१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ १० शनिबार ०७:१६:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

संसद् पुनर्स्थापना नै संकटको समाधान हो : महतो 

Read Time : < 1 मिनेट
२०७७ माघ १० शनिबार ०७:१६:००

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना नै वर्तमान राजनीतिक समस्याको समाधान रहेको बताएका छन् । प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले शुक्रबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता महतोले यस्तो बताएका हुन् । 

‘प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विफल बनाउने प्रयास गरेका छन्,’ उनले भने, ‘अदालतले उनको कदमलाई उल्ट्याउनेछ र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्नेमा हामी आशावादी छौँ ।’ सर्वोच्च अदालतको फैसला आफूहरूलाई मान्य हुने उनले बताए । ‘लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन, तर चुनाव समस्याको समाधान होइन, देशमा फेरि अर्को संकट निम्तिने खतरा आउन सक्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्था जबर्जस्ती लादेर प्रतिनिधिसभा विघटन गरेको बताएका महतोले ओली राजा महेन्द्रकै पथमा अगाडि बढेको जिकिर गरे । ‘प्रधानमन्त्री ओलीको प्रतिगमन नसच्चिए राष्ट्रिय मुक्ति आन्दोलन गर्न हामी बाध्य हुन्छौँ, उक्त आन्दोलनमा हिमाल, पहाड र मधेसका आदिवासी, जनजाति, दलित, मुस्लिम, खस–आर्यलगायत शोषित, उत्पीडित सम्पूर्ण जनताको सहभागिता रहनेछ र त्यो आन्दोलन अन्तिम एवं निर्णायक हुनेछ,’ उनले अगाडि थपे ।

प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमारसिंह यादव, पूर्वमन्त्री रेणु यादव, केन्द्रीय सदस्यद्वय मनीष सुमन, नेत्रविक्रम साहलगायत सहभागी थिए ।