Skip This
Skip This

पश्चिमबंगालका विधायकको गोली हानी हत्या

२०७५ माघ २८ सोमबार ०८:५७:००

भारतको पश्चिमबंगाल राज्यमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक विधायकको हत्या भएको छ । पश्चिमबंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ । 

पश्चिमबंगाल राज्यको राजधानी कोलकातादेखि १२२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार विश्वासको हत्या भएको हो । सरस्वतीपूजाको कार्यक्रममा सहभागी भएका वेला उनीमाथि आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

‘कार्यक्रमका लागि बनाइएको मञ्चमा सांस्कृतिक कार्यक्रम गरिने भएपछि मञ्चबाट तल झर्दै गर्दा विश्वासलाई एक व्यक्तिले गोली हानेर भागेका थिए,’ प्रहरीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार भएको केही समयमै उनलाई नजिकैको अस्पतालमा पु¥याइए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए । 

विधायक विश्वासको कसले हत्या गरेको हो भन्नेबारे प्रस्ट खुलेको छैन । पश्चिमबंगाल प्रहरीले विश्वासको हत्यामा भाजपा नेता मुकुल रोयको संलग्नता रहेको हुन सक्ने भन्दै उनको खोजी गरेको छ । रोय तृणमुल कंग्रेसका पूर्वविधायक हुन् । मनमोहन सिंह नेतृत्वको सरकारमा उनी रेलमन्त्री थिए ।

तृणमुल कंग्रेसकी नेतृ ममता बनर्जीसँग मतभेद बढेपछि गत वर्ष उनी भाजपा प्रवेश गरेका थिए । विश्वासको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । त्रिणमुल कंग्रेसका जिल्ला अध्यक्ष गौरीशंकर दत्तले विश्वासको हत्या भाजपा नेताले गरेको आरोप लगाए ।