बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे)को विशेष योगदान छ । उनलाई तिब्बतमा बौद्ध धर्म विस्तार गर्ने श्रेय दिइन्छ । भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ । वी रिडले बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण यो थलो र यी गुरुबारे जानकारी दिने पुस्तक ‘उडियाना उडिसाका पद्मसम्भव’ बजारमा ल्याएको छ ।
डा.विमलेन्दु मोहन्तीद्वारा सम्पादित यो पुस्तकमा ऐतिहासिक खोज, तथ्य र पुरातात्विक अभिलेखहरूसमेतका आधारमा विभिन्न विद्वानले लेखेका लेख समावेश छन् । नेपाल, भारत, तिब्बत, भुटानको सामाजिक जीवनमा बौद्ध धर्मको खास प्रभाव भेटिन्छ ।
इशापूर्व २६१ मा भारतका सम्राट् अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो । त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो । यसक्रममा बौद्ध धर्मका अनेक रूप र पद्धतिको विकास हुँदै आयो । तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ । आठौँ शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरू उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ ।
कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवले तिब्बतसँगको सम्बन्धबारे विशेष प्रकाश पारेको छ । पुस्तक बौद्ध धर्मका फरक चरण, फरक आयाम र यसको विस्तारमा पद्मसम्भवको भूमिकाबारे जान्न चाहनेका लागि उपयोगी हुन सक्छ ।
पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरूबारे पनि धेरै चर्चा हुने गरेको छ । मुस्ताङदेखि फर्पिङसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन् । त्यसैले बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि पुस्तक उपयोगी छ । १६६ पृष्ठको यो पुस्तकको मूल्य आठ सय रुपैयाँ छ ।