१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २५ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष २५ शनिबार १o:२२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमती सफाइको ४००औँ हप्ता पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष २५ शनिबार १o:२२:oo

बागमती नदी सफाइ अभियानको ४००औँ हप्ता पूरा भएको छ । स्वयंसेवी रूपमा सञ्चालन हुँदै आएको अभियानमा अहिलेसम्म दश लाखभन्दा बढी स्वयंसेवी जोडिएका छन् । ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नारासहित ०५ जेठ ०७० मा सुरु भएको अभियानले अहिलेसम्म बागमतीको २० हजार मेट्रिकटन ठोस फोहोर उठाएको छ । नदीपरिसरमा तीसवटाभन्दा बढी बगैँचा निर्माण भएका छन् । 

जाडो, गर्मी, चाडबाड, भूकम्प र कोरोना महामारीसमेत नभनी निरन्तर अभियान सञ्चालन हुनु आफैँमा खुसीको कुरा भएको बागमती सफाइ अभियन्ता तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बताए । अभियन्ताहरूले सातामा एक दिन, कम्तीमा दुई घन्टा बागमती नदीलाई सफाइका लागि दिनुपर्ने भन्दै अभियान थालेका थिए । अहिले त्यो अभियान देशव्यापी बनेको छ । 

बागमती सफाइ अभियानकै प्रेरणाले उपत्यकामा भएका सबै नदीमा सफाइ अभियान चलेको छ । अभियानमा विद्यार्थी, प्रहरी, सशस्त्र प्रहरी, सेना, कर्मचारी र स्थानीयवासी स्वयंसेवीका रूपमा खटिएका छन् । पछिल्लो समयमा भने अभियानको स्वामित्व स्थानीय तहले लिने गरी हस्तान्तरण गर्ने क्रमसमेत चलेको छ । 

अधिकारसम्पन्न बागमती एकीकृत विकास समिति र नगरपालिकाहरू, सहरी विकास मन्त्रालय र मातहतका निकायले अभियानलाई अगाडि बढाइरहेका छन् । मन्त्रालयले नदी किनाराको पूर्वाधार विकास, ढल निर्माण र बगैँचा निर्माण गर्ने कार्य गरिरहेको छ । अहिले बागमतीकै अनुसरण गर्दै उपत्यकाभित्र विभिन्न २० स्थानमा स्वयंसेवकहरू जम्मा भएर नदीकिनार र नदीभित्रका फोहर संकलन गरिरहेका छन् । 

नदीकिनारमा रूख रोप्ने र संरक्षण गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग उनीहरूले सहकार्य गरिरहेका छन् । बागमती अभियन्ताहरूले बागमती सरसफाइको क्रममा आफ्ना प्राप्त अनुभव बाँडिरहेका छन् । यस अभियानपछि बागमतीमा बालुवा चोरीमाथि नियन्त्रित र किनारमा प्रदूषित उद्योग हटेका छन् । 

हरेक शनिबार स्वयंसेवकहरू सम्पर्क सूत्रमार्फत सूचना सम्प्रेषण गर्छन् । तोकिएको स्थानमा जम्मा भएपछि राष्ट्रिय गान र शपथ लिएपछि मात्र नदी सरसफाइमा लाग्छन् । सरसफाइ कार्यक्रमको अन्त्य नाचगानबाट हुन्छ । सबै क्षेत्रबाट सहभागिता जनाउँदा यो स्थल लोकप्रिय मञ्चका रूपमा स्थापित भएको छ । बागमती सरसफाइ अभियानले अहिले नदीमा पानी बगेको छ । सफा पानी बग्दा यहाँ स–साना बालबालिका पौडी खेलिरहेका हुन्छन् । सरसफाइका कारण नै शंखमूल र मनहरा दोभानमा माछा भेटिएको छ । यो अभियानको एउटा सफलताकै रूपमा हेरिएको छ । 

गैरआवसीय नेपाली संघले ललितपुरको शंखमूलमा रहेका पुरातात्विक संरचनाको जीर्णोद्वारका साथ यहाँ सुन्दर बैँगचा निर्माण गरेको छ । बागमती नदी सफाइ अभियानकै कारण अहिले बानेश्वर, शंखमूल, आलोकनगर, कोटेश्वर, बुद्धनगर र गुह्वेश्वरीमाथिका नदीकिनारमा बिहान र साँझ वार्किङ गर्ने र विश्रामस्थलका रूपमा प्रयोग भइरहेको छ । यसअघि ती स्थानका नदी किनारमा बटुवाहरू नाक थुनेर हिँडथे । 

बागमती सरसफाइ अभियानसँगै यसमा चुनौती पनि छन् । बागमतीलगायत ९ वटा नदीहरूमा व्यवस्थित ढल निर्माण गर्ने योजना सरकारले बनाएको छ । अहिले बागमतीका दुवै किनारामा सीमित क्षेत्रलाई छाडेर ढल बिछ्याउने काम सम्पन्न भएको छ । शिवपुरी जलधार क्षेत्रमा डयाम निर्माण कार्य पनि अगाडि बढिरहेको छ । दुवै ड्याम तयार भएपछि बागमतीमा १२ महिना कम्तीमा ४० घनमिटर पानी बग्ने अनुमान छ ।