१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
कमल खत्री म्याग्दी
२o८१ जेठ १ मंगलबार o८:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बेनीमा बर्खामा आउने बाढी व्यवस्थापन जटिल बन्दै

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३३:oo

म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्रका स्थानीयले हरेक वर्षायाममा भेल, बाढीको त्रास खेप्दै आएका छन् । स्थानीयको सो त्रास अन्त्य गर्न नगरपालिकाले अहिलेसम्म सार्थक पहल गर्न सकेको छैन । 

यसपटक भने नगरपालिकाले दिगो ढल निकासको पूर्वाधार बनाएर समस्या समाधान गर्ने उपाय अपनाएको छ । अर्थुंगेदेखि क्याम्पसचोक हुँदै आउने बाढीलाई निकास दिन बेनी नगरपालिकाले निजी घरजग्गा अधिग्रहण गरी ढल निकासको अल्झन हटाउन लागेको हो । भेलबाढी र ढलको दिगो निकास र व्यवस्थापनका लागि क्याम्पसचोकको तल्लो भागमा रहेको विष्णु शर्माको दुईतले घर र सोही घरको पछाडि कालीपुलको सडकसँग जोडिएको मीन सापकोटाको जग्गा अधिग्रहण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । 

‘गत वर्ष बजेट विनियोज गरे पनि काम सम्पन्न हुन सकेन । त्यसैले यस वर्ष पनि बजेटलाई निरन्तरता दिएका थियौँ,’ सुवेदीले भने, ‘स्थानीयवासीले समेत रकम संकलन गर्नुभएको छ । अब सबै प्रक्रिया पूरा भएको छ । केही दिनमा नै घरजग्गा अधिग्रहणको काम सम्पन्न हुन्छ ।’ नगरपालिकाले ढल निकासका लागि अधिग्रहण गर्ने घरको भुइँतलाबाट व्यवस्थित नाली बनाएर बाढी र ढललाई निकास दिने र माथिल्लो तलामा वडा नम्बर ८ को कार्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । 

घर अधिग्रहणको काम सकिएलगत्तै ढल निकासको नालीलगायतका पूर्वाधार निर्माण गर्ने र सोही घरको माथिल्लो तलामा वडा कार्यालय सञ्चालन गर्ने तयारी गरिएको वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले बताए । ‘बर्सेनि माथिबाट आउने बाढीसहितको भलको निकास थिएन, क्याम्पसचोक क्षेत्रका धेरै घरमा बाढी बस्ने समस्या बढ्दै गएको थियो, त्यसको दीर्घकालीन समाधानका लागि ढलको निकास खोल्नुपर्ने थियो, नालीको अगाडि पर्ने घर र जग्गा अधिग्रहणले बाढीको दिगो व्यवस्थापनको बाटो खुलेको छ,’ नगरपालिकाका प्रवक्तासमेत रहेका बराइलीले भने । 

बाढीलाई कालीगण्डकीमा मिसाउने योजना
अब नगरपालिकाले क्याम्पसचोकसम्म आउने बाढीलाई कालीगण्डकीसम्म पुग्ने गरी नालीलगायतका पूर्वाधार बनाउने भएको छ । नगरपालिकाले निजी घर र जग्गा अधिग्रहण कार्यका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । क्याम्पसचोकका स्थानीयवासीले समेत २२ लाख रुपैयाँ रकम संकलन गरेका छन् । नगरपालिकाका अनुसार घरको संरचना र जग्गा अधिग्रहणका लागि करिब एक करोड २२ लाख रुपैयाँ सरकारी मूल्यांकन भएको छ ।

नगरपालिकाले विनियोजन गरेको र स्थानीयवासीले संकलन गरेको रकममा अपुग हुने थप बजेटसमेत नगरपालिकाले नै व्यवस्थापन गर्ने कार्यपालिका बैठकबाट निर्णय भइसकेको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए । घरजग्गा अधिग्रहणमा नगरपालिकालाई सघाउन स्थानीयवासीले समेत संकलन गरेको रकम नगरपालिकालाई हस्तान्तरण गरेका छन् । सहयोग संकलन समितिका संयोजक गोविन्द बानियाँले नगरपालिकाका मेयर श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन् । 

हरेक वर्ष डुबानमा पर्दै क्याम्पसचोक
हरेक वर्ष वर्षायाममा यस क्षेत्रमा बाढीले डुबान पर्ने र सडक तथा पसलमा समेत क्षति पु¥याउँदै आएको छ । क्याम्पसचोकमा माथिबाट आउने भलबाढी बग्ने खोल्सो अतिक्रमित भएर घर बनेपछि निकासको समस्या रहँदै आएको थियो । नगरपालिकाले अधिग्रहण गर्न लागेको घरका घरधनीको सहमतिमा घरमुनिबाट सानो नालीबाट क्याम्पसचोक क्षेत्रको ढललाई निकास दिँदै आएको भए पनि बर्खायाममा आउने बाढीलाई निकास नपुग्दा हरेक वर्ष यस क्षेत्र बाढीको चपेटामा पर्दै आएको थियो । 

हरेक वर्ष बाढी आउने र त्यसको दीर्घकालीन निकास नहुँदा बाढीको सामना गर्नुपर्ने अवस्था आएपछि आफ्नो निजी आवश्यकताभन्दा माथि उठेर क्याम्पसचोकवासीको समस्या समाधानका लागि घर अधिग्रहण गर्न सहमति दिएको घरधनी शर्माको भनाइ छ । 

नगरपालिकाको निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा मालपोत र नापी कार्यालयका अधिकृतसमेत रहनुभएको जिल्ला मुआब्जा निर्धारण समितिमार्फत घरजग्गाको मूल्यांकन गरी गत असोजमा अधिग्रहणको निर्णय गरिएको थियो ।

ad
ad