मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २३ बिहीबार १२:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

उपभोक्ता भन्छन्– झ्याप–झ्याप बिजुली जान थाल्यो, प्राधिकरण भन्छ– गत वर्षभन्दा ट्रिपिङ घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २३ बिहीबार १२:३५:००

सर्वसाधारण उपभोक्ताले पछिल्ला दिनमा जतिवेला पनि झ्याप–झ्याप बिजुली जान गरेको बताइरहेका वेला नेपाल विद्युत्  प्राधिरणले भने लोडसेडिङ गर्दै नगरेको प्रतिक्रिया दिएको छ । 

अझ प्राधिकरणले गत वर्षभन्दा बढी सुधार गरेका दाबी गरेको छ । तर, उपभोक्ताले भने गत वर्षभन्दा यस वर्ष पटक–पटक बिजुली जाने गरेको गुनासो सामाजिक सञ्जालदेखि चियापसलसम्म गर्ने क्रम बढेको छ । 

प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको दाबी गरेको छ । 

प्राधिकरणले विज्ञप्ति निकालेर विद्युत्काे माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा तीन सय ४७ पटक ट्रिपिङ भएको जनाएको छ । प्राधिकरणले काठमाडौं उपत्यका र यसआसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घन्टा  विद्युत् अवरोध बताएको छ । 

जबकि, गत वर्षको मंसिरमा पाँच सय ७७ पटक ट्रिपिङ भई ६५ घन्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिकरणले दाबी गरेको छ । 

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित–अघोषित रूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । 

उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबुलमा क्षति पुग्ने, केही स्थापमा पोल तथा टान्सफर्मर सार्नु पर्नेलगायतका प्राविधिक कारणले त्यसआसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुन सक्ने बताएका छन् ।

गत वर्षभदा कम ट्रिपिङ भएको छ, तर किन उपभोक्ताले बढी बिजुली गएको अनुभव गरेका छन् त ? यसबारे शाक्यको भनाइ यस्तो छ– ‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ ।’ 

‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍याे भन्ने बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ उनले थपे ।