मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २२ बुधबार
  • Wednesday, 08 January, 2025
२o७७ पौष २२ बुधबार o६:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री ज्ञवाली १ माघमा दिल्ली जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष २२ बुधबार o६:१५:oo

परराष्ट्रसचिवस्तरीय औपचारिक वार्ता भएको दुई महिनापछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक पनि बस्ने भएको छ । २ माघमा हुने आयोगको छैटौँ बैठकका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली १ माघमा नयाँदिल्ली जाँदै छन् ।

मंगलबार साँझसम्म नेपाल र भारत दुवैले बैठकको मिति सार्वजनिक गरेका छैनन् । तर, उच्च कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीको तीन दिनको भ्रमणसमेत तय भइसकेको छ । गत वर्ष सुरुमा भारतले र पछि नेपालले जारी गरेका नयाँ नक्साबारे देखिएको दुई देशको विवादबीच आयोगको बैठक बस्ने तय भएको हो । 

‘परराष्ट्रमन्त्री ज्ञवाली १ माघमा दिल्ली जाने तय भएको छ । उहाँ दुई रात दिल्ली बस्ने कार्यक्रम छ । संयुक्त आयोगको बैठकका अतिरिक्त उहाँले उच्च राजनीतिक भेटवार्ता गर्ने पनि कार्यक्रम छ,’ जानकार कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो । परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि दिल्ली जाने तय भएको बताए पनि मितिबारे केही बोलेका थिएनन् । 

आलोपालो प्रचलनअनुसार यसपटक आयोगको बैठक नयाँदिल्लीमा बस्न लागेको हो । यसअघि मंसिर अन्तिम साताका लागि तय भएको बैठक नेपालको राजनीतिक अन्योलका कारण सरेको थियो । भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रसचिव हर्षबर्धन शृृंंगलाले ११ मंसिरमा परराष्ट्रमन्त्री ज्ञवालीलाई बैठकको निमन्त्रणा गरेका थिए । तर, सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने सम्भावनाबीच नेपालले बैठकको मितिमा सहमति जनाउन सकेको थिएन । 

भारतीय परराष्ट्रसचिव हर्षबर्धन शृंगलाको मंसिरमा भएको नेपाल भ्रमणकै वेला संयुक्त आयोगको बैठकको मिति तय भएको स्रोतले जनाएको छ । भारतीय परराष्ट्रमन्त्री जयशंकरको अनुकूलतामा प्रस्तावित मितिमा बैठक बस्न नेपाल तयार भएको हो । 

बैठकमा अन्य विषयसँगै सुस्ता र कालापानीको सीमा विवाद एवं नयाँ नक्साबारे पनि छलफल हुने स्रोतको भनाइ छ । यसअघि ११ मंसिरमा भएको परराष्ट्रसचिवस्तरीय बैठकमा पनि सीमाबारे छलफल हुने भनिएको थियो, तर पछि भएन । स्रोतका अनुसार मन्त्रीस्तरीय आयोगको निर्देशनअनुसार भविष्यमा सीमा विवादका विषय परराष्ट्रसचिवस्तरीय संयन्त्रले हेर्ने गरी काम तोकिनेछ । 

३२ वर्षमा पाँच बैठक
दुई देशको सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्रमन्त्रीस्तरीय आयोग ३२ वर्षदेखि कायम छ । तर, अहिलेसम्म पाँचवटा बैठक मात्रै बसेका छन् । पाँचौँ बैठक गत वर्ष ४ भदौमा काठमाडौंमा भएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी डा. सुब्रमण्यम जयशंकरले बैठकको नेतृत्व गरेका थिए । त्यस्तै, चौथो बैठक १८ असोज ०७३ मा दिल्लीमा, तेस्रो बैठक १९ असार ०७१ मा काठमाडौंमा, दोस्रो बैठक १६ मंसिर ०४८ मा दिल्लीमा भएका थिए । त्यस्तै, संयुक्त आयोगको पहिलो बैठक १८ जेठ ०४४ बसेको थियो । 

गत वर्ष काठमाडौंमा सम्पन्न पाँचौँ बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन बुझ्ने तथा कालापानी र सुस्तालगायत सीमा विवादबारे परराष्ट्रसचिवस्तरीय बैठक बस्ने विषयमा छलफल भएको थियो । यसपालि पनि द्विपक्षीय विकास, कनेक्टिभिटी, ऊर्जा, हवाई उड्डयन, जनस्तरीय सम्बन्धलगायत विषयसँगै इपिजी प्रतिवेदन र सीमा विवादले स्थान पाउनेछन् । 

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १५ अगस्टमा टेलिफोन वार्ता भएको थियो । भारतलाई स्वतन्त्रता दिवसका दिन शुभकामना दिन प्रधानमन्त्री ओलीले टेलिफोन गरेका थिए । त्यसपछि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयल, सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र परराष्ट्रसचिव हर्षबर्धन शृंगलाको नेपाल भ्रमण भएको छ । यसबीचमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि नेपाल भ्रमण गरेका छन् ।