मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष २९ बुधबार ०८:१६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

लोकतन्त्रको एउटा अनुहार : रामजी राम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष २९ बुधबार ०८:१६:००

रामजी राम यतिवेला सार्वजनिक चर्चामा छन् । उनी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका अन्तिम वर्षका विद्यार्थी हुन् । रौतहटको एउटा सीमान्त गाउँको पनि सीमान्त परिवारमा जन्मेर संघर्ष गर्दै त्यहाँसम्म पुगेका रामजी राम सरकारी छात्रवृत्तिमा अध्ययन गर्दै छन् । सरकारले छात्रवृत्तिस्वरूप एउटा विद्यार्थीले कलेजलाई बुझाउनुपर्ने सबै शुल्क बुझाइसकेको छ । तर, कलेजले अतिरिक्त शुल्क तिर्न दबाब दिँदै रामजी राम र उनका साथी पंकज रामलाई परीक्षा हलबाट बाहिर निकालेको छ । उनको पढाइ यहीँ अन्त्य त नहोला, तर उनीमाथि जे–जस्तो व्यवहार भएको छ, त्यसले हाम्रो राज्य र समाजको संरचनागत थिचोमिचोको एउटा भयानक निकृष्ट चित्र उजागर गरेको छ । नेपाली समाज जातीय उचनीचको सोपानबाट निर्माण गरिएको छ । राज्यले जात व्यवस्थालाई आधार बनाएर लामो समय गरेको दलनको सिकार भएका दलितमध्ये पनि पिँधमा पर्छन् रामहरू । 

राष्ट्रिय रूपमा बदनाम वसरुद्धिन अन्सारीको मेडिकल कलेज रामजीहरूको घाँटी रेटेर रगत निकाल्न उद्यत छ । रामजी हाम्रो लोकतन्त्र कसरी शक्तिमा हुनेका लागि एक खालको र सामान्यजनका लागि अर्को खालको अर्थ बोकेर जीवित छ भन्ने जीवन्त उदाहरण हुन् ।
 

आफूले व्यहोरेको अपमान र हेलाहोचो आफ्नो सन्तानले पनि व्यहोर्नु नपरोस् भनेर रामजीका पिताले उनलाई विद्यालयको ढोका खोलिदिएका थिए । समाजको पिँधमा परेको सीमान्त परिवारको बालक, किशोर वा नवयुवाले व्यहोर्न बाध्य हुने सबै भुक्तमान व्यहोरेर आफ्नो मिहिनेत र लगनले रामजी मेडिकल साइन्सका विद्यार्थी बनेका हुन् । यसमा पछिल्लो समय राज्यले अपनाउन थालेको सकारात्मक विभेदका कतिपय नीतिले यो समुदायलाई केही न केही सहयोग भने गरि नै रहेको छ । अन्यथा आफूसँग भएको प्रतिभा रामजीका लागि एउटा पीडामा रूपान्तरण हुन जान्थ्यो । उनी अब छिटै मेडिकल प्राक्टिसनर बनेर अलिकति कमाइ गर्ने र आफ्ना पिताको नांगो पाइतलामा एकजोर जुत्ता पहि¥याउने सपना देख्न थालेका छन् । तर, अन्तिम समयमा पनि उनीमाथि अन्यायको खेल जारी छ । राष्ट्रिय रूपमा बदनाम वसरुद्धिन अन्सारीको मेडिकल कलेज रामजीहरूको घाँटी रेटेर रगत निकाल्न उद्यत छ । 

यसै पनि नेपालको निजी क्षेत्रको मेडिकल शिक्षालाई माफियाको नाफा कमाउने थलो भनेर आरोप लाग्ने गरेको छ । चिकित्सा क्षेत्रमा अध्ययन गर्न चाहनेको बढ्दो संख्या, मध्यम वर्गमा आफ्ना सन्तानको भविष्य सुरक्षित गर्न मेडिकल शिक्षा पढाउनुपर्छ भन्ने सामाजिक मनोविज्ञान र सहरका छेउछाउका जग्गा–जमिनको बढ्दो मूल्यका कारण चिकित्सा क्षेत्रमा लगानी गर्न चाहने अभिभावकको संख्या पनि बढ्दै गएको छ । यसैमा पासो थापेर मोटाउन चाहने मेडिकल शिक्षाका व्यापारीहरू सरकारले तोकेको मापदण्ड पूरा नगर्ने, तर तोकिएको न्यूनतम शुल्कभन्दा डेढीसम्म बढी शुल्क लिएर विद्यार्थीमाथि शोषण गर्ने खेलमा सक्रिय छन् र सफल हुँदै आएका छन् । राजनीतिक दलहरूको संरक्षण प्राप्त हुने गरेकैले मेडिकल क्षेत्रको शिक्षा प्रदान गर्ने संस्था र सञ्चालक घोर अमानवीय स्वार्थ समूहमा बदलिएका छन् । 

नेसनल मेडिकल कलेजका मालिक बसरुद्धिन अन्सारी पनि राजनीतिक संरक्षणको आडमा विद्यार्थीमाथि शोषण गरेर पैसा कमाउन पल्केका एक व्यापारी हुन् । उनले रामजी राम जस्ताको जीवन, भविष्य र सरकारी नीति, नियम तथा निर्देशनमाथि खेलबाड गरेर पनि संस्था चलाउन पाइरहेका छन् । भर्खरै प्रधानमन्त्रीको दलको केन्द्रीय सदस्य भएका उनलाई राज्यका निर्देशन अटेर गरे पनि कसैले कार्बाही गर्दैन भन्ने विश्वास छ । त्यसैकारण रामजी रामहरू हरेक मोडमा अपमान व्यहोर्न बाध्य बनाइँदै छन् । रामजी राम हाम्रो लोकतन्त्र कसरी शक्ति र सत्तामा हुनेका लागि एक खालको र सामान्यजनका लागि अर्को खालको छ भन्ने जीवन्त उदाहरण हुन् ।