निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १९ बुधबार
  • Wednesday, 05 October, 2022
बुबाको मतदाता परिचयपत्र र आफ्नो जन्मदर्ता देखाउँदै विनोद मुसहर र उनकी श्रीमती । आफूसँग नेपाली नागरिक भएको प्रमाण देखाउँदै सञ्जय मुसहर र उनकी आमा ।
२०७७ माघ ५ सोमबार ०८:२५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दलित परिवारलाई नागरिकताको तिर्खा : जन्मदर्ता र मतदाता परिचयपत्र छ, नागरिकता छैन

नागरिकता नबन्दै घरमुलीको मृत्यु भयो, मतदाता परिचयपत्र सुरक्षित छ, तर, अहिलेसम्म विपन्न मुसहरको नागरिकता छैन, जसकारण राज्यबाट पाउने सुविधाबाट उनीहरू वञ्चित छन्

Read Time : > 2 मिनेट
२०७७ माघ ५ सोमबार ०८:२५:००

बिर्तामोड– ३ नलबाडीका विनोद मुसहर (२७) का बुबाआमा सानैमा बिते । त्यसवेला न बुबाले नागरिकता बनाएका थिए, न आमाले । नागरिकता नै नबनाई बुबाआमा बितेपछि विनोदले पनि नागरिकता पाएनन् । जसका कारण उनी आफ्नै देशमा अनागरिक बनेका छन् । 

विनोदका बाबु सहदेवले नागरिकता नबनाए पनि निर्वाचनमा मतदान गरेका थिए । त्यसैले उनीसँग मतदाता परिचयपत्र थियो । बुबाको त्यो परिचयपत्र विनोदसँग सुरक्षित छ । बुबाआमाको मृत्यु दर्ता प्रमाणपत्र पनि दराजमा राखेका छन् । सँगै उनको जन्मदर्ता पनि दराजमै थन्किएको छ । तर, अहिलेसम्म उनले नागरिकता पाएका छैनन् । 

‘बुबाले नागरिकता बनाउनुभएन । जसका कारण हामी पाँचजना दाजुभाइ र दिदीबहिनीले अहिलेसम्म नागरिकता पाएका छैनौँ,’ विनोद भन्छन्, ‘यो सबै कागज राखेको छु । सनाखत गर्ने मान्छे चाहिन्छ रे ! बुबाको मृत्यु भयो । अरू कोही छैन ।’ उनका छिमेकी अरू मुसहरको नागरिकता बनेको छैन ।

उक्त गाउँमा उनीसहित तीन घर विपन्न दलित नागरिकताबाट वञ्चित छन् । नागरिकता बनाउनका लागि सिफारिस लिन उनीहरू पटक–पटक वडा कार्यालय पुगे, तर सिफारिस पाउन सकेनन् । ‘हाम्रो तीन पुस्ता त यही घरमा बित्यो । अझै हामीलाई नेपाली मान्दैनन्,’ उनी भन्छन्, ‘कतिपटक नागरिकता बनाउन भनेर गएँ । अहिले हुँदैन, पछि गर्दिन्छु भन्छन् ।’ 

विनोदका एक छोरा र छोरी छन् । उनीहरूको जन्मदर्ता छ । यही आधारमा भर्खर विद्यालय जान थालेका छन् । तर, छोराछोरीले पनि आफूले जस्तै समस्या भोग्नुपर्छ कि भन्ने चिन्ता छ, विनोदलाई । ‘हामी त नेपाली नै हौँ, तर नेपालीजस्तो गरिएन । हामी त जेनतेन गरेर खान्छौँ । छोराछोरीको जीवन यस्तै हुन्छ कि भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘मुख्य नागरिकता नै नभएपछि के होला र ?’ 

 राज्यबाट पाउने  सेवा–सुविधाबाट वञ्चित
नागरिकता नहुँदा उनीहरू राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदै आएका छन् । उनीहरूको घरछेउमा नगरपालिकाले विपन्नका लागि घर बनाइदिँदै छ । तर, नागरिकता नभएकैले उनीहरूले त्यो सुविधा पाउने छैनन् । जसका कारण लड्न लागेको फुसको छानो भएको घरमा बस्न बाध्य छन् । ‘नागरिकता हुनेको त घर पनि सरकारले बनाइदिँदै छ । हाम्रो त भत्किन लागेको छ । बर्खामा पानी पसेर सुतिसक्नु हुँदैन,’ विनोदले भने, ‘हाम्रो त नागरिकता नभएकाले सरकारले घर पनि नबनाइदिने रे !’ 

विनोद मात्र होइन नालवाडीका सञ्जय मुसहर (२८)को पनि पीडा उस्तै छ । बुबाको नागरिकताविनै मृत्यु भयो । उनले अहिलेसम्म पाएका छैनन् । उनीसँगै सबै कागजात सुरक्षित छ । तर, नागरिकता पाउने बाटो अझै खुलेको छैन । विपन्न, त्यहीँमाथि अनागरिकको पीडा । कतिपटक नागरिकता बनाउने प्रयास गरे । तर, अझै बन्न सकेको छैन । 

‘नागरिकता नहुँदा सरकारले दिने सुविधा केही पाइएन । हामी त कहाँको नागरिक भन्ने नै पो टुंगो भएन,’ उनी भन्छन्, ‘दैनिक मजदुरी गरेर परिवार पाल्छु । नागरिकता भए त विदेश गएर कमाउने थिएँ ।’ तीन छोरीहरूले पढ्न पाउँदैनन् कि भन्ने चिन्ता छ, सञ्जयलाई । ‘अब छोरीहरू स्कुल हाल्ने वेला भएको छ । मेरो नागरिकता नभएसम्म जन्मदर्ता बन्दैन रे,’ उनी भन्छन्, ‘छोरीहरूले पढ्न नपाउने हुन् कि ! हामीले त नागरिकता नभएर यस्तै जीवन बिताउनुप¥यो । छोरीहरूको चाहिँ यस्तो नहोस् भन्ने हो ।’ 

 नागरिकता नहुँदा एकल भत्ता रोकियो
सोही ठाउँकी सानीचरी मुसहर पनि नागरिकताविहीन छिन् । त्यसमाथि गरिबीले सताएको छ । विवाह गरेको केही वर्षमै श्रीमान् जालिमको मृत्यु भयो । छोराछोरी पाल्दै बसेकी उनी ६० वर्षकी भइन् । नागरिकताको अभावमा उनले राज्यबाट पाउने एकल महिला भत्ता पाउन सकेकी छैनन् ।

नागरिकता बनाउन धेरैपटक उनी सम्बन्धित निकायमा पुगिन् । तर, पैसा मागेको उनी दाबी गर्छिन् । ‘नागरिकता बनाउन पैसा चाहिन्छ भने । त्यसै बन्दैन रे ! उनीहरूलाई दिने पैसा कहाँबाट ल्याउने ?’ उनी भन्छिन्, ‘नागरिकता भएको भए पनि त भत्ता पाउँथेँ । बुढेसकालमा सहारा हुन्थ्यो ।’

उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । तराईमा बसोवास गर्ने अधिकांश मुसहर, सन्थाललगायतको अवस्था यस्तै छ । नागरिकता नहुँदा राज्यबाट पाउने अधिकार पाउन सकेका छैनन् । वर्षौँ अर्काको खेतबारीमा पसिना बगाउँदै आएका उनीहरू नागरिकता नहुँदा भूमिहीन बन्नुपरेको छ ।

 कागज पुग्दैन, दिन सकिँदैन : प्रजिअ
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नागरिकता ऐनअनुसार कागजात नभएकालाई नागरिकता दिन नसकिने बताए । मतदाता परिचयपत्र र जन्मदर्ता नागरिकता प्राप्तिका लागि पर्याप्त नहुने उनको भनाइ छ । ‘बुबाआमाको नागरिकता छैन भने कसरी बन्छ र ?

नागरिकताले निश्चित तथ्य र प्रमाण माग्छ । त्यही आधारमा वितरण हुन्छ । उसको वंशज खुल्दैन भने दिन सकिँदैन,’ उनले भने, ‘मतदाता परिचयपत्र र जन्मदर्ताले मात्र हुँदैन । जन्मदर्ता त घटना दर्ता मात्र हो । यो त जसको पनि हुन सक्छ । भोटरलिस्टले पनि हुँदैन, बाबुआमाको नागरिकता नै चाहिन्छ ।’