१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तस्बिर : संजित परियार
मञ्जु टेलर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
फिचर प्रिन्ट संस्करण

कमलपोखरीको मौलिक पहिचानमाथि आक्रमण

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३६:oo

पोखरीको मौलिकता मास्न खोजिएको भन्दै सम्पदाविद्, स्थानीय आन्दोलित, तर काठमाडौं महानगर भन्छ– सबैको सहमतिमा डिजाइन भएको गुरुयोजनाअनुसार नै पोखरी पुनर्निर्माण हुँदै छ

काठमाडौं महानगरपालिकाले प्राकृतिक सम्पदाको ऐतिहासिकता, मौलिक र वातावरणीय पर्यावरण नै मासिने गरी कमलपोखरीको पुनर्निर्माण थालेको भन्दै विवाद सुरु भएको छ । पोखरीको प्राकृतिक स्वरूपलाई मासेर बनाइन लागेको कृत्रिम संरचनाले ऐतिहासिक सांस्कृतिक पहिचान नै धरापमा परेको भन्दै स्थानीय, सरोकारवाला र सम्पदाविद्हरूले यसको विरोध गरेका छन् । 

पोखरीको घाटमा कंक्रिट बिछ्याइनु, बाहिरी संरचना निर्माणका लागि आकार सानो बनाइनु, पोखरीको बीचमा कंक्रिटको कमलको फूल राखिन लाग्नु, पोखरीको पिँध नै फाट्ने गरी पानी सुकाउँदा सिमसार पोखरीले पर्यावरणीय महत्व हराएर जाने भन्दै सम्पदाविद् र स्थानीयहरूले काठमाडौं महानगरको कार्यशैलीको विरोध गरेका हुन् ।

कमलपोखरी पुनर्निर्माण सुरुवातदेखि नै संलग्न रहँदै आएका कांग्रेस नेता गगन थापाले समेत पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यताको कामलाई अघि बढाउन र यो सुनिश्चित नहुँदासम्म हाल भइरहेको निर्माणको काम तत्काल स्थगन गर्न माग अघि सारेका छन् ।

सम्पदाविद्हरूले काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणबाट पाठ नसिकेको, भूकम्पपछि सम्पदा पुनर्निर्माणमा सम्भव भएसम्म मौलिकता नमास्ने अवधारणा लिइए पनि कमलपोखरी पुनर्निर्माणमा पुनः उस्तै गल्ती दोहो¥याएको आरोप लगाएका छन् । रानीपोखरी पुनर्निर्माणको क्रममा पोखरीको मौलिकता नै मेटिने गरी स्विमिङ पुल बनाइन लागेको भन्दै सम्पदाविद् र स्थानीयले विरोध गरेपछि रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो । 

विभाग भन्छ, पुरातात्विक र ऐतिहासिक महत्वलाई मास्न हुँदैन 
कमलपोखरीको संरचनाबारे विवाद सुरु भएपछि पोखरीको मौलिकतालाई असर नपर्ने गरी पोखरी संरक्षण गर्न पुरातत्व विभागले महानगरपालिकालाई पत्रसमेत पठाएको छ । पुरातत्व विभागले कमलपोखरी संरक्षण कार्यलाई अगाडि बढाउँदा पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी, प्राचीन स्मारक संरक्षणको परिधिभित्र रही कार्य गराउन आग्रह गर्दै सोमबार महानगरलाई पत्र पठाएको हो ।

‘कमलपोखरीको मौलिक पहिचान, पुरातात्विक र ऐतिहासिक महत्व मासेर पुनर्निर्माण भएको भन्ने निवेदन विभागमा परेकाले पोखरीको संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्ने गरी परम्परागत निर्माण सामग्री तथा प्रविधिको प्रयोग गरी काम गर्न हामीले महानगरलाई पत्र पठाएका छौं,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुुँवरले भने ।

पोखरीको सौन्दर्यीकरण गर्ने  यस्तो छ महानगरको योजना   
काठमाडौं महानगरपालिकाले कमलपोखरी पुनर्निर्माणका लागि जय धनञ्जय र कँडेल निर्माण सेवालाई ६ करोड ३६ लाख रुपैयाँमा ठेक्का दिएको थियो । पोखरी पुनर्निर्माणमा नौ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको छ । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरीवरिपरि आकर्षक संरचनासहित पोखरी पुनर्निर्माण गरिने महानगरले गुरुयोजना बनाएको थियो ।

पुनर्निर्माण गुरुयोजनाअनुसार, पोखरी छिर्ने मौलिक स्वरूपमा द्वार, पोखरीको छेउछेउका चैत्य, पाँचवटा मकरधारा, पोखरीको बीचमा कमलको स्वरूपमा फाउन्टेन, चारै कुनामा घाट र छठ पूजाका लागि संरचना, पूर्वी कुनामा सानो भ्युटावर बनाइन लागिएको हो । योसँगै कमलपोखरी वरिपरि रहेका अनधिकृत संरचना हटाएर चिल्ड्रेन पार्क, ढुंगेधारा, अपांगमैत्री शौचालय, जिम हल, उद्यानसमेत बनाइन लागेको बताइएको थियो ।

कमलपोखरी पुनर्निर्माणको जिम्मा सुरुवातमा उपत्यका विकास प्राधिकरणले लिएको थियो । पोखरी पुनर्निर्माणमा तत्कालीन सांसद गगन थापाले पहल गरेका थिए । गुरुयोजना बनाएर पुनर्निर्माण थालेको प्राधिकरणले बजेटको अभावमा निर्माण अधुरै छाडेपछि काठमाडौं महानगरपालिकाले जिम्मा लिएको थियो । हाल कंक्रिट राखेर बनाइन लागेको भन्दै विवादमा आएको घाट पनि उपत्यका विकास प्राधिकरणले नै निर्माण सुरु गरेको थियो ।

यही योजनाअनुसार महानगरपालिकाले निर्माणलाई निरन्तरता दिएको महानगरपालिकाका सम्पदा तथा पर्यटन विभाग प्रमुख रामबहादुर थापा बताउँछन् । उनी भन्छन्, ‘घाटमा छठका लागि काठ राखेर मण्डप राख्ने योजनाअनुसार नै काम भइरहेको हो ।’ असार मसान्तमै सकाउनुपर्ने काम लकडाउनका कारण सामान आपूर्ति गर्न नसक्दा ढिलाइ भएकाले महानगरले ठेकेदार कम्पनीलाई छिटो काम सकाउन अल्टिमेटम दिएकाले राति–राति काम भइरहेको छ । तर, सम्पदाविद्हरूले भने महानगरपालिकाको कार्य अनैतिक र गैरकानुनी भएको बताएका छन् । 

सम्पदा संरक्षण अभियन्ताको आन्दोलन
सम्पदा संरक्षणमा अभियान चलाइरहेका अभियन्ताहरूले रातारात डोजर लिएर पोखरीको माटो निकाल्ने कामलाई मेयरको ‘ड्रिम प्रोजेक्ट’ मात्रै भएको टिप्पणी गरेका छन् । सम्पदाविद् आलोकसिद्धि तुलाधर भन्छन्, ‘काठमाडौंको मेयरले पहिले रानीपोखरीको ऐतिहासिक मूल्य मान्यतालाई नै मासेर रानीपोखरीको बीचमा कफीसप बनाउन खोजेका थिए, जुन योजना सफल नभएपछि अहिले कमलपोखरीमा आफ्नो स्मार्ट सपना पूरा गर्ने प्रयास गरिरहेका छन् ।’

 

 

काठमाडाैं महानगरपालिकाले भने स्थानीय जनप्रतिनिधि, प्रदेश सभा सदस्य, प्रतिनिधिसभाका सांसद गगन थापालगायतसँग छलफल गरेर मात्रै पुनर्निर्माणको डिजाइन तयार गरी काम अघि बढाएको दाबी गरेको छ । महानगरका सम्पदा तथा पर्यटन विभाग प्रमुख थापा भन्छन्, ‘पोखरीको बीच संरचना निर्माणका लागि पानी सुकाउनुपर्ने अवस्था आएकाले पानी सुकाएका हौँ, माछाको जिम्मा पहिलेदेखि नै कमलपोखरी युवा क्लबले लिएकाले उहाँहरूले नै व्यवस्थापन गर्नुभएको हो । पोखरीको पानी सुकाउन मोटरका लागि बिजुलीको तार पनि उहाँहरूले नै सहयोग गर्नुभएको हो । हामीले पोखरीको ऐतिहासिकता मिच्ने केही काम गरेका छैनौँ, सबैको सहमतिमा डिजाइन भएको गुरुयोजनाअनुसार नै पोखरी पुनर्निर्माण भइरहेको छ ।’

पोखरीको बाहिरी संरचनामा कसैको विमति नभए पनि पुरातात्विक महत्वलाई जोगाउन आग्रह गरिएको सम्पदाविद् तुुलाधार बताउँछन् । ‘पोखरीको बाहिरी संरचनामा कसैको विमति छैन । हामीले पोखरीको पुरातात्विक महत्वलाई जोगाएर संरक्षण गर्न आग्रह मात्र गरेका हौँ । कमलपोखरी सिमसार पोखरी हो, जसमा प्राकृतिक रूपमै कमल फुलाउन सकिन्छ, पोखरीको माटो चर्किने गरी पानी सुकाएर सिमेन्टको कमल बनाउने योजना नै हाँसउठ्दो छ,’ उनी भन्छन्, ‘पर्यावरणीय हिसाबले सिमसार क्षेत्रमा पानी सुकाएर फेरि पानी राख्दा माटोको पानी सोस्ने क्षमता स्वतः घटेर जान्छ । जसले पोखरीको जैविक विविधता नै पूर्णरूपमा नष्ट गर्छ ।’ 

कमलपोखरीको इतिहासबारे कुनै यकिन दस्ताबेज भेटिँदैन । पोखरीको पुरातात्विक महत्वबारे विभिन्न धारणा भेटिए पनि पोखरीलाई परम्परागत शैलीमा निर्माण गर्न महानगरले बेवास्ता गर्न नहुने सम्पदाविद्हरूको तर्क छ । सम्पदाविद् तुलाधर भन्छन्, ‘पोखरीको इतिहास अझै पनि अनुसन्धानकै क्रममा छ ।

पोखरीको माटोको बनावट हेर्दा मानव निर्मित नभई सिमसार देखिन्छ, पोखरी सिमसार हो भने पोखरीको इतिहास मानव बस्तीभन्दा पुरानो हुन सक्छ । कतिपयले पोखरीको इतिहास लिच्छविकालीन विशालनगरको राजधानी हाँडीगाउँसँग पनि जोडेर हेरेको पाइन्छ ।’ प्राचीनकालमा यो क्षेत्रमा पानीका नौवटा स्रोत भएका कारण नवसागर राखिएको र जसमध्ये एउटा कमलपोखरी पनि रहेको इतिहासकारहरूको अनुमान छ । यसबारे पुरातत्व विभागले अनुसन्धान अगाडि बढाउनुपर्ने तुलाधर बताउँछन् ।

ad
ad