मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ पौष २६ आइतबार ०७:३९:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

जुन फूल उनले चाहेका थिए...

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ पौष २६ आइतबार ०७:३९:००

‘जुन फूल मैले चाहेको थिएँ...’,
‘उदास मेरो जीवनकथा...’,
‘हुँ यात्री...’ जस्ता कालजयी गीतका रचनाकार भैरवनाथ रिमाल ‘कदम’ को ८६ वर्षको उमेरमा निधन

गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा शनिबार निधन भयो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अल्जाइमर्सको समस्या थियो । रिमालको निधनको समाचार गायक दीप श्रेष्ठले साथीमार्फत थाहा पाए । अचानक त्यस्तो खबर सुन्नुपर्दा साह्रै बेस्वाद लागेको श्रेष्ठ बताउँछन् । 

गायक श्रेष्ठ दुई दिनअघि मात्र धरानबाट काठमाडौं आएका थिए । लगत्तै फेरि जाँदै छन् । तर, काठमाडौं आउनासाथ यस्तो खबर सुन्नुपर्दा आफूसँग बोल्ने कुनै शब्दै नभएको श्रेष्ठ बताउँछन् । रिमालले लेखेको दर्जनभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका श्रेष्ठ आफ्ना पुरानामा गीतहरू कम्पोज गर्दै थिए । रिमालले लेखेका गीतहरूको पुनः रेकर्ड पनि गरिरहेका थिए । श्रेष्ठ सुनाउँछन्, ‘तर, अचानक यस्तो खबर सुन्नुपर्दा साह्रै नमीठो लाग्यो । उहाँले लेख्नुभएका गीतहरू पुनः रेकर्ड गराएर सुनाउँछु भन्ने सोचेको थिएँ, त्यो रहर अधुरै रह्यो ।’

श्रेष्ठले रिमाललाई ३०–३५ वर्षअगाडि भेटेका थिए । श्रेष्ठ काठमाडौंमा डेरा गरी बस्थे । भोटेबहालमा थियो, उनको डेरा । सुरुवातमा रिमालले श्रेष्ठका साथीहरूमार्फत गीत पठाएका थिए । पछि सम्बन्ध झांगिँदै गएपछि आफ्नै डेरामा रिमाल आउने गरेको श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘साह्रै मृदुभाषी र सहयोगी हुनुहुन्थ्यो । मेरो डेरामा आएको वेला दुःख गरेर बसेको छ भनेर पाँच सय–हजार छाडेर जानुहुन्थ्यो ।’ श्रेष्ठलाई रिमालसँग जोड्ने काम भने गायिका कोइलीदेवीले गरेकी थिइन् । 

श्रेष्ठका गीतहरू रेडियो नेपालमा रेकर्ड हुन्थे । रेकर्ड भइसकेपछि लगेर रिमाललाई सुनाउँथे । गायक श्रेष्ठ अहिले पनि स्टेज कार्यक्रम गरिरहन्छन् । स्टेजमा जाँदा दर्शकबाट फर्माइस आइहाल्छ, ‘हुँ यात्री’, ‘झस्केछ मन मेरो’ । श्रेष्ठ सुनाउँछन्, ‘यी गीतहरूको फर्माइस आउनासाथ रिमाल दाइको सम्झना आइहाल्छ ।’

कवि, लेखक तथा चलचित्रकर्मी प्रकाश सायमीले पनि ०३५ सालमै भेटेका थिए, रिमाललाई रेडियो नेपालको गीत प्रतियोगितामा । सायमी रिमालको बहुचर्चित गीत ‘जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ, सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ..’ गीतको किस्सा सुनाउँछन् । सायमीका अनुसार ‘भने’ को ठाउँमा रिमालले ‘चाह’ लेखेका थिए । पछि गीत तयार भयो, नारायण गोपालले रिमाललाई सुनाए । रिमालले ‘भने’ नभएर ‘चाह’ लेखेको कुरा बताउँदा नारायणगोपालले ‘यत्तिले गीतको मर्म मर्दैन’ भनेपछि रिमाल कन्भिन्स भएको सुनाउँछन्, सायमी । 

लेखक सायमीका अनुसार रिमाल आफ्ना गीतहरू नारायणगोपालले गाओस् भन्ने चाहना राख्थे । तर, नारायणगोपाल भने आफूले संगीत भरेका गीत अरूलाई गाउन दिन्थे । विशेष गरेर फत्तेमानलाई । त्यसपछि अरुणा लामा, डेजी बराइलीहरूलाई । यसको कारण भन्छन् सायमी, ‘त्यसको कारण उहाँ सञ्चयकोषको कर्मचारी । उहाँ गीत गाउनेलाई खाममा हालेर पाँच सय, हजार दिनुहुन्थ्यो । रेडियो नेपालले तीन सय दिन्थ्यो । त्यो भएकाले पनि होला, नारायणगोपालले अरू कलाकारलाई आर्थिक फाइदा होस् भनेर त्यसो गरेका होलान् ।’

रिमाल साइकलको ह्यान्डिल कानमा पसेर काम कम सुन्थे । सायमीले लिएका अन्तर्वार्ता भोलिपल्टतिर सुनेर फोन गरेर प्रतिक्रिया दिने गरेको पनि सुनाउँथे । सायमी भन्छन्, ‘उहाँ इम्याजिनरी मान्छे हो । साहित्यिक अनुभूति भएको मान्छे हो । गहिरो कुरालाई मिहिन ढंगले केलाएर सरल भाषामा लेख्ने सर्जक हो ।’ आफ्नो अन्तिम भेट ०७४ सालमा स्वरसम्राट स्मृति पुरस्कारको वेला भएको र त्यसपछि बिरामी परेको वेला भएको बताउँछन्, सायमी । 

रिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । ३ माघ १९९२ मा जन्मिएका रिमालले एक दर्जन कवितासंग्रह र पाँच सयभन्दा धेरै गीत रचना गरेका छन् । रिमाल सुरुमा कविता लेख्थे । राष्ट्रिय भावका कविताबाट सुरु भएको उनको साहित्यिक यात्रा वेदनाका गीत र भजन लेखनसम्म विस्तार भएको पाइन्छ । ००८ फागुनमा उनले लेखेको ‘राष्ट्रिय दिवस आज’ शीर्षकको पहिलो कविता गोरखापत्रमा प्रकाशित भएको थियो । ०११ सालमै उनको पहिलो कृति ‘भैचम्पा’ खण्डकाव्य प्रकाशित भयो । नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’ तथा अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवनकथा...’ गीतका सर्जक रिमालले जीवनका ७० वर्ष गीत र कविता लेखनमै बिताए । उनले लेखेकामध्ये अहिलेसम्म आठ सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।