१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

सिरिजंघा गाउँपालिकामा ११ र १२ कक्षमा निःशुल्क शिक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o८:oo

ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई निःशुल्क अध्यापन गराउने भएको हो । 

सिरिजंघा गाउँपालिकाका पाँच विद्यालयमा कक्षा ११ र १२ को पढाइ भइरहेको छ । निःशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारित गरेर कार्यान्वयनमा ल्याएको गाउँपालिकाले बताएको छ । संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । भर्ना शुल्क, रजिस्ट्रेसन र परीक्षा दस्तुरबापत वार्षिक एक हजार पाँच सय र मासिक शुल्क चार सय गरी सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउने बताइएको छ । 

यस गाउँपालिकाका हरेक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई भने बर्सेनि पोसाक र झोला निःशुल्क उपलब्ध गराउने गरिएको छ । गाउँपालिकाभित्र हाल कक्षा एकदेखि पाँचसम्म अध्ययन गर्ने विद्यार्थीको संख्या एक हजार ६ सय नौ छ । पोसाक, झोला र जुत्ताका लागि प्रतिविद्यार्थी वार्षिक दुई हजार पाँच सय खर्च हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । 

कक्षा १० का सबै विद्यार्थीलाई आवश्यक विषयमा तयारी कक्षासमेत दिइने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । दुर्गम भूगोल तथा निम्न आय भएका कारण गाउँपालिकाका कुनै पनि बालबालिकाले शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

प्राविधिक विषय पढ्ने गाउँपालिकाभित्रका आठ विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइँदै आएको प्रशासकीय अधिकृत घिमिरेले बताए । कक्षा ११ र १२ मा प्राविधिक विषय पढ्ने आठ विद्यार्थीमध्ये चारजना रत्नबहादुर बान्तवा पोलिटेक्निकल कलेज इलाम र कृषि प्राविधिक ताप्लेजुङको सिनाम माविमा अध्ययनरत रहेको अधिकृत घिमिरेले बताए । अभियानसँगै अभिभावक तथा विद्यार्थी उत्साहित भएको सिनाम माविका शिक्षक तुलसी पोखरेलले बताए ।

ad
ad