रामबहादुर थापा बादल र लेखराज भट्टलगायत नेताहरू भने ओलीसँगै छन् । जनयुद्धलाई कुहिएको फर्सी भनेको विषयमा भट्टले प्रधानमन्त्रीसामु असन्तुष्टि जनाएको बताएका छन् । ‘नेताहरूले बोल्दा ध्यान दिनुपर्ने धेरै कुरा छन् । तपाईंले त्यस्तो भन्नुभएको हो ? भनेर मैले प्रधानमन्त्रीसँग सोधेको हुँ । उहाँले त्यस्तो भनेको होइन, मेरो कुराको गलत अर्थ लगाइयो भन्नुभयो,’ भट्टले एउटा अन्तर्वार्तामा भनेका छन् । 

पार्टी विभाजनअघि नेकपाको बैठक बस्ने विषयमा पनि ओलीले स्थायी कमिटीका नेताहरूलाई हुल्लडबाज भनेका थिए । ‘म बैठक किन बस्ने ? त्यहाँ के समाधान हुन्छ ? एकसे एक हुल्लडबाजहरूसँग बैठक बसेर समाधान कसरी समाधान हुन्छ ?’ त्यस्तै केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा पनि उनले भनेका थिए, ‘म त्यस्तो बैठकमा जान्नँ, चना र दूध खुवाएर तयार पारिएका मान्छेहरू जम्मा गरेर मेरो अपमान गर्न खोजिएको छ । त्यो थाहा छ । त्यसैले बैठकमा जान्नँ ।’